May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

स्याङ्जा – स्याङ्जाका एघार पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् ।

साढे तीन वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट जिल्लाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडामा महिला निर्वाचित भएका हुन् । जिल्लाफेदीखोला– ५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी– ४ मा जीतकुमारी चपाई र हरिनाश– ७ मा केशमाया थापा विजयी हुनुभएको हो । उहाँहरु नेकपाबाट विजयी बन्नुभएको हो । उहाँहरुले संगाल्नुभएका अनुभव रोचक छन् । जनताले पाँच वर्षका लागि दिएको अवसरलाई सदुपयोग गर्दै केही गरेर देखाउनुपर्छ भन्ने दृढ सङ्कल्पका साथ तल्लीन बनिरहनुभएको छ महिला जनप्रतिनिधिहरु । फेदीखोला – ५ को वडाध्यक्ष गुरुङ वडाध्यक्ष बन्नु पूर्वगैरसरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । विसं २०६८ देखि गैरसरकारी संस्थामा काम गर्नुहुन्थ्यो ।

Advertisement

“निर्वाचनका बेला वडावासीसँग वडाका समस्या समाधान गर्नका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएकी थिएँ”, उहाँले भन्नुभयो, “मैले वडावासीमाझ लगेका मुद्दाप्रति विश्वास गर्नुभयो र मलाई जिम्मेवारी सुम्पनुभयो, मलाई प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने दृढ सङ्कल्पसहित अगाडि बढेकी छु, मलाई विश्वास छ पूरा गरेरै छाड्ने छु ।” वडामा विशेषगरी भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । “गाउँ कार्यपालिका तथा वडा कार्यालयमार्फत नयाँ नयाँ कार्यक्रम ल्याएर मात्रै नहुने रहेछ”, उहाँले भन्नुभयो, “समुदायस्तरबाट पनि चासो लिनु आवश्यक रहेछ, चासो लिएको खण्डमा वा दुवै पक्षको सामूहिक प्रयासबाट मात्रै सफलता हात लाग्ने रहेछन् ।”

महिला दिदीबहिनी आफ्नो मनमा लागेका कुरा भन्नै हिच्किचाउने गरेको अनुभव वडाध्यक्ष गुरुङसँग छ । वडावासीका कुरा सुन्न र महिलाका कुरा सुन्न आफू गाउँगाउँमै जाने गरेको बताउनुहुन्छ । “हाम्रो समाजमा अझै पनि पितृसतात्मक सोंच जीवितै छ”, उहाँले भन्नुभयो, “हामी महिला भएर नेतृत्व सम्हाल्दै गर्दा त अझै पनि हामीमाथि कहिलेकाहीँ महिला भएकै कारण समाजको दृष्टिमा निर्णायक भूमिका खेल्न सक्दैनन् कि भन्ने सङ्कीर्ण सोंच राखेको देख्न अनि सुन्न पाउँछौँ ।” घरायसी कामधन्दामै ब्यस्त रहने र पार्टीले दिएको जिम्मेवारीलाई सहजै स्वीकार गरी पार्टीका गतिविधि तथा सङ्गठन विस्तारमा लाग्ने अर्जुनचौपारी– ४ की जीतकुमारी चपाईलाई वडाध्यक्षमा उठ्छु जस्तो कहिल्यै लागेको थिएन । अखिल नेपाल महिला सङ्घका सक्रिय राजनीति गर्नुभएकी उहाँ जनप्रतिनिधि हुँदा बिहान साँझ हिँडडुल गर्न गाह्रो हुन्छ जस्तो लाग्ने गरेको बताउनुहुन्छ । आफू राजनीतिमा आउनुको पछाडि घरपरिवारको पूर्ण साथ र सहयोग रहेको वडाध्यक्ष उहाँले बताउनुभयो । “महिलाले नेतृत्व गर्दै गर्दा अली बढी कानूनी प्रक्रियामा सक्षम हुनुपर्छ जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “समाजमा अझै पनि पितृसतात्मक सोंच हाबी भएको देख्छु, जुन संस्कारले हामीले गर्ने निर्णय प्रक्रियामा पेल्न खोज्ने, काम गर्ने शिलशिलामा अप्ठ्यारो पार्न गर्न खोज्ने अनुभव मैले संगालेकी छु ।” उहाँले निर्वाचनका बेला खानेपानीको समस्या रहेको रापाकोटको ठूलो दलित बस्तीमा खानेपानीको धारा ल्याउँछु र शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गर्नुभयो ।

उक्त ठाउँमा अहिले रु एक करोड १४ लाखको लागतमा २५० दलित बस्तीको घरधुरीमा ‘एक घर, एक धारा’ को योजनाअन्तर्गत खानेपानी वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले धार्मिक एवं पर्यटकीय दृष्टिले महत्व राख्ने एकानन्द गुफामा मोटरबाटो निर्माण गरिएको, वडाभित्र रहेका उर्वरायुक्त जमीनमा सिँचाइको सुविधा पु¥याउन कुलो निर्माण तथा पुराना कुलाको मर्मतसम्भार गरिएको, खोला तथा खोल्सीमा पुलपुलेसा निर्माण गरी आवतजावतमा सहजता ल्याइएको बताउनुभयो । वडाभित्र अझै पनि कतिपय घरधुरीमा आर्थिक अभावकै कारण कच्ची शौचालय रहेका वा शौचालय नै नभएका घरमा पक्की शौचालय वडाले निर्माण गरिदिएको छ । “भैँसीको पाडापाडी संरक्षण नगरेकै कारण अहिले भैँसीको मूल्यवृद्धि भएको छ”, उहाँले भन्नुभयो, “हामीले पाडापाडी संरक्षणका लागि विशेष कार्यक्रम ल्याएका छौँ जसले पाडापाडी संरक्षण गर्नमा सघाउ पुग्ने र भैँसीको अहिले आकासिएको मूल्य घटेर जानेछ ।” वडाले महिला, बालबालिकाका क्षेत्रमा पनि विशेष कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष चपाईले बताउनुभयो । महिला तथा बालबालिकाको मनोसामाजिक क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा कामको अनुभव संगाल्नुभएको छ केशमाया थापाले । राजनीति गर्दै नगरेको तर सामाजिक कार्यमा सक्रिय भएकै कारण वडाध्यक्षको टिकट पाएपछि राजनीतिमा प्रवेश गर्नुभएकी उहाँले आफूलाई सस्था स्थानीयसँग चिनजान हुन र सामाजिक काममा सक्रिय हुने अवसर मिलेको बताउनुहुन्छ । आफ्नो बुबाले नेकपामा रहेर राजनीति गर्ने भएकाले पनि स्वभाविकै मलाई पनि राजनीतिमा लाग्न अभिप्रेरित गर्नुभयो र जनप्रतिनिधिको जिम्मेवारीसमेत प्राप्त भएको उहाँको भनाइ छ । “हालको हरिनाश साविकको क्याक्मी गाविस विकट रहेकै कारण पनि केही गाउँमा विद्युत् पुगेको थिएन, यहाँका जनता अँध्यारोमा बस्न बाध्य थिए”, उहाँले भन्नुभयो, “मैले निर्वाचनका बेला यहाँका स्थानीयसँग गाउँलाई उज्यालो बनाउनेसहितका गाउँका जल्दोबल्दो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएँ, जनताले विश्वास मान्नुभयो र विजयी बनाउनुभयो ।”

निर्वाचनका समयमा जनतामाझ विद्युतीकरण गर्ने प्रतिबद्धता आफूले पूरा गरेको र अन्य समस्याकाबारेमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो । वडाले विशेषगरी विद्युतीकरण, सडक, कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको छ । “यहाँका युवालाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न सकियोस् भनेर हामीले कृषि तथा पशुपालन कार्यक्रमका लागि बजेट धेरै विनियोजन गरेका छौं”, वडाध्यक्ष थापाले भन्नुभयो, “कृषकलाई प्रोत्साहन दिन, बीउबिजन खरीद तथा यान्त्रिक उपकरणहरु उपलब्ध गराउँदै आएका छौं र उत्पादित वस्तुको बजारीकरणका लागिसमेत समन्वयकारी भूमिका खेलेका छौं ।”

स्थानीयवासीसँगै बसेर उहाँहरुका समस्या समाधानमा लाग्दालाग्दै छिटै समय बितेको बताउने उहाँले फेरि पनि यसरी नै वडावासीको सेवामा लाग्ने इच्छा रहेको जानकारीदिनुभयोे । जिल्लामा हाल तीन वडाध्यक्षसहित जिल्ला समन्वय समिति र पुतलीबजार नगरपालिकाको प्रमुखमा महिलाको नेतृत्व रहेको छ ।