‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ
विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् ।
जसपा, लिम्बुवान राष्ट्रिय समितिले शनिबार आयोजना गरेको ‘नेपालको समसामयिक अवस्था र जसपाको आगामी बाटो’ विषयक लिम्बुवान भर्चुअल संवादको ३३ औँ श्रङ्खलामा बोल्दै नेता चेम्जोङले पहिचान, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताको राजनीतिक उपलब्धीको बचावट गर्न गठबन्धन चुनावसम्म जानुपर्ने बताए । ‘संविधानको रक्षा गर्न र राजनीतिक उपलब्धी जोगाउन हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ । दलहरूबीच राजनीतिक दर्शन फरकफरक भएपनि संविधानको रक्षा गर्न र अहिलेसम्म प्राप्त भएका राजनीतिक उपलब्धीहरूको रक्षा गर्न गठबन्धन बनाएका हौँ । यसकारण, चुनावसम्म सँगसँगै जानुपर्छ,’ पूर्व शान्ति तथा पुनःनिर्माणमन्त्री समेत रहेका चेम्जोङले भने ।
त्यस्तै, उनले एक नम्बर प्रदेशको नामकरण गर्दा ऐतिहासिक भूगोल र आन्दोलनहरूको सम्मिश्रणलाई ख्याल गर्नुपर्ने बताए पनि पार्टीको धारणा दश जोड एक प्रदेश स्थापना भएका कारण अलग अलग प्रदेशहरू स्थापना गर्नुपर्ने जनाए । उनले प्रदेश एकमा लिम्बुवान, किरात, शेर्पालुङ र मधेशका भूभागहरू रहेका कारण जेसुकै नाम दिएपनि पूर्ण पहिचान स्थापना हुन नसक्ने बताए । ‘एक नम्बर प्रदेलाई जेसुकै नाम दिएपनि प्रदेश एकले पूर्ण पहिचान दिन सक्दैन । चार प्रदेशहरू छन् । केही प्रदेशका पूर्ण भूगोल छन् । केहीका आंशिक छन् । तर, मुख्य र पूर्ण भूभागहरू भएका कारण हाललाई लिम्बुवान किरात प्रदेशलाई अघि बढाए उत्तम हुने थियो । सात प्रदेश नमान्ने भनिसकेपछि हामीले एक नम्बरलाई आंशिक पहिचानका रुपमा मात्रै उपयोग गर्दा ठीक हुनेछ । अन्तिम उपाय भनेको अलग अलग प्रदेश निर्माण नै हो,’ नेता चेम्जोङले बताए ।
यसैगरी, विवादित एमसीसी परियोजनाका बारे पार्टीभित्र पनि दुई धार रहेको भन्दै थप छलफल गरेर उपयुक्त निर्णय गरिनुपर्ने भन्दै घुमाउरो जवाफ दिए । पार्टीमा कार्यकारी अध्यक्ष पदका बारेमा देखा परेको विवाद उच्चस्तरका नेताहरू मिलेर सुल्झाउनुपर्ने उल्लेख गरे ।
उनले मधेशी जनताले अधिकारप्राप्तिका लागि लडेर मधेश प्रदेश स्थापना गर्न सफल भएको बताउँदै सीमाका बारे प्राविधिक रूपमा मिलाउन बाँकी रहेको जनाए । ‘दुई नम्बर प्रदेशका जनाताले अधिकार र पहिचानका लागि लडे । मधेश प्रदेश प्राप्त गरे । अब राजनीतिक स्वामित्व उनीहरूमा स्थानान्तरण भएको छ,’ उनले भने, ‘मधेश प्रदे्श स्थापना भएपछि अब दश जोड एक प्रदेश बनाउने बाटो खुलेको छ । यसका लागि सबैभन्दा उत्तम बाटो भनेको संवैधानिक र राजनीतिक बाटो हो । जसपाले नेपाली समाजको आवश्यकताअनुसार पहिचानसहितको संघीयता सुनिश्चित गर्नेछ । समृद्धिको पहिलो शर्त राजनीतिक समस्याको समाधान हो ।’
यसअघि पार्टीको फुङलिङ नगर समिति अध्यक्ष प्रदीप मादेनले पार्टीको गतिविधि र राजनीतिक अवरोधहरूबारे आफ्नो धारणा राखेका थिए ।
जसपा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष एवम् केन्दीय सदस्य खगेन्द्र माखिमको सभापतित्वमा भएको संवाद कार्यक्रमलाई मुख्य सचिव केदार धिमालले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस्