April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरसफाई र खोपबाट नै कोरोना महामारीको अन्त्य गर्न सकिने चिकित्सकहरुको धारणा

सरसफाई र खोपबाट नै कोरोना महामारीको अन्त्य गर्न सकिने चिकित्सकहरुको धारणा

लन्डन । गत २३ जनवरी २०२२ आइतवारको दिन नेपाल पत्रकार महासंघ वेलायतले संयुक्तरुपले सन्चालन गरेको भर्चुअल कार्यक्रम कोरोना सचेतना र खोप बारे केन्द्रित रहेर अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्यो ।

साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र खोप लगाएर कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन यूकेसित मिलेर आयोजना गरेको अन्तरसम्वादमा बोल्दै उनीहरुले सो उपाय सुझाएका हुन् । कार्यक्रममा बेलायतमा कार्यरत जीपी (जनरल प्राक्टिसनर) डा. आरती थापाले भनिन्, ‘’ह्याण्ड, फेस, स्पेश र भ्याक्सिनले मात्र महामारीबाट छुटकारा दिलाउन सक्छ अन्यथा यस्ता महामारीहरु आइरहन्छन् ।‘ उनले साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने र एक आपसमा दुई मिटरको सामाजिक दुरी कायम गर्ने साथै कोरोनाभाइरसको खोपका डोजहरु लगाउन सबैलाई आग्रह गरिन् ।

Advertisement

अर्का कन्सल्ट्यान्ट डा. शम्भु आचार्यले पनि कोभिडलाई हेलचेक्रयाइँ गर्न नहुने तर यसबाट आत्तिन पनि नहुने बताए । नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने, पर्याप्त सुत्ने र खोप लगाएमा कोभिडबाट हुने असर धेरै कम गर्न सकिने उनको धारणा थियो । ‘खोपले आफूलाई त बचाउँछ नै आफ्नो परिवार, आफन्त, समाज, सिंगो राष्ट्र र विश्वलाई नै कोभिडबाट बचाउन मद्दत गर्छ’ उनको भनाइ थियो । एकै व्यक्तिले फरक-फरक खोप लगाउँदा मानिसहरुमा विभिन्न आशंका उत्पन्न भइरहेकोप्रति चिकित्सकद्वयले कुनै शंका-उपशंका नगर्न आग्रह गरे । ‘मिश्रित खोप लगाउँदा प्रतिरोधी क्षमता अझै राम्रो देखिएको विश्वास गरिएको छ’ दुवै जनाको राय थियो । खोप लगाउन नचाहने मानिसहरुले के कारण खोप लगाउन नचाहेका हुन् भन्ने बुझ्न पर्ने र त्यो कुरा पाएपछि उनीहरुको चिन्ता हटाउन सकिने डा. थापाले बताइन् । उनले बेलायतमा धेरै मानिसहरुले खोप लाइसकेको तर अझै कोही लगाउन बाँकी भए ‘वाक इन’ भ्याक्सिन सेन्टरमा सीधै गएर लगाउन सकिने पनि जानकारी दिइन् ।

खोपका बारेमा कुनै जिज्ञासा भए एनएचएस आप्सबाट वा ११९ नम्बरमा फोन गरेर विस्तृत जानकारी लिन सकिने पनि उनले बताइन् । डा. आचार्यले बेलायतमा खोप लगाउने दर राम्रो भएको बताउँदै नेपालमा भने खोपको सीमित उपलब्धताका कारण पनि खोप अभियान प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे । डा. थापाले भने खोप अभियान सफल पार्न एउटा विशाल संगठन परिचालन गर्नपर्ने भएकाले राजनीतिक, चिकित्सकीय लगायत धेरै क्षेत्रको उत्तिकै संलग्नता र सक्रियता चाहिने बताइन् । कोभिड विरुद्ध खानेलगायत अन्य ओखती बजारमा आएको सन्दर्भमा डा. थापाले अहिले खाने ओखती छानिएका बिरामीलाई सोझै अस्पतालबाट दिइने गरिएको र जीपीले हालसम्म प्रेस्क्राइब नगरेको बताइन् भने डा. आचार्यले कोभिडविरुद्ध नाकबाट दिइने ओखती (हेपारिन) पनि परीक्षण भइरहेको र त्यो सफल भए झनै प्रभावकारी हुने बताए । उक्त अन्तरसम्वाद कार्यक्रमला संचालन संघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियारले संचालन गरेका थिए ।

त्यस्तै, सल्लाहकार एवम् पूर्व अध्यक्ष चिरन शर्माले बेलायतमा रहेका भूतपूर्व गोर्खाहरुको समस्या र समाधानको बारेमा जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन यूकेसंगको सहकार्यमा समसामयिक विषयमा पाक्षिक रुपमा स्वास्थ्य लगायतका विषयमा संवाद कार्यक्रम संचालन गर्दै आएको छ ।