May 12, 2026, Tuesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज ठूलो एकादशी, तुलसी विवाह

आज ठूलो एकादशी, तुलसी विवाह

काठमाडौं – आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन छ। 

Advertisement

तुलसी विष्णुप्रिया भएकाले दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। यस वर्ष हिजो र आज दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले हिजै मनाएका छन्। वेदमा आधारित भई धार्मिक काम गर्नेले आज एकादशी व्रत गरी तुलसीको विशेष पूजा आराधना गर्दैछन्। 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्। 

कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ। ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ। 

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्ने गरेपनि यसपटक कोरोना संक्रमणको जोखिमका कारण प्रभावित भएका छन्।