June 11, 2026, Thursday
२०८३ जेष्ठ २८, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

स्थानीयले नदी र तालकाे संरक्षण गर्न थालेपछि जलचरको संख्या बढ्यो

दाङ – स्थानीयले नदी तथा तालकाे संरक्षण गर्न थालेपछि दाङकाे देउखुरीमा जलचरको संख्या वृद्धि भएकाे छ।

पानीमा पाइने जीव नै लोप हुन थालेपछि स्थानीय नागरिकले तीन वर्षअघिदेखि समूह नै निर्माण गरेर नदी तथा ताल संरक्षणमा जुटेका हुन् ।

Advertisement

देउखुरीको राप्ती लगायतका नदीहरुमा जीवहरु मृत भेटिन थालेपछि अवैध मानवीय क्रियाकलाप रोक्न सक्रिय भएर लागिपरेकाे स्थानीयले बताएका छन् । सांस्कृतिक कार्यमा माछा अनिवार्य हुने थारु समुदायका व्यक्तिहरु समेत माछा संरक्षणमा जुटेका छन् । उनीहरुलाई अन्य समुदायले पनि साथ दिइरहेका छन् ।

देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष​ नुमानन्द सुवेदीले जलीय जैविक विविधता ऐन नै निर्माण गरेर २०७५ सालदेखि संरक्षणमा जुटेकाे बताउनु हुन्छ ।

जथाभाबी माछा मार्न रोक लगाइएको छोटो समयमै २२ प्रकारका माछा पाइन थालेको स्थानीयहरुले बताएका छन् । अहिले खोला, ताल तथा नदीमा पाइने माछाको प्रजाति प्रदर्शनका लागि राप्ती गाउँपालिकाको वडा नम्बर ५ मा जलीय जैविक विविधता सङ्ग्रहालय बनाउन लागिएकाे छ । यहाँ राखिएका जलप्राणी स्थानीय नदी तथा तालबाट ल्याइएकाे राप्ती गाउँपालिकाले जनाएको छ ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको पहलमा सुरु भएको जलीय जैविक विविधता संरक्षण अभियान अन्तर्गत ९ ओटा समूह निर्माण भएका छन् ।