May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनिल दिप्त राईका तीन कविता

सुनिल दिप्त राईका तीन कविता

‘जून र जूनकिरी हराएको शहर’

◾️◾️◾️

Advertisement

जून हराएको शहरमा
जुनकिरीको अस्तित्व छैन यहाँ
कृतिम जून बनाई सकेछन् मान्छेले
हराएको छ जूनकिरीहरु
नामसान टावरको टुप्पोबाट हेर्नुछ
जून र जूनकिरी हराएको शहर,

▪️▪️▪️

शहरको बिचबाट बग्दै जाने
हान नदीको शान्ति विथोल्दैन
यो शहर-
यो नदी जस्तै शान्त मानिसहरु
थुप्रै देखेको,भेटेको छु
ट्रेन र बसको यात्राहरुमा
उर्जा ,विकास ,उद्यमशीलताहरूमा,

▪️▪️▪️

जस्तो कि चिया पसल र
चौरास्तामा फगत गफ पिटेर
उर्जाशील समय दुरुपयोग गर्छ मेरो काठमाडौं,

अचम्म छ-
सडक तेल घस्छ टाउको माथि
चिल्लिन्छन टायरका लस्करहरु
बत्तिदै पुग्छन अड्डा अदालत र
लाखौ माईल टाढा कारखाना परिसर
लाग्छ उनीहरु लडाकू हुन्
बुलेट ट्रेन गन्तव्य पुग्न हत्तार गर्दैछ
युद्वका लागि निस्किएका सिपाही हुन् उनीहरु
परिश्रमको युद्वपोत हुन् उनीहरु
पसिनाको वम वर्षक हुन् उनीहरु
अदृश्य स्वर्गको परिकल्पना सोच्दैनन् उनीहरु
उनीहरु त देखिने स्वर्गको निर्माण पो गरी रहेछन्
जून हेरेर रमाउदैनन्
जूनकिरी खोज्दैनन्
उनीहरु त आफ्नै जूनकिरी झैँ प्रकाश
विश्वसामु फैल्याई रहेका छन्,

▪️▪️▪️

नामसान टावरको शीरबाट हेर्नुछ
जून र जूनकिरी हराएको शहर ।

           ॥॥

‘निषेध’

◾️◾️◾️

कात्तिक लाग्छ-
जोगीहरू फेरि लगाउँछन्, दान उठाउँछन्
शंखध्वनीको भ्रम मध्यरातमा
जोड-जोड किन बजाउँछन् ?
एउटा प्रश्न आफैसँग छ,

▪️▪️▪️

बजिरहेकै छ अहिले पनि
अनेक भेष रङ्ग बदल्नेको हूलहरुबाट
मध्यरातको त्यो मौका छोपेर
मनपरी घर घुम्छन् फेरि लाउँछन्
के का लागि बजाई रहेछन् शंख ?
हरेक पल्ट उहीँ लयमा
किन बजाईरहन्छन् त्यो ?
प्रश्न अनुत्तरित छन्

प्रश्न राख्छु म जोगीहरूसित…

तिमीले बजाउने प्रदूषित ध्वनीले
खास तात्विक फरक के राख्छ… ?

▪️▪️▪️

ऊ भनिरहेको छ …
बरु के- के भएन फरक…??

पहिलो पटक मैले शंख बजाउँदा
तिमी सानो थियौ
हेर आज तिम्रो दाह्री फुलिसकेको छ
कपाल फुलिसकेका छन्
कहाँ पाएनौ परिवर्तन ?
कसरी भएन फरक ?
उल्टो प्रतिप्रश्न गर्दै भन्छ,

▪️▪️▪️

बल्ल महसुस भयो मलाई
हो मेरो दाह्री फुलेछ, केश फुलेछ
उहीँ लयको शंख सुन्दै आएको
एक युग पो बितेछ
एउटै लय सुन्दा सुन्दै
एउटा बालक वयस्क भयो
उही लय सुन्दा सुन्दै
वयस्क युवा बृद्व भयो
लय उहीँ छ…समय क्रमभंगमा छ,

▪️▪️▪️

त्यै जोगी कात्तिक भर गाँउ घुम्छ
चार सुर शंख ध्वनी लगाउँछ
सकिन्छ कात्तिक, हराउँछ खै कता ?
आमाको थोत्रो चोलो फेर्ने आशामा
बन्धकी खेत उकास्ने अभिलाषामा
राहदानीको उडान भर्न राजधानी पुगेकै समय देखेको हूँ
त्यो जोगीलाई धेरै पछि मैले
सिंहदरबारको मूल गेटबाट प्रवेश गरेको
फेरिएछ पुरानो शंख
फेरिएछ पुरानो भेष
फालिएछ जट्टा दाह्री
चिटिक्क अडिएछ ढाका टोपी
जट्टा फालेर शीरमा
यस पल्ट राष्ट्रव्यापी योजना
बुन्दै छ सिंहदरवारभित्रबाट
कसरी लगाउने हो अर्को साल फेरि?

▪️▪️▪️

खबरदारी गरेर उडाउनुछ
एक थान राहादानीसित सपनाहरू
प्रत्येक सचेत युवाहरु हो
फेरी कात्तिक आउने छ
पुरानै जोगी धाउने छ
कटाई दिनु खड्को काटेर कालो रातसँगै
कहिल्यै नफर्किने गरी,

▪️▪️▪️

प्रवेश निषेध छ ।

         ॥॥

‘सपना’

◾️◾️◾️

आफ्नै सपनाले
लखेटेको दशकौं भईसक्याे –
हिँडिरहने गोरेटो गल्लीहरू भन्दा
लाखौं माईल टाढा तल तल बेशी खेतसम्म

▪️▪️▪️

पोत्नु थिएछ बरु रातै माटोले
चिटिक्क पारेर आफ्नै
धमिराले ढाल्नै लागेको आस्थाको घर
अपसोच-
लागि रहेछ पछुतो एक पश्चताप,

▪️▪️▪️

घामले नपर्खदो रहेछ
उज्यालो भईरहनलाई
हेक्का भएन मलाई
घडीको काँटाले ठीक
जिन्दगीको १२ बजाएछ
त्यति विशाल घामलाई
मसिनो घडिको सुईले
टक टक एउटै गतिमा
निरन्तर कसरी फनक्क घुमाउन रहेछ,

▪️▪️▪️

घाम र घडीको ताल मेल रहेछ
समय
रात र चन्द्रमाको गति रहेछ

▪️▪️▪️

पहिल्यै थाहा पाएको भए
बिहानै घामको जन्मअघि
म उठि सकेको हुने थिएँ
र, घामलाई पछि-पछि
लगाएर म अघि-अघि
हिँडिसकेको हुने थिँए ।
संसारको उपल्लो छेउसम्म
विज्ञान र प्रविधिको चरम युगमा
म र मरो देश हुने थियो

▪️▪️▪️

तर…
ल्यायो त यहाँसम्म ठेलम ठेल
मोल तोल ,नाप जाप गरी
प्रविधिको यन्त्रहरुसँग काँधे लगाउन
आफ्नै बेकूफ सपनाले
हो अहिले जलिरहेछु पछुतोको ज्वालामा

▪️▪️▪️

गुँड छोडेर उडेको चरीले
एक क्षितिज नाघेको हो
त्यो अर्को क्षितिज परको देश परदेश रहेछ
र त्यो चरी रहेछ पर्देशी
आफैँ भित्रको चरीले ठुङ्छ मलाई
आफ्नै गुँड भएको क्षितिज फर्की भन्छ

▪️▪️▪️

सपनाले आफैसित दाहसंसेकार गरि रहेछ ।

           ॥॥


सोलुखुम्बु
हाल- दक्षिण कोरिया।