शिकार खेल्नु छ अब
कविता
दमनताले डढेको धनुबाँस काटेर
धनु र तीर बनाउनु छ
फेरि पनि
शिकार खेल्नु छ
मेरा चेप्चुहरु जस्तै
ताम्भुङ्नालाई बोक्नु छ
आफ्नै शरीरमा
▪️▪️▪️
धुवाँ ध्वाँसो लागेको
हिलिहाङको तरबार उद्द्याउनु छ
जैजिते र खलबलेको
चुडिएको ताँदो जोडेर
तानाशाही जंगलभित्र
एक खेप शिकार खेल्नुछ अब
▪️▪️▪️
खेल्नु छ शिकार !
अन्तिम पटक शिकार खेल्नै पर्ने भो
दमनकारी ब्वाँसाहरुको
मुटुभित्र अस्तित्वको तीर रोप्नु छ
▪️▪️▪️
माबोहाङले देखेको दिव्य सपना
आफ्नै मथिङ्गलमा कुँदेर
शेष अवशेष यकहरुको माङ्गेना उठाउन
एक कान्ला सेक्मुरी फुलाउँदै
नश्लवादी स्यालहरुको शिकार खेल्न
सिरिजंगाको सन्दुकभरि
गोपे बाँसको तीर बोक्नु छ अब
▪️▪️▪️
युमाले बसाएको आदिम सभ्यतामा
बाटो बिराएर रनभुल्लमा अल्झिएका
विनिर्माण मानसिकतामाथि
अन्तिम चोटि तीर चलाउनु छ
▪️▪️▪️
समयको भर्याङ उक्लिँदै
आफ्नै धरातलको नाम्लो लाएर
युमाको थुन्चेभरि मट्याङ्ग्रा बोकेर
फासिष्टवादी गोहीको शिकार गर्न
आदिम चेतनामा अढेसा लाएर
नामसामीको सातौं तीर
धनुमाथि चढाउँदै
फेरि पनि एक खेप, आफ्नै जगरबगरमा
शिकार खेल्नुछ अब
▪️▪️▪️
प्रतिकृया दिनुहोस्