March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

बाढीपीडित राहतबारे एआरएनए यूकेकाे धारणा सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले सुनसरीमा बाढीपीडितका लागि वितरण गरेको राहतबारे आफ्नो धारणासहित एक विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा राहत वितरण गर्दाकाे प्रक्रिया, राहत सामग्री विवरण, वितरण गरिएको क्षेत्र लगायतका विषयमा जानकारी दिइएको छ ।

Advertisement

(प्रेस विज्ञप्ति)

सुनसरीका बाढीपीडितलाई वितरण गरिएको राहतबारे एनसीसी यूकेको धारणा

 बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कात्तिक पहिलो साता नेपालमा जनधनको ठूलो क्षति भयो । कैयौं जीवन समाप्त भए । स्याहार्न लागेको धान बाढीले बगायो । यसको असर लाखौं किसानमा पर्यो ।  चाडवाडको समयमा आइपरेको विपत्तिले संसारभरका नेपालीलाई दुःखी बनायो ।

प्राकृतिक विपत्तिको समयमा सहयोग गर्नु गैरआवासीय नेपाली संघको चरित्र नै हो । सोही अनुसार राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूकेले सुनसरीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गर्यो र सोही अनुसार काम अगाडि बढाइयो । तर, यस बारेमा केही  सन्चारकर्मीले चासो व्यक्त गरेकाले एनसीसी यूकेका तर्फबाट सुनसरीमा वितरण गरिएको राहत सामग्रीका बारेमा स्पष्ट पार्न चाहन्छौं ।

१. अक्टोबर २४, २०२१ मा बसेको एनसीसी यूके कार्य समितिको बैठकले सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ र ३ मा बाढी प्रभावितहरुलाई राहत वितरण गर्ने निर्णय गर्यो । सोही अनुसार सो क्षेत्रका वास्तविक पीडितहरुको पहिचान गरी राहत सामग्री वितरण गर्न सो क्षेत्रका सामाजिक अभियन्ता तथा समावेसीहरुसँग सम्पर्क गर्न थालियो । बाढीको असर देशैभर परे पनि एनसीसी यूकेले सबै क्षेत्रमा राहत सहयोग पुर्याउन सक्ने अवस्था थिएन । त्यसैले पहिलो चरणमा सुनसरीको इटहरी उपमहानगरपालिका चयन गरिएको हो ।

२. राहतका लागि १० लाख रुपैयाँ सुनसरी पठाउने र सुनसरीका प्रतिष्ठित समाजसेवीहरुमार्फत वितरण गर्ने निर्णय भए अनुसार सुनसरीका समाजसेवी सिजन गुरुङसँगको समन्वयमा समाजसेवी  सुरेन राईको बैंक खातामा रकम पठाइएको हो । पीडितलाइ छिटो भन्दा छिटो राहत पुगोस् भन्ने  उद्देश्यले दोहोरोपन नहुने गरी स्थानीय सरकार तथा संघसंस्थासँग समन्वय गरी राहत वितरण भै रहेको जानकारी गराउन चाहन्छौं  ।

३. बाढी प्रभावितहरुलाई प्रतिपरिवार २५ केजी चामल, एक प्याकेट नुन, एक प्याकेट दाल र एक प्याकेट तेल राहत स्वरुप प्रदान गरिएको छ । पीडित परिवारलाई घरसम्मै पुगेर राहत वितरण गरिएको छ । यसका लागि स्थानीय युवाहरुले सहयोग गरेका छन् ।

४. बाढी प्रभावितहरुलाई वितरण गरिएको राहत र त्यसको खर्च विवरण एनसीसी यूकेलाई उपलब्ध गराउन भनिएको छ । सामान ढुवानीदेखि यातायात व्यवस्थापनमा स्थानीय समाजसेवीहरुले नै सहयोग गर्नु भएको छ । एनसीसी यूकेको ब्यानरमा राहत हस्तान्तरण भै रहेको छ । एनसीसी यूकेद्वारा गरिएको राहत वितरणको सम्पूर्ण विवरण प्राप्त हुना साथ छिट्टै सार्वजनिक गरिने छ।  

५. सुनसरीमा राहत वितरणको समयमा एनसीसी यूकेका चार पदाधिकारी नेपालमै हुनुहुन्थ्यो । व्यक्तिगत काम विशेषले नेपाल जानु भएका उपाध्यक्षहरु नारायण कँडेल, सुनीलबाबु खड्का, रामचन्द्र पोखरेल र सचिव ज्ञानेन्द्र आले मगरलाई पनि कार्य समितिका तर्फबाट राहत सामग्री वितरणको अनुगमन तथा जानकारी लिन आग्रह गरिएको थियो । उहाँहरुले पनि आ आफ्नो तर्फबाट बुझ्ने काम गर्नु भएको छ । तसर्थ, एनसीसी यूकेले सुनसरीका बाढी प्रभावितहरुलाई वितरण गरेको राहतका विषयमा कुनै शंका नगर्न तथा नकारात्मक टिप्पणी नगर्न सबैलाई अनुरोधसहित जानकारी गराइन्छ ।

भरतमणि चोङवाङ

प्रवक्ता 

गैरआवासीय नेपाली संघ यूके 

९ नोभेम्बर २०२१