May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

विजयपुर । याक्थुङ लिम्बु समुदायको आस्था र भावानासँग जोडिएको भन्दै धरानको तीनकुनेमा रहेको सिरिजङ्गा सिं थेवेको शालिक नहटाउन मदन भण्डारी लोकमार्ग योजनालाई लिम्बु विद्यार्थी मञ्चले माग गरेको छ । शालिकलाई यथास्थानमै सुरक्षित राखेर परियोजना सक्न समेत मञ्चले आग्रह गरेको छ ।

बुधबार लिम्बु विद्यार्थी मञ्च सुनसरीको तर्फबाट मदन भण्डारी लोकमार्ग परियोजनालाई ध्यानाकर्षण पत्र पठाउँदै याक्थुङ भाषा र सिरिजङ्गा लिपिका लागि सहिद भएका सिरिजङ्गाको शालिक कुनै पनि हालतमा नहटाउन माग गरेको मञ्चका केन्द्रीय उपमहासचिव सागर सरगम चेम्जोङले बताए । सुनसरी अध्यक्ष हरि इवाहाङ लिम्बु र सचिव सञ्जोग हुक्पा चोङवाङले हस्ताक्षर गरेको पत्र बुझाउँदै मदन भण्डारी लोकमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)भित्र परेको शालिक सुरक्षित गर्दै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरिएको चेम्जोङले जनाए । ‘हाम्रो संगठनको एक टोलीले आयोजनाको स्थानीय कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । आयोजनाको कार्यालय र नेपाल सरकारको भौतिक योजना तथा पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई पनि बोधार्थ पत्र पठाएका छौँ,’ उनले भने, ‘सिरिजङ्गाको शालिक हटाइएमा या भत्काइएमा हाम्रो समुदायको आत्मसम्मानमाथि ठूलो चोट पुग्नेछ ।’

Advertisement

लिम्बु विद्यार्थी मञ्चको पत्र ।

शालिक यथावत राख्न भन्दै आफूहरूले स्थलगत अध्ययनसँगै आयोजनाका प्रतिनिध भेटेर पत्रमार्फत आफ्नो धारणा बुझाएको अर्का उपमहासचिव प्रदीप नेयोङले सिलौटी टाइम्सलाई जानकारी दिए । उनले आयोजनाका प्राविधिक(इञ्जिनियर) अमित मण्डलले पत्र बुझेको बताए । ‘सिरिजङ्गा हाम्रो साँस्कृतिक सम्दाका रूपमा रहेको भन्दै धारणा बुझाएका छौँ । आयोजनासँग यस विषयमा सकारात्मक कुरा भएको छ । प्राविधिकले माथिल्लो निकायसँग छलफल गरेर निकास दिन्छु भनेका छन्,’ विद्यार्थी नेता नेयोङले भने । टोलीमा उपमहासचिवद्वयसँगै केन्द्रीय सदस्य श्री लिङ्खिम, पूर्व केन्द्रीय उपाध्यक्ष धनेन्द्र जवेगू र सुनसरी सचिव सञ्जोग हुक्पा चोङवाङ थिए ।

धरान उपमहानगरपालिको वडा नं. ८ स्थित तीनकुनेमा रहेको सिरिजङ्गाको शालिक २०५९ पुस ४ गते तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री स्व. गोरे बहादुर खपाङ्गीले अनावरण गरेका थिए । किरात याक्थुङ चुम्लुङका तत्कालीन केन्द्रीय उपाध्यक्ष बल बहादुर थक्लुङको संयोजकत्वमा निर्माण भएको शालिक अनावरणमा तत्कालीन समयका आदिवासी जनजाति महासंघका महासचिव बालकृष्ण माबुहाङ, सुनसरी प्रमुख जिल्ला अधिकारी स्थानेश्वर देवकोटा, धरान नगर प्रमुख मनोज कुमार मेन्याङ्वो लगायत उपस्थित थिए ।

निर्माणाधीन मदन भण्डारी लोकमार्गको रेखा चित्र ।

धरानमा रहेको शालिकलाई असर पु¥याउने भनिएको मदन भण्डारी(चुलाचुली चुरे)लोकमार्ग निर्माणाधीन राष्ट्रिय लोकमार्ग हो । यो नेपालको पूर्वी सीमा(मेची नदी) देखि चुरेभावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सीमा(महाकाली नदी) सम्म करिब १२ सय किलोमिटर लामो रहेको छ । २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको लोकमार्ग झापा बाहुनडाँगीबाट सुरु भई शान्तिनगर, चुलाचुली, धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौँडा, गैडाकोट, रामपुर, राम्दी पुग्नेछ । त्यहाँबाट पुनः तम्घास, सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, वीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म जोडिनेछ ।

सिरिजङ्गा लिपि विवाद चलिरहेकै बेला सिरिजङ्गा शालिक पनि लोकमार्ग विस्तारका क्रममा संकटको अवस्थामा आउनु संयोग भएको छ । लिम्बुवानको सिनाम तेल्लोक थुममा सन् १७०४ मा जन्मिएका सिरिजङ्गा सिं थेवेलाई लिपिकको विकास, पुनरुत्थान र प्रचारका हिसाबले सबैभन्दा धेरै श्रद्धा गरिन्छ । उनी भाषा र लिपिकै प्रचारका क्रममा ३७ वर्षको उमेरमा सिक्किम राज्यमा त्यहाँको पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूबाट मारिएका थिए । उनले बनाएको र पछि विभिन्न भाषिक अभियन्ताहरूले परिमार्जन गर्दै आएको सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लिम्बुवानको निमावि तहसम्म र केही क्षेत्रमा कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । सिक्किममा भने सिक्किम विश्वविद्यालयले विद्यावारिधि तहसम्म अध्ययन अध्यापन गराइरहेको छ । पश्चिम सिक्किमको हि युमाङ थेगुमा पनि सिरिजङ्गाको ३६ फिट अग्लो शालिक निर्माण गरिएको छ जुन सन् २०१७ डिसेम्बरमा अनावरण गरिएको थियो ।