April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको सय दिन समारोहलाई पूर्वअध्यक्ष घलेले सम्बोधन गर्ने, आठ जना प्रमुख सल्लाहकार समेत चयन

एनआरएनए यूकेको सय दिन समारोहलाई पूर्वअध्यक्ष घलेले सम्बोधन गर्ने, आठ जना प्रमुख सल्लाहकार समेत चयन

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको दशौं अधिवेशनबाट निर्वाचित कार्य समितिले एक सय दिन पूरा गरेको अवसरमा यही नोभेम्बर २० मा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । सय दिन पार गरेको अवसरमा आयोजित विशेष समारोहलाई गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले विशेष सम्बोधन गर्ने भएका छन् । 


अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने समारोहमा प्रमुख अतिथिको रुपमा घले सहभागी हुने निश्चित भएको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए । यसअघि एनसीसी यूकेको कार्यालय पनि डा. घलेले नै उद्घाटन गरेका थिए । 

Advertisement

गत अगस्ट पहिलो साता सम्पन्न निर्वाचनबाट गाहा मगरको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । निर्वाचनमा सार्वजनिक गरिएको घोषणापत्र अनुसार नै कार्य समितिले काम गरिरहेको गाहा मगरले बताए । कार्य समितिको यसअघिको बैठकले जिम्मेवारी सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको थियो । 

पूर्वअध्यक्ष घलेको उपस्थितिमा नै एनसीसी यूकेले आफ्ना प्रमुख संरक्षक, संरक्षक, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ । एनसीसी यूकेले प्रमुख संरक्षकमा शेरबहादुर सुनारलाई चयन गरिसकेको छ भने अन्य चार जना अग्रज अभियन्तालाई संरक्षकमा मनोनित गर्ने जनाइएको छ । 

त्यस्तै, गैर आवासीय नेपाली संघको स्थापना, गैरआवासीय नेपाली अभियान र प्रवासी नेपालीहरुको हक हितमा सक्रिय ८ जना प्रबुद्ध व्यक्तिहरुलाई एनसीसी यूकेले प्रमुख सल्लाहकारमा मनोनित गरेको छ । एनसीसी यूकेले डा. राघव धिताल, भगिरथ योगी, ध्रुव केसी, विजय थापा, रिटायर्ड क्याप्टेन बीर थापा, शान्ति थापा कन्वार, आरती श्रेष्ठ र डा. पदम सिम्खडालाई प्रमुख सल्लाहकारमा मनोनित गरेको छ । प्रमुख सल्लाहकारहरुलाई एक सय दिनको अवसरमा आयोजना हुने विशेष समारोहमा प्रमाणपत्र हस्तान्तरण गरिने अध्यक्ष गाहा मगरले जानकारी दिए । 

त्यसैगरी, विभिन्न पेशा र व्यवसायमा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई पनि विषयगत सल्लाहकारमा मनोनयन गरिने एनसीसी यूकेले जनाएको छ । बेलायतमा रहेर नेपाल र नेपाली समुदायको इज्जत बढाउन सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पनि गैर आवासीय नेपाली अभियानमा सहभागी गराउने उद्देश्य अनुसार नै सल्लाहकार तथा विभिन्न विभागहरुमा मनोनयन गर्न लागिएको हो । अध्यक्ष मगरका अनुसार, ब्रिटिश गोर्खा सेनामा कार्यरत, भूतपूर्व गोर्खाज संगठन, भूतपूर्व गोर्खा सैनिकहरु, वरिष्ठ सामाजिक अभियन्ताहरु, बेलायतका काउन्सिलरहरु, स्वास्थ्य विभागअन्तर्गतका नेपाली चिकित्सकहरु, नर्सहरु, लेखा विज्ञहरु, इन्जिनियरहरु, फरक क्षमता भएका व्यक्तिहरु, कानुन विज्ञहरु, पाक कलाका विज्ञहरु, प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरु, राजनीतिक दलका अगुवाहरु, युवाहरु, सन्चारकर्मीहरु, खेल क्षेत्रका अगुवाहरु, एनसीसी यूकेका चार वटै राज्य समन्वय परिषद् तथा मानसिक स्वास्थ्यका विज्ञ लगायतका क्षेत्रबाट सल्लाहकार मनोनयन गरिने जनाइएको छ । 

एक सय दिनको अवसरमा आयोजित समारोहमा नै एनसीसी यूकेको कार्य समितिमा मनोनयन गरिएको मनोनित तथा मानार्थ सदस्यहरु, प्रमुख संरक्षक सहित संरक्षक परिषदका सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गर्दै परिचय गराइने कार्यक्रम तय गरिएको छ । 

संस्थालाई सबैको साझा बनाउने उद्देश्य अनुसार समाजका हरेक पेशा, व्यवसाय, क्षेत्र, वर्गलाई सहभागी गराउने उद्देश्य अनुसार नै काम गरिएको अध्यक्ष गाहा मगरले बताए । अध्यक्ष गाहा मगरले चुनावअघि नै संस्थालाई सीमित व्यक्तिको मात्र नभई बेलायतमा बस्ने सबै नेपालीहरुको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

एक सय दिनको कार्यक्रमलाई भव्य र सभ्य बनाउन एनसीसी यूकेले व्यापक तयारी गरेको छ । सबै पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरी तयारीको काम भइरहेको उपाध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।