April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हर्क सम्पाङ र अभियानलाई बधाई !!!

हर्क सम्पाङ र अभियानलाई बधाई !!!

सबैलाई चकित बनाएको छ अहिले धरानको निर्वाचन परिणामले । धेरैले हर्क सम्पाङले राम्रो मत ल्याउँछ तर लिड नै गर्छ भनेर कमैले मात्र सोचेका थिए। हर्क साम्पाङले ठुलो दलहरुको मत काट्छ र कसैको जीतमा निर्णायक भुमिका निर्वाह गर्छ भन्ने ठानेका थिए तर अहिले मतको रफ्तार हेर्दा जित्ने सम्भावाना देखिएको छ । त्यस कुराको छिनोफानो अब केहि समयमा नै हुन्छ ।तर एक स्वतन्त्र व्यक्तिले कसरी बर्षौ देखि समाज जरा गाडेका दलहरुलाई टक्कर दिन सक्यो त्यो छलफलको विषय अवश्य हुन्छ ।

मेरो विचारमा त्यसलाई दुई पक्षले हेर्नु पर्दछ । एक राजनीतिक दलहरुले २०४८ साल पछाडी खेलेको भुमिका र अर्को हर्क साम्पाङ राईले उठाएका मुद्दा र निरन्तरता । धरानको स्थानिय निकायको निर्वाचनमा पहिलो ध्यान बहादुर राई र दोस्रो मनोज मेन्याङबो काललाई राम्रै मान्नु पर्दछ । धरानमा विकासको पुर्वाधार निर्माणमा ती दुई काल खण्डले महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो । तर त्यस पछिको अवस्थामा स्थानिय निकायको निर्वाचन नहुँदा सम्म कर्मचारीहरुको नेतृत्व भए पनि राजनीतिक दलहरुको संयन्त्र हुँदा दलहरुले नत कुनै देखिने काम गरे नत कुनै सम्भावना नै देखाए बरु योजनाहरुमा दलगत स्वार्थ देखाउँदै झगडा गरे । त्यसपछिको पछिल्लो निर्वाचन पछि आएका नगरपालिकाका नेतृत्वले पनि खानेपानी, बसपार्क, एयरपोर्ट , को योजना कार्यन्वयन गर्न सकेन ।त्यसरी नै विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्यालाई पनि सम्बोधन गर्न सकेन । तत्कालिन मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयरको अवस्था धरानमा झनै राजनीतिकरण भए र विकासका कामहरु अगाडि बढ्न सकेन ।त्यसरी नै जनताले विकल्पको रुपमा कांग्रेसका तिलक राईलाई मत दिएका थिए तर पनि त्यस पछिको अवस्थामा कुनै तात्विक अन्तर आउन सकेन । यी सबैको प्रतिकृया स्वरुप जनताले मतदान गरेका हुन् । त्यसरी नै एमालेले ढुङ्गा उठाउँदा पनि जित्छ भन्ने ठानेका थिए , काग्रेसले पनि गठबन्धनको साथ र एमाले फुटेको अवस्थामा जो उठाए पनि जितिन्छ भन्ने ठानेका थिए । त्यसै कारणले मेयरको उम्मेदवारहरु हेर्दा आज सम्म कै सबै भन्दा कनिष्ट प्रतिष्पर्धीहरु हुन् भन्दा अत्युत्ति नहोला (२०४८ साल पछि मेयरको उम्मेदवारहरु सम्झनु होस्)। त्यसैले जनताले नपत्याएको देखिन्छ ।

Advertisement

लेखक विजय लुम्फुङ्वा

हर्क साम्पाङ राईले खानेपानीको मुद्दा, विपी प्रतिष्ठान सुधारका सवाल, सर्दु उत्खननका सवालहरु आवाज उठाए, सडकमा आए, आईनै रहे । सबै भन्दा ठुलो एक्लै भए पनि निरन्तरता दिए । यस भन्दा अधिको उपनिर्वाचन पनि भाग लिएका थिए, त्यतिबेला उसलाई कसैले चिनेनन् । तर त्यस पछि पनि उनले जनतामा मुद्दाहरुलाई उठाई नै रहे , जनता माझ भिजी नै रहे । त्यसमा सामाजिक संजाले अहंम महत्व खेल्यो । अन्य युवाहरु पनि हर्क सम्पाङको अभियानमा सामेल भए । त्यसैले हर्क साम्पाङ दलहरुले सृजना गरेको भद्रगोल राजनीतिक अवस्थामा जनताले विश्वास गरेको पात्र हो । उनले गरेका अभियानका कृयाकलापको प्रतिफल स्वरुप यो नतिजा हो ।

त्यसैले अब राजनीतिक दलहरु आफु सच्चिनु पर्छ । जनताका आधारभुत कुराहरुलाई स्थानिय निकायको योजनामा प्राथमिकता दिनु पर्दछ ।विकासको काममा राजनीतिक दाउपेच होईन, जनतालाई प्राथमिकता दिनु पर्दछ । उम्मेदवार माथीबाट होईन, कार्यकर्ता र जनताबाट छान्नु पर्छ । बुडा नेताहरु आराम गरुन् , टेस्टेडहरु अब बसुन् ।अन्तमा दलहरुले नै हो देश चलाउने । यसबाट पाठ सिकुन् दलहरुले । अनि बधाई छ हर्क सम्पाङ र अभियानलाई ।

– विजय लुम्फुङ्वा