March 27, 2024, Wednesday
२०८० चैत्र १४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

लन्डन । ५५ वर्षपछि महत्वपूर्ण ट्रफी जित्ने बेलायतको सपनालाई निराश बनाउँदै इटालीले पेनाल्टी सुटआउटमार्फत इटालीले यूरो कप २०२० को उपाधि जितेको छ । निर्धारित समयको खेल बराबरीमा टुङ्गिएपछि भएको पेनाल्टीमा इङ्ग्ल्याण्डलाई ३–२ ले पाखा लाउँदै इटालीले घरेलु टिमलाई पराजित गरेको हो ।

आइतबार खचाखच भरिएको वेम्बली रंगशालमा भएको फाइनल खेलको दोस्रो मिनेटमै लुइक साको गोलमार्फत इङ्ग्ल्याण्डले अग्रता लिएको थियो । सन् १९६६ मा विश्वकप जितेयता कुनैपनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकिरहेको टिमले दोस्रो हाफको ६७ औँ मिनेटमा इटालियन खेलाडी लियोनार्दो बोनुच्चीले गरेपछि आफ्नो लय गुमाउन थालेको थियो । खेलभर ६७ प्रतिशत बल कब्जा गरेको इटालीले पटक पटक विपक्षीको पोष्टमा आक्रमण बुनिरह्यो ।

Advertisement

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटबाट पनि नतिजा ननिस्किएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । इङ्ग्ल्याण्ड प्रशिक्षक ग्यारेथ साउथ गेटले पेनाल्टी सुट आउटका लागि तयार पारेका खेलाडीहरूले सही प्रहार गर्न नसक्दा पराजय बेहोर्नु परेको थियो । टिमबाट कप्तान ह्यारी केन र ह्यारी म्याग्वेयरले मात्रै गोल गर्न सफल भए । इटालीका गोल रक्षक जियालुइगी डोनारुम्माले जेडोन सान्चो र बुकायो साकाका प्रहारलाई रोकेपछि इटालीको जितको बाटो खुलेको थियो । यसअघि मारकस रासफोर्डको प्रहार पनि खेर गएको थियो । इटालीका पनि दुई खेलाडीहरू आन्द्र्रे बेलोटी र जोर्गिन्होका प्रहारहरू गोलकिपर पिकफोर्डले बचाएका थिए ।

इटालीका बरार्डी, बोनुच्ची र बर्नाडेस्चीले गोल गरेपछि सन् १९६८ पछि यूरो कप उचाल्यो । रोबर्टो मानिचिनीको प्रशिक्षणमा उत्रेको टोली ३४ खेलयता अपराजित छन् । यस प्रतियोगितामा इटालीले बेल्जियम र स्पेनजस्ता बलिया दाबेदारहरूलाई पछि पारेर फा्रइनलको यात्रा तय गरेको थियो । इटालीले हालसम्म चार विश्वकप र दुई यूरो कप जितिसकेको छ ।