May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धरानमा साहित्यिक विमर्शसँगै पुस्तक परिचर्चा

धरानमा साहित्यिक विमर्शसँगै पुस्तक परिचर्चा

धरान । धरानमा साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजना तथा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को सहयोगमा धरान उपमहानगरपालिका वडा नं. १३ को सभाहलमा साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिक वर्ष –१३ अङ्क –१३, कवि सुरेन्द्र लिम्बू परदेशीद्वारा लिखित कविता सङ्ग्रह ‘हामी आयामका भुइँ मान्छेहरू’, कथाकार सुनिता राई कन्दङ्वाद्वारा लिखित कथा सङ्ग्रह ‘तिउरी’ तथा कथाकार म्यामराज राईद्वारा लिखित लघुकथा सङ्ग्रह ‘हाम्रो बाटो’ गरी चारवटा कृतिहरूमाथि समीक्षा भएको थियो । जसमध्ये परदेशी बिम्बहरू साहित्यिक वार्षिक वरिष्ठ भाषाविद प्रा. डा. टङ्कप्रसाद न्यौपाने, हामी आयामका भुइँमान्छेहरू प्रा. डा. गोपाल भण्डारी, तिउरी कथा सङ्ग्रह भाषाविद दिनेश पौडेल र हाम्रो बाटोलाई कथाकार तथा पूर्व सह–प्राध्यापक शरनकुमार राईले समीक्षा गरेका थिए ।

Advertisement

कार्यक्रमलाई अझ रोचक र साहित्यमय बनाउनका लागि वरिष्ठ कवि बम देवान, कवि सुदिप पाख्रीन, कवि जनकऋषी राई, कवि करुणा राई, कवि दीपा स्पन्दन र कवि तिर्थराज विश्वकर्मा द्वारा कविता वाचन, वरिष्ठ गजलकार श्रेष्ठ परिक्रमाले गजल र कथाकार गोपाल देवानले लघुकथा प्रस्तुत गरेका थिए ।

समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व महामहिम राजदूत तथा नेपाली भाषासेवी भीम उदास रहेका थिए । यस्तै, विशिष्ट अतिथिहरूमा भाषाविद प्रा.डा. टङ्कप्रसाद न्यौपाने र धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्याक्ष श्री नेत्रप्रसाद काफ्ले रहेका थिए ।

कार्यक्रममा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ का उपाध्यक्ष मणि राई गोठालेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका उपाध्यक्ष तथा परदेशी बिम्बहरू साहित्यिक वार्षिकका प्रधानसम्पादक भीम विरही राईले गरेका थिए ।