April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

सिरिजङ्गा लिपि ताेडमाेड गरेकाे भन्दै चुम्लुङ अमेरिकाकाे आपत्ति

न्युयोर्क । सिरिजङ्गा लिपिलाई व्यापक र अन्य समुदायमा पनि विस्तार गर्न भनेर बनाएको प्रस्तावित ‘किरात सिरिजङ्गा लिपि’ काे वर्णमालाप्रति असहमति व्यक्त गर्ने क्रम बढ्दो छ । विज्ञसम्मिलित कार्यदलले बनाएको प्रतिवेदनले याक्थुङ समुदायको भावनामा चाेट पुगेको भन्दै किरात याक्थुङ चुम्लुङ, अमेरिकाले आपत्ति प्रकट गरेको छ ।

बुधबार साँझ एक प्रेस विज्ञप्ति प्रकाशित गर्द‌ै कियाचु अमेरिकाले २५ अक्षरकाे वर्णमालालाई ताेडमाेड गरेर ४८ पुर्‍याएकाे आराेप लगाएको छ । अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सबै इतिहासविद याक्थुङ व्यक्तित्वहरुसँग छलफल नगरी अचानक किरात समन्वयन समितिको विज्ञ कार्यदल निर्माण गरी डा. तारामणि राईकाे संयोजकत्वमा रहेको ९ सदस्यौय कार्यदलले १ माघ २०७८ का दिन प्रस्तुत गरेको राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा पढाई लेखाइ भई रहेको हाम्रो अति पुरानो ऐतिहासिक २५ वर्णको लिपिलाई ४८ बर्ण पुर्‍याई तोडमोड गरी अतिरञ्जित पाराको त्यो प्रतिवेदनले एउटा ठूलो याक्थुङ समुदायको भावनामा गहिरो चोट लागेको छ जुनप्रति किरात याक्थुङ चुम्लुङ अमेरिका घोर आपत्ति प्रकट गर्दछौं ।’

Advertisement

चुम्लुङकाे संस्थागत लाेगाे

चुम्लुङ अमेरिकाले गत साेमबार सिरिजङ्गा लिपिकै विवादलाई विषय बनाएर भर्चुअल रूपमा छलफल समेत राखेको थियोे । छलफलमा चुम्लुङका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरू सहभागी थिए । साे बैठकमा पश्चिम मिचिगन विश्वविद्यालयका प्राध्यापक डाक्टर महेन्द्र लाओेती, कियाचु नेपालका पूर्व उपाध्यक्ष लीला सिङ्गक, युवा चिन्तक एवम् विद्यावारिधिका शाेधार्थी टङ्क सेलिङ लगायत पनि सामेल थिए ।

‘ग्लोबल अत्याधुनिक युगमा भाषा लिपिले अत्यन्तै ठूलो अर्थ, महत्व राख्दछ । आफ्नो भाषा लिपि हुनु र नहुनुमा छुट्टै पहिचान र अस्तित्वको प्रश्न र विषय बन्दछ । सबैले सबैको भाषा लिपि प्रयोग गरेको राम्रो हो तर प्रयोग गर्दा पनि सुहाउने तरिकाले वा त्यो समूह, समुदायको मान–सम्मान र भावनामा आच नआउने गरी प्रयोग गरेमा सकारत्मक सन्देश अनि राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा सामाजिक सदभाव र भाईचारा बढ्ने कुरामा दुइमत छैन,’ विज्ञप्तिमा भनिएको छ,  ‘त्यसैले संसार भरिबाट आएको याक्थुङ व्यक्तित्व, संघ, संस्था र संगठनहरूको सल्लाह, सुझाव, विरोध, आपत्ति, विमत्ति, असहमतिलाई आत्मसाथ गरी किरात याक्थुङ चुम्लुङ केन्द्र नेपालले उक्त प्रतिवेदनलाई हतारो नगरी समय परिस्थिति अनुसार अघि बढ्नुपर्ने भएपनि आन्तरिक पूर्ण छलफल र बहसपछि पुनर्लेखन वा पुन: सुदृढीकरण गरेपछि मात्र प्रयोग गर्न गराउन पहल गरियोस् भनी किरात याक्थुङ चुम्लुङ अमेरिका हार्दिक अपील गर्दछ ।’ चुम्लुङ अमेरिकाकाे स्थापना सन् २००४ मा भएको हाे ।

यसअघि ‘किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धि विज्ञहरूकाे कार्यदलकाे प्रतिवेदन’ काे विराेध गर्दै कियाचु अष्ट्रेलियाले पनि विज्ञप्ति जारी गरिसकेको छ । अन्य देशका चुम्लुङहरू पनि विवादबारे के कस्तो प्रतिक्रिया दिनेबारे छलफलमा छन् । माघ १ गते प्रतिवेदन सार्वजनिक हुनुअघि सिरिजङ्गा लिपि र पुरानै २५ वर्णका पक्षधरहरूले ‘सिरिजङ्गा लिपि बचाओैँ आन्दोलन’ का नाममा सङ्गठित भएर विमति राख्दै विराेध गर्न सुरु गरेका थिए ।

विराेधकै क्रममा बिर्तामोड र ताप्लेजुङमा आन्दोलनकारीहरूले प्रतिवेदनकाे आवरणकाे प्रतिलिपि समेत जलाएका थिए । हालसम्म प्रतिवेदनकाे विराेध गर्दै युमा साम्याे महासभा नेपाल, युमा साम्याे महासभा, अन्तर्राष्ट्रिय समन्वय समिति, महासभा यूके, मलेसिया, युएई, कुवेत, साउदी अरब, याक्थुङ लेखक ङ्घ, दक्षिण काेरियाले विज्ञप्ति निकालिसकेका छन् । त्यस्तै, भक्त याक्थुङ्वा नेतृत्वको याक्थुङ चुम्लुङ नेपाल, याक्थुङ स्टडी एन्ड रिसर्च एकेडेमी लगायतले विज्ञप्ति निकालिसकेका छन् । यस्तै, सिक्किमबाट सुक्खिम पुङ्वा युमा साम्याे साेसाइटीले पनि आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यता, प्रस्तावित वर्णमालाकाे प्रतिरक्षा गर्दै किरात याक्थुङ चुम्लुङ नेपाल लगायत राई, याक्खा, सुनुवार, थामी, हायु, जिरेल र सुरेल सम्मिलित आठ जातीय संस्थाहरूकाे किरात समन्वय समितिले साझा लिपि बनाउँदै अन्तर्राष्ट्रिय ध्वनितात्विक वर्णमालाकाे सिद्धान्तका आधारमा केही अक्षरहरू थपेर ‘किरात सिरिजङ्गा लिपि’ नामबाट अघि बढाउन चाहेको बताउँदै आएका छन् । यद्यपि, असहमति राख्ने पक्षधरहरूले नयाँ वर्णमाला र सिरिजङ्गा लिपि इतरकाे नामले सहिद सिरिजङ्गाकाे अपमान हुने ठहर गर्दै आइरहेका छन् ।