April 20, 2024, Saturday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
म्याराडोना : बिर्सन नसकिने एक युग

म्याराडोना : बिर्सन नसकिने एक युग

काठमाडौं- जीवनमा पाएका र गुमाएका कुराको लेखाजोखा गर्दा सन्तुष्ट हुन सजिलो छैन। मध्यमा रहिरहन केही गर्ने चाह भएकालाई कठीन छ। कि त खुसीको उचाइ देखिन्छ, कि त बेखुसीको गहिराइ। उचाइ चुम्नेहरूलाई गहिराइको वास्तविकता जान्ने रहरले सताउँछ। गहिराइमा रहेकालाई अग्लो हुने चाहले पिरोल्छ। 

उचाइ र गहिराइको सीमा तय गर्ने र त्यसबाट स्वतन्त्र बन्न सक्ने कमै हुन्छन्। यस्तोमा एउटा नाम छ, जसले जीवनको छोटो अवधिमै उचाइको सीमा चुम्यो, र देख्यो भयानक गहिराइ पनि। ऊ अग्लिँदा मात्रै होइन गहिराइमै हुँदा पनि रमायो। त्यो ‘ग्यास च्याम्बर’ मा रहँदा र त्यसबाट निस्कँदा पनि विश्वले उच्चारण गरेको नाम हो, डिएगो म्याराडोना।

Advertisement

डिएगो म्याराडोनालाई न कुनै परिचयको खाँचो छ न त कुनै उपमाको। आफैमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समिटिएको स्वरुप। सम्झन चाहनेले स्नेहने सम्झिने अनि बिर्सन चाहने (सायद छैनन् कि) हरूले पनि भुलेर प्रेमले सम्झिने नाम हो, म्याराडोना। उनले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो रह्यो उनको सफलता। त्यति नै भयानक रह्यो उनको दुःखद गहिराइ।

डिएगो अर्मान्डो म्याराडोना फ्रान्को 
५८ वर्षअघि (सन् १९६०, अक्टोबर ३०) अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनेस एयर्सको लानुसमा जन्मेको बालकको नाम हो ‘डिएगो अर्मान्डो म्याराडोना फ्रान्को’। तीन दिदीपछि जन्मिएका उनी र उनीपछि जन्मिए दुई भाइ ह्युगो र राउल। परिवारको आर्थिक अवस्था कमजोर थियो। यसले गर्दा उनको लालनपालन विभिन्न शहरमा भयो, किनकी उनका बुबाआमा अर्जेन्टिनाका विभिन्न ठाउँमा गए, सँगै म्याराडोना र उनका दिदी र भाइहरू पनि। 

आठ वर्षको उमेर, खेल्दै थिए स्थानीय क्लब इस्ट्रला रोजामा। प्रतिभाको खोजीमा स्काउट टिम आयो। उनले काया बालकको भए पनि कला बयस्कको देखाए। अर्जेन्टिनोसको जुनियर टिमका लागि ट्रायल दिँदा उनको खेल जादु देखियो।

बालक म्याराडोनालाई बाहिर ल्याएका उनको युवाकालका प्रशिक्षकले त्यसबेलाको सम्झना गर्दै भनेका थिए- ‘जब म्याराडोना अर्जेन्टिनोस जुनियर टिमका लागि ट्रायल दिन आएका थिए, म साँच्चिकै अचम्मित भएको थिएँ। पत्याउनै सकिनँ मैले जे देखेँ। त्यो कला देखाउने मात्रै ८ वर्षको बालक थियो। हो ऊ उमेरले बालक थियो तर उसको फुटबल कला परिपक्व। नपत्याएर हामीले उसको परिचय पत्र मागेका थियौँ तर उसले साथमा ल्याएको थिएन। उसले हामीलाई सम्पूर्ण रुपले आफूमा समेट्यो।’

‘बोका जुनियर’मा सपना
उनी अर्जेन्टिनोस जुनियरका लागि छानिए। १२ वर्षको उमेरमा उनले अर्जेन्टिनाको पहिलो डिभिजनको खेलको हाफ टाइममा बलमा आफ्नो कला प्रस्तुत गरे। 

म्याराडोनाले आफ्नो खेल जीवनमा व्यावसायिक करिअरको सुरूवात १६ औँ जन्मदिनको १० दिनअघि (२० अक्टोबर १९७६) अर्जेन्टिनोस जुनियरबाट गरे। १६ नम्बरको जर्सी लगाएर मैदान छिरेका म्याराडोनाले प्रिमियरा डिभिजनमा आफ्नो पहिलो गोल १४ नोभेम्बर १९७६ मा माप्र्लाटेनसी क्लबविरुद्ध गरे। 

पाँच वर्ष (सन् १९७६ देखि १९८१ सम्म) अर्जेन्टिनोस जुनियरमा बिताएका उनले १ सय ६७ खेलमा १ सय १५ गोल गरेका थिए। त्यसपछि उनी ‘बोका जुनियर’मा अनुबन्धित भए। अरु क्लबले राम्रो रकमसहितको अफर गरे पनि म्याराडोना आफ्नो सपना पूरा गर्नका लागि बोका जुनियरतर्फ लागेका थिए। उनमा ‘बोका जुनियर’ क्लबबाट खेल्ने सपना लामो समयदेखि बाँचेको थियो।  

म्याराडोनाले आफ्नो सपनाको क्लबबाट पहिलो खेलमै दुई गोल गरे। सबै भनेजस्तो जहिले हुँदैन, बोका जुनियरमा उनले राम्रो गरिरहेका थिए तर क्लबका प्रशिक्षक सिल्भिओ मार्जोलिनीसँग उनको सम्बन्ध सहज बन्न सकेन। त्यसो हुँदाहुँदै पनि बोकाले लिगको उपाधि जित्यो। उनले अर्जेन्टिनाको घरेलु लिगमा जितेको यो नै पहिलो र अन्तिम उपाधि बन्यो। म्याराडोना नामले त्यसैबेला नै देखिने आकार लियो।

त्यसपछि लागे बार्सिलोना 
सन् १९८२ को जुनमा म्याराडोना त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ७६ लाख अमेरिकी डलरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भए। सन् १९८३ मा उनले बार्सिलोनाबाट प्रशिक्षक सेसर लुइस मेनोट्टीको अण्डरमा रियल मड्रिडलाई हराएर कोपा डेल रे तथा एथ्लेटिको बिल्बाओलाई हराएर स्पेनिस सुपर कपको उपाधि जिते। 

सन् १९८३ को जुन ३० मा उनले विश्व फुटबलमा सबैभन्दा भव्य क्लब प्रतिस्पर्धा एल क्लासिकोमा गोल गरे। उनी रियल मड्रिडका समर्थकले पनि सम्मान गर्ने पहिलो बार्सिलोनाका खेलाडी बने। 

यसका बाबजुद चोट, बिमारी र मैदान बाहिरको व्यवहारका कारण बार्सिलोनामा म्याराडोनाको समय निकै कठीन रह्यो। यहिँ उनले कोकिनसँगको संगत सुरू गरेका थिए। त्यसलाई बानी नै बनाए। फुटबलको लतसँगै कुलतको लतमा परे म्यारोडोना। बार्सिलोनाका निर्देशकसँगको लामो विवादपछि उनले बार्सिलोनासँगको यात्रा टुंग्याए। रोजे इटालियन सिरी ए क्लब नापोली।nepallive