April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

फाेनिज यूकेले पत्रकारिता पुरस्कार स्थापना गर्ने

लन्डन । आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूकेले पत्रकारितामा लागेकाहरूलाई प्राेत्साहन गर्न फाेनिज यूके पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । शुक्रबार सम्पन्न त्रैमासिक बैठकले पुरस्कार स्थापना गर्ने निर्णय गरेको हाे ।

भर्चुअल रूपमा जुममा सम्पन्न बैठकले साे पुरस्कार वार्षिक रूपमा वितरण गर्ने फाेनिज यूकेकी अध्यक्ष गाेमा राना मगरले बताइन् । ‘नयाँ पत्रकार, लेखकहरूलाई प्राेत्साहन गर्न फाेनिज यूके पत्रकारिता पुरस्कार स्थापना गर्ने भएका हाैँ,’ उनले भनिन्, ‘हाम्रा सवालहरूलाई प्राथमिकता दिनेहरू पुरस्कृत गर्नेछौं ।’ पुरस्कार छनाेट समितिमार्फत् प्रत्येक वर्ष एक वा एकभन्दा बढी पत्रकारहरू पुरस्कृत हुनेछन् ।

Advertisement

फाेनिज यूकेकाे भर्चुअल बैठकमा सहभागी पत्रकारहरू ।

बैठकले, निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राईलाई सल्लाहकारमा चयन गरेको छ । त्यस्तै, सदाझैँ फाेनिज यूकेकाे जर्नल प्रकाशनलाई निरन्तरता दिने समेत निर्णय गरेको छ । यसकाे प्रकाशनका लागि सल्लाहकार रि.मेजर साेनाम शेर्पाकाे संयाेजकत्वमा समिति बनाइएको छ । जसको सहसंयाेजकहरूमा सल्लाहकार नरेश खपाङ्गी मगर र उपाध्यक्ष बम सूर्यवंशी रहेका छन् । बैठकले आगामी जून २६ मा पत्रकारहरूकाे क्षमता अभिवृद्धिका लागि पत्रकारिता तालिम समेत राख्ने भएको छ । तालिममा नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगरले तालिम दिनेछन् ।

फाेनिज अध्यक्ष गाेमा राना मगरकाे अध्यक्षतामा भएको बैठक सचिव लीला सेलिङ माबाेले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष सूर्यवंशीले स्वागत मन्तव्य राखेका थिए । बैठकमा सल्लाहकारहरू ज्ञाम गुरुङ, दूत पुन, विश्वासदीप तिगेला, विमला सेने, जमुना पुन, मिलन तमु, नगेन्द्र नेम्वाङ,सदस्य महा राई, विश्व मगर, लिम्बु पत्रकार सङ्घ यूके अध्यक्ष अमित थेवे लगायतको समेत उपस्थिति रहेको थियाे ।