April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायबः कसले खायो?

निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायबः कसले खायो?

लण्डन – गैर-आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को गएको चुनावमा चार करोड रुपैयाँ घोटाला भएको बारे छानवीन हुँदै गर्दा प्रत्येक आर्थिक घटनाक्रमहरुलाई छुट्टाछुट्टै रुपमा केलाउन थालिएको छ । सिलौटी टाइम्सलाई हालै मात्रै प्राप्त सूचना अनुसार गएको चुनावमा उम्मेद्वार दर्ता शुल्क भनी उठाइएको ७१ हजार ४ सय पाउण्डमध्येबाट सत्ताइस सय पाउण्ड गायब भएको देखिएको छ जुन नेपाली मुद्रामा परिवर्तन गर्दा चार लाख रुपैयाँ भन्दा बढी हुन आउँछ । 

गएको २०१९ को चुनावमा राष्ट्रिय समन्वय परिषद (एनआरएनए यूके, केन्द्र) का लागि मात्र ४० हजार २ सय ५० पाउण्ड उठेको थियो । अध्यक्ष पदमा दुई जनाको आवेदन परेबाट प्रत्येकलाई १५ सय पाउण्डको दरले ३ हजार पाउण्ड र उपाध्यक्ष पदमा १ हजार १ सय पाउण्डको दरले ११ जना आवदेकबाट १२ हजार १ सय पाउण्ड उठेको थियो । त्यस्तै महासचिवका दुई प्रत्यासीबाट एघार सय एघार सयका दरले २ हजार २ सय पाउण्ड र सचिव पदका लागि प्रत्येकलाई ८ सय ५० पाउण्डको दरले सात जना निवेदकबाट जम्मा ५ हजार ९ सय ५० पाउण्ड उठेको थियो । 

Advertisement

८ सय ५० पाउण्ड शुल्क लाग्ने अन्य पदहरुमा कोषाध्यक्षमा दुई जना, महिला संयोजकमा दुई जना र युवा संयोजकमा तीन जनाले उम्मेद्वारी दर्ता गरेका थिए, जसबाट अर्को ५ हजार ९ सय ५० पाउण्ड उठेको थियो । कार्यकारी सदस्यका लागि भने २१ जना उम्मेद्वारहरुबाट ४ सय ५० पाउण्डको दरले जम्मा ९ हजार ४ सय पाउण्ड जम्मा भएको थियो । 

एनआरएनए यूकेबाट सात जना आइसीसी सदस्य पदका लागि जम्मा १४ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । उनीहरु प्रत्येकबाट १५ सयको दरले २१ हजार पाउण्ड जम्मा भएको थियो । 

त्यस्तै इङल्याण्ड राज्य समितिमा बिभिन्न पदहरुका लागि जम्मा १६ जनाले उम्मेद्वारी दिंदा ३ हजार २ सय ५० संकलन भएको थियो भने स्कटल्याण्ड राज्य समितिका पदहरुका लागि ३ हजार १ सय पाउण्ड जम्मा भएको थियो । उता उत्तरी आयरल्याण्ड राज्य परिषदका पद प्रत्यासीहरुबाट १९ सय ५० र वेल्स राज्य परिषदका पद प्रत्यासीहरुबाट १८ सय ५० पाउण्ड असुल गरिएको थियो । 

यसरी हेर्दा कुल उम्मेद्वारहरुबाट जम्मा ७१ हजार ४ सय पाउण्ड जम्मा भए पनि निर्वाचन समितिले ६८ हजार ७ सय पाउण्ड मात्रै देखाएर २ हजार ७ सय पाउण्ड हिसाव गायव छ । यस बिषयमा सिलौटी टाइम्सले निर्वाचन समितिका संयोजक पूर्व मेजर डमर घलेलाई सम्पर्क गर्न खोजे पनि उनी हाल नेपालमा भएका कारण सम्पर्क हुन नसकेपछि समितिका सदस्य सचिव नरेश खपांगीलाई यस बारेमा जानकारी गराउन सिलौटी टाइम्सले आग्रह गरेको थियो । तर उनी पनि यस विषयमा मौन छन् । 

फोन सम्पर्क हुन नसकेपछि पूर्व निर्वाचन समितिका सदस्य सचिवलाई इमेल सम्पर्क गरिएको थियो तर त्यसको पनि जवाफ आएन ।