May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कथाकार हितानको ‘ब्लू प्लानेट’ सार्वजनिक

कथाकार हितानको ‘ब्लू प्लानेट’ सार्वजनिक

लन्डन । वातावरणविद् एवम् कथाकार विजय हितानको नयाँ कृति ‘ब्लू प्लानेट’ सार्वजनिक भएको छ । कथाकार हितानको नवौँ कृतिको रूपमा पर्यावरणीय कथाहरूको संगालोका रूपमा रहेको कृति आइतबार सार्वजनिक भएको हो ।

भर्चुअल रूपमा गरिएको विमोचन एवम् विमर्श कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका पूर्व प्रमुख प्रा.डा. गोविन्दराज भट्टाराई, वरिष्ठ साहित्यकार ज्ञान बहादर क्षेत्री लगायतका समीक्षकहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । फिनिक्स बुक्स काठमाडौँले ल्याएको बेलायतनिवासी कथाकार हितान सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिक भएपनि पेशाले वातावरण अधिकृत हुन् । संग्रहमा पन्ध्र इको कथाहरू समाविष्ट छन् ।

Advertisement

विमोचन एवम् विमर्श कार्यक्रममा सहभागीहरु ।

कृतिउपर बोल्दै प्रा.डा. भट्टराईले कथाकार हितानले पृथ्वीको अवस्था, जवलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई कथाहरूमा उनेको टिप्पणी गरे । उनले सन् १९७२ पछि तीन चरणमा पर्यावरणको विषय र विधामा केन्द्रित भएर साहित्य लेखन र समालोचकीय बहसले स्थान लिएको बताए । उनले प्रकृतिकेन्द्रित, मानवकेन्द्रित हुँदै विश्वकै परिस्थितिकाबारे लेख्न सुरु भएको जनाए । ‘इको लेखनको विश्व तरङ्ग बुझेर प्रयोगमा व्यापकता ल्याउने प्रथम नेपाली विजय नै हुन्,’ डा. भट्टराईले भने, ‘वातावरणलाई भौतिकदेखि साहित्यिक अभियानका रूपमा अघि बढाएर अरू लेखकसम्म लैजाने श्रेय पनि उनलाई जान्छ ।’

कार्यक्रमको ब्यानर ।

यसैगरी, कृतिका विभिन्न कथाहरू उपर विभिन्न लेखक तथा समीक्षकहरूले आफ्नो राय राखेका थिए । पन्ध्र कथाहरूबारे डा. देवचन्द्र सुब्बा, डा. सरीता शर्मा, डा. गीता त्रिपाठी, डा. देवेन सापकोटा, विलोक शर्मा, महेन्द्र न्यौपाने, महिम आचार्य, प्रज्जवल अधिकारी, अमित थेवे, भावेश भुमरी, निलिमा आचार्य र छत्रमान सुब्बाले बोलेका थिए । उठेका सबै धारणाहरूमाथि समीक्षक ज्ञान बहादुर क्षेत्रीले आफ्नो मत राखेका थिए ।

सन् २००९ बाट साहित्यको गम्भीर लेखन, अध्ययन र सिर्जनामा संलग्न भएका हितानले पुस्तकबाट बिक्री भएको रकम दुर्लभ रेड पान्डाको संरक्षणमा खर्चने बताए । उनी अहिले विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेका अध्यक्ष समेत हुन् । महसंघले प्रत्येक वर्ष विश्व वातावरण दिवस(जून ५)का अवसरमा अन्तरराष्ट्रियस्तरको इको साहित्य गोष्ठी गर्दै आएको छ ।

https://m.facebook.com/bryan.hitan/videos/453716912792422/