May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

आसफोर्ड(केन्ट) । कोरोना महामारीका कारण दुई वर्षपश्चात् बेलायतका आसफोर्डवासी याक्थुङ लिम्बु समुदायले बलिहाङ तङ्नाम(पर्व) मनाएका छन् । किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्ड शाखाले तङ्नामका अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

आसफोर्डको गोडिङ्टन भिलेज हलमा सम्पन्न कार्यक्रममा समुदायको युवा पुस्ताको विशेष सहभागिताले साँस्कृतिक कार्यक्रमलाई विशेष बनाएको आयोजक कियाचु यूके, आसफोर्ड शाखाका अध्यक्ष सोदीप थोप्राले बताए । उनले औपचारिक र साँस्कृतिक सत्र गरेर दुई चरणमा कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।

Advertisement

कियाचु यूके उपाध्यक्ष गणेश इजम आफ्नो धारणा राख्दै ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कियाचु यूकेका उपाध्यक्ष गणेश इजमले नयाँ पुस्ताको सहभागिता र सक्रियताले चुम्लुङ थप विस्तार हुने बाटोमा गएको धारणा राखे । ‘नयाँ पुस्ताको भाषा, सँस्कृति र पहिचानप्रतिको झुकावले उर्जा दिएको छ । प्रवासमा रहेर पनि आफ्नो पहिचानका लागि क्रियाशील हुनु तारिफयोग्य कुरा हो,’ उनले भने । उपाध्यक्ष इजमले चुम्लुङ विधानसम्मत चल्ने बताउँदै संस्था बन्न र अहिलेको अवस्थासम्म पुग्नमा सबै पुराना र अग्रजहरूको महत्वपूर्ण योगदान रहेको समेत थपे । उनले दसौँ महाधिवशेनपछि पदाधिकारीहरूको पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै केन्द्रीय समितिलाई पूर्णता दिएर चाँडै आफूहरूको कार्यकालको योजना तर्जुमा गर्ने बताए ।

शाखा सचिव अमित थेवेले सञ्चालन गरेको औपचारिक चरणमा उपाध्यक्ष काजी साम्यूले बलिहाङ तङ्नामको महत्व र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । त्यस्तै, अर्का उपाध्यक्ष दिवस थोप्राले स्वागत तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्षहरू सिरी साम्यू, डम्मर सिङ्गक, पीपीसीका पूर्व संयोजक पदम आङबुहाङ, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम, सल्लाहकारहरू देव हुक्पा चोङवाङ, राजेन्द्र खिम्दिङ, पूर्ण मादेन, टङ्क येङ्देन, सगरमाथा गोरखा नेपाली समाजका पूर्व अध्यक्ष सिरी तेम्बे, याक्खा छुम्माका पूर्व अध्यक्ष धन रोगू, किरात धर्मका अभियन्ता ज्ञान फुरुम्बो, गायिका माक्सती ओख्रावु लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

तङ्नाममा युवा पुस्ताको बलियो सहभागिता
यसैगरी, साँस्कृतिक विभागले सञ्चालन गरेको दोस्रो चरणमा युवा पुस्ताको उल्लेख्य सहभागिता रह्यो । विभागका सदस्यहरू सिक्कुम हुक्पा चोङवाङ र निसुमा मुसाहाङले सञ्चालन गरेको कार्यक्रममा सदस्य यमुना नेम्वाङले समेत सहयोग गरेकी थिइन् ।

सहसचिव एवम् विभाग प्रमुख शिखर सम्बाहाङ्फेको नेतृत्वमा पहिलो पटक युवा जमातले लारिङ्गेक नाम्लिङ्गेक(देउसी) कार्यक्रम गर्दै याक्थुङ मुन्धुम वाचन गरेको थियो । त्यसलगत्तै, सन् २०१७ र २०१९ को यूकेव्यापी केलाङ(च्याब्रुङ नाच) प्रतियोगिताका विजेता आसफोर्ड केलाङ समूहले केलाङ नृत्य प्रस्तुत गरेको थियो । केलाङ पृथीहाङ येङ्देनकाे नेतृत्वमा देखाइएको थियोे । साेही अवसरमा युवा चुम्लुङकर्मीहरू र ओरिगेमी रेडियोले संयुक्त रूपमा निर्माण गरेको लघु चलचित्रहरू ‘आक्खेन मुक्ते?’ र ‘लत्थिक् पाःन्’ समेत प्रर्दशन गरिएको भाषा तथा साहित्य विभागका प्रमुख शिशिर सम्बाहाङ्फेले सिलौटी टाइम्सलाई जानकारी दिए ।

आफ्नो अनुभव सुनाउँदै चुम्लुङमा आबद्ध युवाहरु ।

त्यस्तै, आसफोर्डको केलाङ विकासक्रमलाई झल्काउने संक्षिप्त भिडियो समेत प्रर्दशन गरिएको थियो । भिडियोपश्चात् विगत एघार वर्षदेखि नियमित रूपमा नाच्दै आएका केसाम्मा निसुमा मुसाहाङ र सिक्कुम हुक्पा चोङवाङले आफ्नो अनुभव सुनाएका थिए ।

गीतकार नविन कुमार थेवे ।
गायिका माक्सती ओख्रावु ।

यसैगरी, उक्त अवसरमा गायिका माक्सती ओख्रावुले याक्थुङ साम्लो(गीत) र गीतकार नविन कुमार थेवेले तीन आधुनिक र फिल्मी गीतहरू सुनाए । उनीहरूपछि छत्र वनेमले याक्थुङ भाषामा कविता वाचन गरे । यसैगरी, युवा पुस्ताको तर्फबाट साँस्कृतिक विभाग सहसचिव गोकुल लिवाङले एकदेव लिम्बुको चर्चित गीत ‘आक्खेन सारिक् खेने? नुमा केवारो’ गीत सुनाएर मनोरञ्जन दिलाए । त्यस्तै, अमित थेवे मिहाङले पान्थरका सर्जक सुवर्ण नेम्वाङको शब्दमा रहेको हाक्पारे साम्लो गाउँदै साँस्कृतिक कार्यक्रमको बिट मारे ।

कियाचु यूके, आसफोर्ड शाखा अध्यक्ष सोदीप थोप्रा ।
कियाचु आसफोर्ड उपाध्यक्ष काजी साम्यू कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ।
कार्यक्रममा सजाइएको खाद्य पदार्थ सेल ।
समुदायको आदिम परम्परागत बाजा के (च्याब्रुङ) ।