April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यसरी बित्याे मन्त्री पाैडेलकाे बेलायती बसाइँ

यसरी बित्याे मन्त्री पाैडेलकाे बेलायती बसाइँ

लन्डन । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलकाे बेलायतकाे भ्रमण व्यस्त तालिकाबीच सम्पन्न भएको छ । एक अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागितासँगसँगै आधा दर्जन बढी संघसंस्थाकाे भेटघाटमा व्यस्त भएर मन्त्री पाैडेल शुक्रबार स्वदेश फिर्दैछन् ।

मन्त्री पाैडेल शैक्षिक विश्व मञ्चमा सहभागी हुन मन्त्री पाैडेल शनिबार राति लन्डन उत्रिएका थिए । मे २२ देखि सुरु विश्वका करिब १०० मुलुकका शिक्षामन्त्रीहरू, गैससंका पदाधिकारीहरू र शिक्षाविद्हरू सहभागी भएको लन्डनस् एजुकेसन वर्ल्ड फाेरम(ईडब्लुफ) चार दिनको थियाे ।

Advertisement

मन्त्री पाैडेललाई हिथ्राे अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका प्रवक्ता राेशन खनालले लगायत नेकपा माओवादी केन्द्रकाे प्रवास सङ्गठन नेपाली जनप्रगतिशील मञ्च यूकेका पदाधिकारीहरूले स्वागत गरेका थिए । उनी पार्टीका केन्द्रीय नेता पनि हुन् । उनी आइतबारदेखि मंगलबारसम्म सम्मेलनमा सहभागी भएका थिए ।

बीसीसीले आयाेजना गरेको कार्यक्रममा बाेल्दै मन्त्री पाैडेल ।

त्यस्तै, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले नेपालका मन्त्री पौडेललाई स्वागत गरेको छ । गत २५ मे बुधबार बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा मन्त्री पौडेललाई बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले स्वागत गरेका थिए । उनीसँगै उनका पीए राजेन पौडेल र नेपाली जन प्रगतिशिल मन्च यूकेका मानबहादुर गुरुङले बिसीसी यूकेको अल्डरसटस्थित गुम्बा भ्रमण गरे । बिसीसी यूकेका धर्म गुरु खेन्पो कुन्ख्याप, लोपेन नोर्बु, कार्यसमिति, आमा समूह, सल्लाहकारलगायत भक्तजनहरुको विशेष उपस्थितिमा कार्यक्रम स्वागत भएको थियो । 

भीसी कुलवीर थापा मगरको शालिकमा माल्यार्पण कार्यक्रमपछि ।
गेसाेकाे अन्तरक्रियामा ।

त्यसपछि, उनले अल्डरसट टाउनमै रहेको भीसी कुलवीर थापा मगरकाे शालिकछेउमा पुगेर माल्यार्पण समेत गरेका थिए । त्यहाँपछि, उनी नेपाल भूतपूर्व गाेरखा सैनिक संघ(गेसाे)ले आयाेजना गरेको अन्तरक्रियामा पुगे । त्यहाँ उनले भूपू सैनिकहरूकाे समस्या, माग र आन्दोलनबारे जानकारी लिए । मन्त्री पाैडेलले भूपूहरूकाे न्यायिक आन्दोलनबारे आफूले नेपाल सरकारबाट उचित भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको गेसाेका धर्म तामाङले बताए । मन्त्री पाैडेलले त्यहीँ दिउँसोको खाना लिए ।

ग्लाेबल आईएमई बैंकको कार्यालयमा ।

उनी त्यसपछि दिउँसो २ बजे बाग्लुङ समाजको कार्यक्रममा हान्निए । समाजका अध्यक्ष धन बुढाथोकीकाे अध्यक्षतामा भएको कार्यक्रममा उनले जिल्लाकाे गतिविधिहरू सुने । पाैडेल बाग्लुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन् । त्यसपछि, उनी व्यावसायिक भेटभाटमा पनि व्यस्त भए । ग्लाेबल बैंक आईएमईकाे कार्यालयमा पुगेर बैंकका अधिकृत र कर्मचारीहरूलाई भेटे । दिउँसो ४ बजे पार्टीको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च यूकेको कार्यक्रममा सहभागी भएर पार्टीका नेता कार्यकर्ताहरूसँग संवाद गरे । मञ्चले नेता पाैडेललाई सुलभ र गुणस्तरीय शिक्षा, राेजगारी र विदेश पलायन राेक्न लगायतका बारे ८ बुँदे सुझावहरू पेश गरेको थियाे ।

जनप्रगतिशील मञ्च यूकेकाे कार्यक्रममा ।

बेलुकी ६ बजे पाैडेल गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेकाे कार्यालय पुगेर अन्तरक्रियामा सहभागी भए । त्यहाँ उनले कार्यक्रमलाई सम्बाेधन गरेर एनआरएनएले उठाउँदै आएको नागरिकताकाे सवाल, सम्पत्तिको उपभाेग, वैदेशिक लगानी लगायतका मुद्दामा साथ दिने वचन दिए । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायतका पदाधिकारी, सल्लाहकारहरू, विभागीय प्रमुखहरूले उनकाे स्वागत गरेका थिए । साे क्रममा एनआरएनएले मन्त्री पाैडेललाई ज्ञापनपत्र समेत दियाे । त्यसपछि, रात्रीभाेजमा सरिक भएर उनी दूतावासले व्यवस्था गरेको आवासतर्फ लागे ।

एनआरएनए यूकेकाे कार्यालयमा आयाेजित कार्यक्रममा ।