April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

काठमाडौँ । स्थानीय सरकारको निर्वाचन नजिकिँदै जाँदा भाषाको प्रयोग र संरक्षणबारे पनि चिन्तन सुरु भएको छ । मातृभाषाको सवालमा प्रतिबद्ध भएका उम्मेदवारहरू आगामी स्थानीय निर्वाचनमार्फत् आउनुपर्ने मातृभाषी अभियन्ताहरूले आफ्नो धारणा अघि सारेका छन् ।

भाषिक मानव अधिकार समाज नेपालले बुधबार भर्चुअल रूपमा आयोजना गरेको स्थानीय निर्वाचन सन्दर्भमा मातृभाषाको सवाल विषयक संवाद कार्यक्रकममा बोल्दै मातृभाषाका विज्ञ एवम् अभियन्ताहरूले स्थानीय तहको सरकारले भाषाको प्रयोग, संरक्षण र प्रचारमा पर्याप्त भूमिका खेल्नुपर्ने बताए । मातृभामा शिक्षाका विज्ञ डा. अमृत योञ्जनले स्थानीय निकायमा पालिका भाषा ऐन र पालिका प्रज्ञाप्रतिष्ठान ऐन बनाएर गठन गर्नुपर्ने सुझाए । ‘स्थानीय सरकारको अधिकारको भित्र रहने गरी नेपालको संविधान ०७२ को अनुसूची ८ को बुँदा २२ ले भाषा, सँस्कृति र ललितकलाको संरक्षण र सम्बद्र्धनबारे केही बोलेको छ,’ डा. योञ्जनले भने, ‘यसलाई टेकेर गाउँपालिका र नगरपालिकामा भाषा ऐन र प्रज्ञाप्रतिष्ठन ऐन बनाएर गठन गरिनुपर्छ ।’ नेपालको संविधान ०७२ काृ अनुसूची ८ को बुँदा ८ ले आधारभूत तथा माध्यमिक शिक्षामा भाषामा शिक्षाको प्रावधान उठाएको छ । त्यस्तै, बुँदा २२ मा भाषा, सँस्कृति र ललितकलाको संरक्षण र संबद्र्धनबारे प्रबन्ध गरिएको छ ।

Advertisement

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारामणि राईले संविधानमा भाषाको संरक्षणको बारे पर्याप्त व्यवस्था नभएपनि अहिले भएकै धारा र स्थानीय स्वायत्त निकाय सञ्चालनसम्बन्धी ऐन २०७४ लाई टेकेर भएपनि कामहरू गर्न सकिने बताए । ‘स्थानीय निर्वाचनमा भाषा र शिक्षाबारे बुझेका उम्मेदवारहरू आउनुपर्छ । तर, दलीय पूर्वाग्रहका कारण यो के कति सम्भव छ हेर्नुपर्छ’ उनले भने । त्यस्तै, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ एवम् अमर तुम्याहाङले भाषिक संस्था र भाषा बोल्ने सामाजिक संस्थाहरूमार्फत् मातृभाषाको सवाल उठाउन सकिने जनाए । उनले स्थानीय सरकारको कामकाजी भाषादेखि लिएर माध्यमिक तहसम्म स्थानीय भाषामा शिक्षाका लागि अभियन्ताहरू जुर्मुराउनुपर्ने बताए । उनले साहित्यिक गतिविधिका लागि प्रज्ञाप्रतिष्ठानहरू निर्माण गर्न सकिने उल्लेख गरे ।

संवादमा भाषाका सहभागीहरू ।

यसैगरी, केवरत भाषाका अभियन्ता चतुर्भुज केवरतले दलीय घोषणापत्रको भन्दा माथि उठेर स्थानीय निर्वाचनबाट आएका विजयी उम्मेदवारहरूले भाषाको सवालमा काम गर्नुपर्ने धारणा राखे । त्यस्तै, अर्की हंस कुमारीले उम्मेदवारहरूलाई स्थानीय चुनावअघि भेटेर प्रतिबद्ध बनाउनुपर्ने बताइन् ।

डा. विष्णु कुमार सिञ्जाली र निसु थिङले सञ्चालन गरेको कार्यक्रममा डा. युवराज लिम्बु, सञ्चारकर्मी गणेश वाम्बुले राई , दिलेन्द्र कुरुम्वाङ, वासमति राना, दीपक तुलाधर, रविन्द्र थिङ, नेमाजाेम तामाङ, अयाेध्या श्रीवास्तव लगायतले आफ्नो धारणा राखेका थिए । स्थानीय तहको निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ । राष्ट्रिय निर्वाचन आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहमा चुनाव हुँदैछ । पछिल्लो पटक २०७४ मा चुनाव भएको थियो । स्थानीय सरकारको अवधि पाँच वर्ष रहने संवैधानिक प्रावधान छ ।