April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘नयाँ राष्ट्रनिर्माताको खोजी’

‘नयाँ राष्ट्रनिर्माताको खोजी’

पृथ्वीनारायण शाह
थिए एक कथित राष्ट्रनिर्माता

▪️▪️▪️

Advertisement

उनलाई भएको आफ्नो राज्यले चित्त बुझेन
अनि लागे अरुको माटो खोस्न
तरवारको धारबाट सृजित अभिप्सा
कति घर कति परिवार
सबको रक्ताम्य दुर्गति बनेर अघि बढिरह्याे

▪️▪️▪️

ठूलो देशको राजा बन्ने ध्याउन्नमा यिनले केसम्म गरेनन्

▪️▪️▪️

दुश्मनलाई सोच्न पनि नसकिने यातना दिएनन् कि
निर्दोष जनताको नाककान काटेर धार्नीबिसौली पो जोखेनन् कि
शत्रुलाई त धोका दिएदिए, हितैषीलाई समेत धोका दिन भ्याए

▪️▪️▪️

यसरी बन्यो एउटा देश
देश भन्नु त के थियो र त्यो
निमुखाहरुको नाककानबाट बहेको आलो रगतको कित्ताकाट थियो

▪️▪️▪️

आखिर क्रुरताको पराकाष्ठा नाघेर
जबर्जस्तीसँग हत्याइएका स्वतन्त्रताहरु
छिन्नभिन्न पारिएका स्वच्छन्दताहरु
आज हेर कसरी एकत्रित भएर
उन्मुक्तिको आवाज बुलन्द गर्दैछन्

▪️▪️▪️

कवि हिमांशु ।

पृथ्वीनारायण बा
एकीकरणको जस लिएर तिमी त समाधीमा गयौ
एकीकरणको जस दिएर तिम्रा अवतारहरु उसैगरी रक्तिम रवाफका साथ
जनताका बचेका नाककान चिल्याउन सदियौंसम्म उद्दत रहे
तिम्रो विरासत थाम्ने परम कर्तव्य
कति कर्तव्यपरायणताका साथ हरेक अवतारले निभाइरहे

▪️▪️▪️

तर हेर आज
तिम्रो युद्धअपराधको प्रमाण काङ्सोरेका सन्तानहरुले फेला पारेका छन्
कसरी निर्दोष जनता र निहत्था वैरीमाथि
तिमीले आफ्नो अत्याचार बर्सायौ
तिमीले आफ्नो अहङ्कार उतार्यौ

▪️▪️▪️

र हेर
तिम्रो रक्तरन्जित इतिहासमा गर्वको अट्टहास छाड्ने
उस्तै अहङ्कारी सन्तानहरु रजाइँको सिलसिला समाप्त भएदेखि
कसरी गुमनाम हुँदैछन्

▪️▪️▪️

हेर पृथ्वीनारायण
देश उही छ सिमाना उही छ
नाम उही छ विशेषण उही छ
भलै तिम्रो दस्तावेज उही छ
फरक यति छ यो इतिहासमा आज एउटा प्रतिइतिहास थपिएको छ
तिमीले देश त बनायौ तर राष्ट्रियता अनुभूत गराउन सकेनौ
तिमीले सिमाना त विस्तार गर्यौ तर अखण्डता अनुभूत गराउन सकेनौ
तिमी आफैँले भुलवस छोडेका अवशेषहरु
काफी छन् आज प्रत्युत्तर दिन
काफी छन् क्रमभङ्ग गर्न

▪️▪️▪️

अब हामीलाई तिमीजस्तो राष्ट्रनिर्माता चाहिएको छैन
जो देश त बनाउँछ तर राष्ट्रलाई भुल्छ
जो सिमाना त बढाउँछ तर राष्ट्रियतालाई भुल्छ
हामीलाई अर्कै राष्ट्रनिर्माता चाहिएको छ
जस्ले हिजो अन्यायमा परेकाहरुको
हिजो अनाहकमा मरेकाहरुको
हिजो घर न घाट भएकाहरुको
मन, स्वाभिमान, पहिचान, सद्भाव
अनि आत्मसम्मान जोड्न सकोस्

▪️▪️▪️

हामीलाई त विगतसँग प्रायस्चित गर्नसक्ने
वर्जितलाई पुनर्स्थापित गर्नसक्ने
नयाँ राष्ट्रनिर्माता चाहिएको छ !

▪️▪️▪️