‘लैङ्गिक समानता लागि अझै पनि चुनौती यथावत् छन्’ – महिला अभियन्ताहरू
अल्डरसट । विकसित देशमा रहेपनि लैङ्गिक समानताका विविध सवालमा अझै पनि चुनैतीहरू कायम रहेको महिला अधिकारकर्मी एवम् अभियन्ताहरूले बताएका छन् । उनीहरूले समग्र क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक रहेपनि समानता, पहुँच र अवसरका लागि आवाज उठाइरहनुपर्नेमा जोड दिए ।
गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको महिला विभागले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विचार गोष्ठी एवम् साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले विकसित देशमा समेत महिला हिंसा र असमान ज्यालाको समस्याहरू झेल्नुपरेको बताइन् । उनले महिलाका सवालमा पुरुषको पनि साथ रहनुपर्ने बताउँदै सामाजिकदेखि सांगठनिक तहसम्म महिलालाई सहयोगी पात्रका रूपमा नभएर कार्यकारी भूमिकामा राख्नुपर्ने बताइन् ।

यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले यूरोपमा महिला अधिकारका लागि विगतमा धेरै ठूला संघर्षहरू चलेको स्मरण गर्दै नेपाली समाजले समान शिक्षा, अवसर र पहुँचमा जोड दिनुपर्ने बताए । त्यस्तै, एनआरएनएको कार्यालयलाई माइत नभएर आफ्नो घर सम्झेर अधिकार र क्षमता प्रर्दशनका लागि अग्रसर हुन आग्रह गरे । त्यस्तै, बेलायतका लागि नेपाली राजदूतकी नवनियुक्त ज्ञानराज आचार्यकी श्रीमति सुनिता आचार्य समानता, न्याय र अवसरका लागि महिलाले सँगसँगै बढ्नुपर्ने जनाइन् ।
यसैगरी, गोष्ठीको वक्ताका रुपमा बोल्दै चिकित्सक डा. जित तामाङले आफ्नो क्यारियरका लागि शिक्षा महत्वपूर्ण भएको र यसका लािग घरायसी व्यवहारले चुनौती दिए पनि अघि बढ्न हिच्किचाउन नहुनेमा सचेत गराइन् । त्यस्तै, नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले नर्सिङ पेशामा भौतिक र मानसिक चुनौतीहरू प्रचुर मात्रामा रहे पनि यूकेमा अझै धेरै मागहरू बढिरहेको बताइन् । उनले नर्सिङ पेसामा बिचौलियाहरूले खेल्न खोजिरहेको भन्दै त्यसबाट बच्न विज्ञहरूसँग परामर्श लिनुपर्ने जनाइन् ।
त्यस्तै, महिला मानवाधिकारकर्मी परिना सुब्बा लिम्बुले लागूऔषध प्रयोगकर्ता र एचआईभी संक्रमितका क्षेत्रमा डेढ दशकदेखि सेवाप्रदायक संस्थामार्फत् काम गर्दै आइरहेकोबारे आफ्नो अनुभव सुनाइन् । दृष्टि नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी लिम्बुले आर्थिक सबलीकरण नभएसम्म अन्य सवालहरू अघि बढ्न अप्ठ्यारो भएकै कारण ओया इनिसिएटिभ्समार्फत् काम गरिरहको बताइन् । त्यस्तै, नेपालबाट आएका डा. सागर पौडेलले प्रजनन, मानसिक र अन्य शारीरिक रोगहरूका कारण पुरुषभन्दा महिला बढी प्रभावित भएका कारण जनचेतनामूलक कार्यक्रम र राज्य तहबाट वकालत गर्नुपर्ने भन्दै आफ्नो प्रस्तुति दिए ।
यसैगरी, मनोविश्लेषक एवम् प्राध्यापक डा. सुमाया राईले दिगो विकाससँग लैङ्गिक समानता जोडिएका कारण अर्थराजनीति, सामाजिक परिवर्तनका दौरान समाजमा मानसिक स्वास्थ्यमा चुनौती देखा परिरहेको बताइन् । डा. राईले यससँग जुझ्न पर्याप्त भौतिक र जनशक्तिको लगानी गर्नुपर्ने समेत थपिन् । अर्की वक्ता लारा राईले लैङ्गिकताको सवालमा अझै पूर्वाग्रह रहेका कारण यसलाई तोड्न थप कसरत गर्नुपर्ने धारणा राखिन् ।
उक्त अवसरमा एनआरएनए यूकेकी महिला विभागकी संस्थापक अध्यक्ष एवम् उद्यमी र पत्रकार संगीता मरहट्ठाले एनआरएनएमा महिलाको सहभागिता बढिरहेकोमा सन्तुष्टि व्यक्त गरिन् ।
महिला विभागका संयोजक विमला लिम्बुको सभापतित्वमा भएको कार्यक्रमलाई सहसचिव अञ्जु सुवालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा एनआरएनए यूके महासचिव खु्शी लिम्बु, पूर्व आइसीसी सदस्य शान्ति थापा लगायत उपस्थित थिए । महिला विभागले आइतबार बिहान नारी दिवसको भावमा एक साहित्यिक कार्यक्रम समेत राखेको कार्यक्रम संयोजक सुवालले बताइन् । महिला सशक्तिकरणका सवालमा भविष्य थप सिर्जनात्मक कार्यक्रमहरु गर्ने महिला संयोजक विमला लिम्बुले जनाइन् ।
#महिला सवाल


प्रतिकृया दिनुहोस्