April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ ।

फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार सेनेलाई फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई र कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले खादा लगाई सम्मान पत्र हस्तान्तरण गरे । खपाङ्गीलाई भर्चुअलरुपमा सम्मानित गरिएको थियो ।

Advertisement

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नुभएका खपाङ्गी विगतमा दृष्टि साप्ताहिक, गोरखापत्र दैनिक, युरोपको नेपालीपत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक, गोरखा सैनिक आवाज मासिक हुँदै अहिले वीनेपाली डटकमको सम्पादक हुन् । उहाँ नेपाल पत्रकार महासंघ युके शाखाको पूर्व अध्यक्ष पनि हुन् ।

यसैगरी, सन् १९९४ मा बेलायती रक्षा मन्त्रालयको बीएफबीएस गोरखा रेडियोबाट पत्रकारितामा प्रवेश गरेकी सेनेले नेपालमा सप्तकोशी एफएममा लामो समय काम गरेकी थिइन् । बेलायत आएपछि उहाँ नेपाली टिभी, नमस्ते युरोप, गोरखा टिभी हुँदै गोरखा च्यानल सञ्चालन गर्दै आएकी छिन् । व्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी सेने हाल नेपाल पत्रकार महासंघ युकेकी केन्द्रीय प्रतिनिधि हुन् ।

 
फोनिज युके अध्यक्षमा गोमा राना
साधारणसभाले फोनिज युकेको अध्यक्षमा गोमा रानालाई चयन गरेको छ । राना यसअघि उपाध्यक्ष थिइन् ।
शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईले सबैलाई समान अवसर प्रदान गर्न र नेतृत्व विकासका लागि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताइन् । कार्यक्रममा राईले नवनियुक्त अध्यक्ष रानालाई खादा लगाई कागजात हस्तान्तरण गरेकी थिइन् ।

फाेनिज यूकेकी अध्यक्ष गाेमा राना मगर ।

साधारणसभाले बेलायतमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कारका बारेमा कार्यसमितिले विस्तृत योजना बनाउने बताइएको छ ।

फोनिज युकेले यसअघि नै नेपालमा फोनिज युके पत्रकारिता पुरस्कार स्थापना गरिसकेको छ । जसबाट हरेक वर्ष दुई जनालाई २५/२५ हजार रुपियाँ नगदसहित पुरस्कार प्रदान गरिँदै आएको छ ।

फोनिज युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको सो साधारणसभामा सचिव सेलिङ माबोले सांगठानिक प्रतिवेदन र कोषाध्यक्षका तर्फबाट उपाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । दुवै प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरिएको थियो ।
सो अवसरमा नयाँ पुस्तक प्रकाशन गरेकोमा सचिव लीला सेलिङ माबो र सल्लाहकार एकेन्द्र गुरुङलाई, नयाँ गीत प्रकाशन गर्नु भएकोमा पत्रकार मिलन तमु, गोरखा नागरिकता निरन्तरता अभियानका लागि होम सुनुवार र एभरेष्ट टाइम्सको प्रबन्ध निर्देशक हुनुभएकोमा नगेन्द्र नेम्वाङलाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शेर्पा, सम्मानित व्यक्तित्वहरु खपाङ्गी र सेने, पुस्तक प्रकाशन गर्ने लीला सेलिङ माबो र एकेन्द्र गुरुङ लगायतले बोलेका थिए ।