नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

भाद्र १०, काठमाडाैं । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो ।
चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । मुआब्जावापत आयोजना प्रभावितलाई कूल रु दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ उपलब्ध गराइएको छ । आयोजना निर्माणका लागि सरकारले ४६५ घर तथा तीन हजार ९३३ कित्ता अर्थात् चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गरेको छ ।
साविकका जग्गाधनीलाई प्रतिरोपनीको रु छ लाखका दरले मुआब्जा रकम उपलब्ध गराएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । मुआब्जा पाउनेको नामावली २०७६ भदौ २७ गते सार्वजानिक गरिएको थियो । आयोजनाको विद्युत्गृह क्षेत्र नलागाड नगरपालिका–७ र बाँधस्थल बारेकोट गाउँपालिका–१, २, ५, ६, ७, ८ र ९ नं वडामा पर्छ । नलगाड वातावरणमैत्री, डुबान क्षेत्र कम रहेको, जलाशयको आयु दिगो हुने, खेतीयोग्य जमिनको न्यून क्षति हुने र भौगर्भिक अवस्था मजबुत भएको आयोजना मानिएको छ । आयोजनाका कारण एक हजार २०० घरधुरीका सात हजार स्थानीयवासी मात्र प्रभावित हुनेछन् ।
मुआब्जा वितरण सकिएपछि घरटहराको क्षतिपूर्ति वितरण हुनेछ । त्यसका लागि करिब रु ४० करोड कम्पनीको खातामा आइसकेको छ तर घरटहराका लागि उक्त रकम अपुग हुने देखिएको छ । “हाम्रो मूल्याङ्कनमा बाँधस्थलका करिब ५०० घरटहराका लागि रु एक अर्ब खर्च लाग्ने देखिएको छ”, इञ्जीनियर पदम थापाले भन्नुभयो । मुआब्जा वितरणलगायतका काम धमाधम भए पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नबन्दा निर्माणको काम केही समय धकेलिने उहाँको भनाइ छ ।



प्रतिकृया दिनुहोस्