April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
महामारी बिच श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

महामारी बिच श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

भदौ २०, कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ ।

यता वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् ।

Advertisement

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि आउने मागमा १० देखि २० प्रतिशतसम्म माग आउँछ कि भन्ने आशा हो । त्यो पनि पूर्ण रूपमा आश्वस्त हुने अवस्था छैन । श्रम गन्तव्य मुलुकको आर्थिक अवस्था कमजोर भएको छ । ”

अहिले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत, ओमानलगायतका देशबाट भन्दा पनि युरोपेली देश माल्टा, रोमानिया, पोल्यान्डजस्ता देशबाट माग आउने सम्भावा देखिएको र ती देशले थोरै अनि दक्ष श्रमिकको माग गरे पनि दक्ष श्रमिकले राम्रो आम्दानी गर्नसक्ने भएकाले हाम्रो ती देशमै श्रमिक पठाउन बढी जोड रहेको महानिर्देशक दाहालको भनाइ छ ।

ती देशका रोजगारदाता नेपालबाट दक्ष श्रमिक लैजाने विषयमा सकारात्मक रहेको तर ती देशले यति सङ्ख्याका श्रमिक लिन्छन् भन्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नुभयो ।