April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो ।

ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि घोपाटार पुलसम्म पुग्ने सडक निर्माण गरिएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो । “घोपाटारसम्म पु¥याइएको सडकबाट ओर्लिएपछि पुरानो झोलुङ्गेपुलबाट दूधकोशी तरेर आ–आफ्नो गन्तव्यतर्फ यात्रा गर्न सकिने वातावरण बनेको छ”, उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “ओखलढुङ्गातर्फ दूधकोशीको किनारै किनार सोलु दूधकुण्ड जोड्ने सडक बनिसकेको अवस्थामा खोटाङतर्फबाट बडहरे–घोपाटार सडक विस्तार गरिएको हो ।” करीब रु नौ लाखको तेल खरीद गरेर नगरपालिकाकै मेशिन प्रयोग गरेर सडक निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

Advertisement

लामो समयदेखि झोलुङ्गे पुल सञ्चालनमा रहेको घोपाटारमा पक्की पुल निर्माण गर्न सके त्रिधार्मिकस्थल हलेसीबाट ओखलढुङ्गा, सोलुखुम्बु पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने बताइएको छ । ओखलढुङ्गामा रहेको सामुदायिक मिसन अस्पताल पुग्न हाल हलेसी–जयराम–हिलेपानी–ओखलढुङ्गा सडक प्रयोग भइरहेको अवस्थामा वडा कार्यालयले घोपाटारको छोटो बाटो खोल्ने प्रयत्न गरेको जनाइएको छ । घोपाटारमा मोटरेबल पुल बनेमा ओखलढुङ्गाबाट दूधकोशी किनार हुँदै घोपाटारबाट नदी तरेर हलेसी पुग्ने बाटो खुल्नेछ ।

बडहरे–घोपाटार सडक भविष्यमा हलेसी तुवाचुङ नगरपालिकाको तल्लो तटीय क्षेत्रमा निर्माण गरिने सडकसँग समेत जोडिने नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश भाग दूधकोशी र सुनकोशीले छेकिएको नगरपालिकाको तल्लो तटीय क्षेत्रमा नगर परिक्रमा गर्ने सडक निर्माणको योजना बनिरहेको जनाइएको छ । निर्माण सम्पन्न गरिएको सडकमा नियमित यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीसँग समन्वसमेत भइरहेको जनाइएको छ ।

भर्खरै निर्माण सम्पन्न भएको उक्त सडकखण्डमा यातायात सञ्चालन भएपछि दुई जिल्लाबीचको आवतजावतमा सहज हुने अपेक्षा गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।