सृष्टिको आहान
ए मेन्छाम्गेन नाम्याप्मिसे
सुन है !
उहिल्यै उहिल्यै
तिमी जन्मिनुभन्दा पहिल्यै
आकास बन्नुअघि
धरती बन्नुअघि
उँधो पनि भ्वाङ उँभो पनि भ्वाङ
माथि हेरे महाशून्य तल हेरे सुनसान
निराकार अँध्यारो भएदेखिको
मुन्धुमहरु सुनाइ ल्याउँछु है
सुन है !
तागेरा निङ्वाभुमाङले
महाशुन्यतामा उज्यालो बाले
अँध्यारोमा फिलुङ्गो बाले
पोरोक्मी यम्भामिलाइ विवेक दिएर
पृथ्विको सृष्टि गर्न लाए
तब न
ढुङ्गामा
माटोमा
जङ्गलमा
खोलामा
सबैतिर भगवान बसेका हुन्
फूल
रुख
चरी
बतास
सबैतिर आत्मा पसेका हुन्
हिमालको काखबाट
निस्केको रे जिन्दगिको भाका
पहाडको टाकुराबाट
बनेको रे ऋतुहरुको चक्र
ओढारको तरेलिबाट
जन्मेको रे सभ्यताको युग
सुनचाँदीले बनाउँदा
नबोल्ने ए मान्छे
मिसाएर रुखको टोड्काको पानी/ढुङ्गाको कापको पानी
चराको सुलि र खरानिले बनाउँदा मात्रै
तिमीमा प्राण भरिएछ है
तब न संसार सुहाएछ है !
जसै बोल्यौ तिमी
“मरि गएस”
तागेरानिङ्वाभुमाङले सराप दिएछ है
यसरी माङ्गेन्ना ढलेछ है !
अनि त तिमीमा
अहमै चढ्यो,आडम्बरै चढ्यो
रिसरागै चढ्यो,कुकर्मै चढ्यो
भुल्यौ
अस्तित्व जोगाउने तिम्रो माङ्गेना यक
पुर्खाहरु बस्ने थोप्पोला तेम्बे
बत्तिसकोटी देवि देउता,सिमेभुमे र आफैलाइ
झर्यौ मनातेम्बेबाट तल तल
र पुग्यौ विध्वंसको आणविक भट्टिमा
सोच त
कहाँ थुनियो तिम्रो चेतना
पाखण्डको महलहरुमा ?
नाफाखोरिको सुपरमार्केटमा?
शक्तिको मिसाइल लन्चरहरुमा?
या अत्याधुनिक ल्यापटपहरुमा?
कहाँ हरायो तिम्रो मस्तिष्क
साइवर क्याफेहरुमा ?
रोबोट डमिहरुमा ?
या कपोकल्पित फिक्सनहरुमा ?
बनायौ कुन इश्वर
जसले नियन्त्रण गर्न खोजिरहेछ सारा संसार?
निर्माण गर्यौ कुन विश्व
जसले खिच्न खोजिरहेछ सबैको ध्यान ?
अविष्कार गर्यौ कस्तो चार
जसले जन्माउन खोजिरहेछ अहंकार?
तर्जुमा गर्यौ कुन विकास
जसले निम्त्याउन खोजिरहेछ पृथ्विकै संहार ?
उडाउन अघि क्षेप्यास्त्र
कहिल्यै सोच्यौ
कसको पित्री बसेको छ आकासमा ?
भत्काउन अघि पहाड
कहिल्यै सोच्यौ
कसको आत्मा बसेको छ पहराहरुमा ?
मसाउन अघि जङ्गल
कहिल्यै सोच्यौ
कसको हंस उडिहिँड्छ रुखका हाँगाहाँगाहरुमा ?
खन्न अघि बगर
कहिल्यै सोच्यौ
कसको सुसेली सुसाइरहन्छ नदीहरुमा ?
तिमीलाई त
पृथ्वीभन्दा पनि हजार गुणा सुन्दर
पृथ्वीको सृष्टि गर्न पो पठएको है
अबला प्राणिहरुको
रक्षा गर्न पो पठाएको है !
बोकेर
दुनिँयाकै शक्तिशाली हतियार
सर्वश्रेष्ठ कानून
या तथाकथित सिद्धान्त
आयु तोक्न अघि पृथ्वीको
सोच्नु
तिम्रै प्राण प्रकृतिमा उडिहिँड्छ है !
लेप्मुहाङको वाणी नसुन्ने तिमी
अर्को प्रलय निम्त्याउँदैछौ है
थाक्थाकु माबोहाङको उपदेश नसुन्ने तिमी
अर्को मूर्खता गर्दैछौ है !
यसरी त हुन्
माङ रिसाउँछ है !
लु चाँडो सेहेँ जागित्र मन्साउ
गालीसराव बगाउ
युमालाइ धूप बाल
नत्र सृष्टिले कोल्टे फेर्छ है !
[ केही मुन्धुमी शब्दहरु :
मेन्छाम्गेन नाम्याप्मी- मनुष्यहरु
मनातेम्बे- मानिसहरुको उत्पती स्थल
थोप्पोला तेम्बे – पुर्खाहरु बस्ने ठाउँ
लेप्मुहाङ – जलप्रलयबाट चराचर जगत बचाउन सफल
पात्र
निङ्वाभुमाङ – सर्वशक्तिमान इश्वर
माङ्गेन्ना यक – उत्पती स्थल/अस्तित्वको केन्द्र]
प्रतिकृया दिनुहोस्