April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संगीतमा पुनरागमन गर्दै गायक साक्थिम योङ्या

संगीतमा पुनरागमन गर्दै गायक साक्थिम योङ्या

विजयपुर । कुनै बेला गायक एवम् संगीतकार साक्थिम योङ्या पूर्वमा चलेका कलाकारमा गनिन्थे । उनले कलिलै उमेरमा गीत गाउने, रेकर्ड गर्ने र कम्पोज गर्ने काम पनि गरे । गीत संगीतमा लागरिहेकै बेला उनी विदेश हान्निए । निकै वर्ष चुपचाप बसे । लामो समयको मौनता तोड्दै योङ्या पुनः नेपाली साङ्गीतिक क्षेत्रमा फर्कदैछन् ।

कोरोना महमारीभन्दा केही समयअगाडि मात्रै हङकङबाट आएका योङ्या पटक पटकको लकडाउनका कारण तीन वर्ष नेपालमै रहे । पुनः कर्मथलो हङकङ फिर्न केही हतारोमा रहेका उनले करिब आधा दशकपछि साङ्गीतिक क्षेत्रमा फर्कने निर्णयका साथ गीतहरू रकेर्ड गराइरहेका छन् । माघ ७ गते आफ्नो जन्मदिनको अवसर पार्दै उनले सङ्गीत दिएको ‘पूर्वको हाक्पारे पाःलाम, पश्चिमको रोदी सोरठी’ बोलको गीतमा सुपरस्टार गायक राजेशपायल राईको आवाज कैद गराउँदै थिए । काठमाडौँको पृथक स्टुडियोमा यूकेकी कल्पना आङबुहाङको शब्द रचना तथा हङकङका प्रकाश आङबहुहाङको निर्माणमा तयार हुँदै गरेको गीतलाई योङ्यासँग लामो काम गरेका चन्दु गोर्खालीले एरेञ्ज गरिरहेका छन् । ‘अब म पुनः गम्भीरताका साथ गीत संगीत सिर्जना गरेर दर्शक तथा श्रोतामाझ आइरहनेछु । केही समय पारिवारिक र व्यवहारिक कारणले आउन सकिनँ,’ गायक योङ्याले भने, ‘शुभचिन्तकहरुको आग्रह, माया, हौसला र प्रेरणाले मलाई फर्कन उर्जा मिलेको छ ।’

Advertisement

हुन पनि पान्थरको तुम्बेवा हाङ्गुममा जन्मिएका गायक योङ्यालाई एकपछि अर्को पारिवारिक शोक प¥यो । उनका तीन जना तुम्बा(बडा बा)हरू लस्करै बिते । सालैपिच्छे निधन भएका आफन्तहरूका कारण गीत संगीत सिर्जना गर्न परहेज भएको सुनाए । ‘सालैपिच्छे परिवारका सदस्यहरु बिते । लकडाउनकै दौरान काकी पनि बित्नुभयो । हाम्रो संस्कारअनुसार एक साल गाना बजाना बन्द गर्नुपर्ने भएर म चुपचाप बसे,’ आफ्नो बाध्यता दर्शाउँदै भने, ‘यसबीच गीतमा काम गर्न नसक्दा कतिपयले गाली गरे । कतिले गीत जिम्मा लिएको फिर्ता लगे ।’ उनले आफूसँग एक दर्जन जति गीतमा संगीत दिन पालोमा रहेको समेत बताए । बाल्यकाल धनकुटाको चौबिसेमा बिताएका उनी अहिले धरान–१६ मा बस्छन् । उनी आजभन्दा १४ वर्षअघि हङकङ छिरेका थिए ।

संगीतकार यादन शेर्मासँग गायक साक्थिम योङ्या ।

गायक योङ्याले ०५८ मा संगीतको औपचारिक शिक्षा लिएका थिए । डिप्लोमाको कोर्स गर्दागर्दै उनी प्रवास हान्एिका थिए । हालसम्म उनले तीन दर्जन बढी गीतमा काम गरिसकेका छन् । त्यसमा पनि २१ वटा याक्थुङ लिम्बु भाषामा गीत रेकर्ड गराएका छन् । उनका ती गीतहरू ‘याम्मो तुम्मिना’, ‘निसुम’, ‘नादङ’, ‘माङ्निसा’ र ‘तुम्दुङ’ एल्बममा समाविष्ट छन् । प्रथम धरान आइडलको शीर्ष गीतदेखि सुरु भएको गीत लेखन पनि विभिन्न गायक गायिकाहरूको आवाजसम्म आइपुग्दा तीन दर्जन नाघेको बताउँछन् ।

‘खासमा म अब मैले पुनः शून्यबाट थाल्नुपर्ने भयो । उता(हङकङ) पनि नफर्कने सोँच बनाइसकेको थिएँ । सामान्य जीवन यापन यतै गर्ने भनेर,’ कारण खुलाउँदै भने, ‘तर प्रकाश दाजुले हङकङबाट प्रस्ताव गर्नुभयो । अनि, गीतकारसँग सम्पर्क भयो । मैले मेलोडी सुनाएपछि सबै आश्वस्त भए । अनि, राजेश दाइको स्वरमा गीत रकेर्ड भएको हो ।’ उनले गीतको मिक्सिङ सकेलगत्तै छायांकन सिध्याएर चाँडै सार्वजनिक गर्ने योजना रहेको समेत थपे ।