May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

भाद्र १६, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वकाे अवसरमा शुभकामना सन्देश दिनुभएकाे छ ।  उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीकाे  पूजा-आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएकाे छ, ‘मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वको रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वहरूले समाज र समुदायका सदस्यहरू बिचको आपसी सम्बन्धलाई नवीकृत गर्नुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बिचमा परस्पर विश्‍वास‚ सद्‍भाव‚ सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने कुरामा विश्‍वस्त छु ।’

Advertisement

कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि उहाँले व्यक्त गर्नुभएकाे छ । साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउन राष्ट्रपतिले आग्रह  गर्नुभयाे ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आरधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ ।