March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको निर्वाचन समितिमा विवादित र राजनीतिक मान्छेहरु समावेश गर्ने तयारी, विवाद चुलियो

एनआरएनए यूकेको निर्वाचन समितिमा विवादित र राजनीतिक मान्छेहरु समावेश गर्ने तयारी, विवाद चुलियो

लण्डन । गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूकेको आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गर्ने विषयमा कार्य समितिमा विवाद उत्पन्न भएको छ ।

यसअघि नैै महेन्द्र कँडेललाई निर्वाचन समितिको संयोजक बनाउने निर्णय भएपनि समितिका सदस्यहरुका बारेमा निर्णय भइसकेको छैन । गत मार्च २२ मा बसेको कार्य समिति बैठकले पूर्व अध्यक्ष कँडेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको थियो ।

Advertisement

एनआरएन यूकेको नयाँ नेतृत्व चयन गर्न ३१ जुलाईमा निर्वाचन हुँदैछ । तर, निर्वाचन समितिका सदस्यहरुको टुंगो भने अझै लाग्न सकेको छैन ।

नेपाल पत्रकार महासंघ बेलायतमा पोस्टल भोटिङद्वारा धाँधली गर्न सफल एनआरएनएका एक मनोनित सदस्यलाई फेरि एनआरएन यूकेको निर्वाचन समितिमा राख्न गरिएको प्रस्तावको चौतर्फी विरोध भइरहेको छ।

जम्मा ४३ जना सदस्य रहेको पत्रकार महासंघ बेलायतमा पोस्टल भोटिङ गराउन योजना बनाउने व्यक्ति नेकपा एमाले ओली समूह यूकेका एक नेता पनि हुन्। उनीविरुद्ध पत्रकार महासंघ केन्द्रमा उजुरी परिसकेको छ। बेलायतस्थित नेपाली समाज भाँड्न २४ सै घण्टा सक्रिय रहने तिनै विवादित व्यक्तिलाई एनआरएन यूके निर्वाचन समितिको सदस्य बनाउन अध्यक्ष पदकी एक उम्मेदवार रोजिना प्रधान राईले प्रस्ताव गरेको खबर प्राप्त भएको छ।

श्रीमती राईले अध्यक्ष पदका अर्का उम्मेदवार दीपक श्रेष्ठसँग अध्यक्ष पदको मोलतोल गरिरहेकोे भन्ने समाचारहरु सार्वजनिक भइरहँदा उक्त उनलाई व्यक्तिकै उम्मेदवार ठानिन्छ।

निर्वाचन समितिलाई पूर्णता दिने भन्दै शुक्रबार राती कार्य समितिको बैठक बोलाइएको थियो । बैठक अगावै विवाद उत्पन्न भएपछि साँझ ६ बजेका लागि बोलाइएको बैठक राती साढे आठ बजे मात्रै सुरु भएको थियो ।

निर्वाचन समितिका संयोजक महेन्द्र कँडेल र एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले निर्वाचन समितिमा सामाजिक रुपमा विवादित र राजनीतिक व्यक्तिहरु समावेश गर्ने तयारी गरेपछि विवाद सुरु भएको हो । निर्वाचन समितिमा निर्विवाद र गैर–राजनीतिक व्यक्तिहरु राख्नुपर्ने माग कार्य समितिमा उठेको छ ।

कार्य समितिका एक पदाधिकारीका अनुसार, शुक्रबारको कार्य समिति बैठकमा नै अध्यक्ष गुरुङ र निर्वाचन समितिका संयोजक कँडेलले थप हुने चार सदस्यको नाम घोषणा गर्ने तयारी गरेका थिए । अध्यक्षका प्रत्यासीका तर्फबाट एक, एक जना र एक जना स्वतन्त्र व्यक्तिलाई समितिमा राख्ने गुरुङको प्रस्ताव थियो ।

अध्यक्ष गुरुङ र निर्वाचन समितिका संयोजक कँडेलले बैठक अगावै अध्यक्षका प्रत्यासीहरुबाट एक एक जनाको नाम माग गरेका थिए ।

एनआरएन यूकेको आगामी कार्यकालका लागि उपाध्यक्षद्वय प्रेम गाहा मगर र रोजिना प्रधान राई तथा इङ्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बैठकमा सहभागी अधिकांश पदाधिकारी र सदस्यहरुले गैर राजनीतिक व्यक्तिहरु र समाजमा विवादमा नआएका स्वतन्त्र व्यक्तिहरुलाई निर्वाचन समितिमा राख्न माग गरेका छन् । यदि सुझाबलाई बेवास्ता गर्दै निर्वाचन समितिमा विवादित र राजनीतिक व्यक्तिहरुलाई समावेश गरिए निर्वाचन समितिका विरुद्ध नै आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

स्कटल्याण्डमा एकलौैटी समिति

यसैबीच, अध्यक्ष पुनम गुरुङ र निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले स्कटल्याण्ड राज्य समन्वय परिषदको निर्वाचनका लागि एकलौटी रुपमा निर्वाचन समिति तय गरिएको बताइएको छ ।

कँडेल र गुरुङले निर्वाचन समितिमा रहने व्यक्तिहरुको नामावलीसहित माइन्यूट नै तयार पारिसकेको बताइएको छ । शुक्रबारको बैठकमा नैै नामावली घोषणा गर्ने उनीहरुको तयारी थियो, एक पदाधिकारीले भने, एनसीसीको निर्वाचन समिति गठन प्रक्रियामा नै विवाद उत्पन्न भएपछि नामावली घोषणा भएन ।

निर्वाचन समिति गठन प्रक्रियाबाटै धाँधलीको संकेत देखिएको बैठकका सहभागीहरुले बताएका छन् । ‘एकलौटी रुपमा निर्वाचन समिति गठन गर्ने र चुनावमा धाँधली गर्ने संकेत देखिएको छ, एक पदाधिकारीले भने, त्यस्तो भयो भने नयाँ निर्वाचन समिति गठनका लागि आन्दोलन हुने छ ।’

निर्वाचन समितिको संयोजक तोकिएका कँडेल आफैं पनि विवादित व्यक्ति हुन् । एनसीसीका पूर्व अध्यक्ष कँडेल उतिबेलै आर्थिक अनियमिततामा मुछिएका थिए भने केही दिनअघिको बैठकमा उनले दिएको अभिव्यक्ति पनि विवादमा तानिएको थियो ।

जुन १० सम्मका लागि तोकिएको सदस्यताको म्याद थप गर्ने विषयमा आयोजित एक बैठकमा कँडेलले क्षेत्राधिकार भन्दा बाहिर गई अभिव्यक्ति दिएका थिए । उनकै अभिव्यक्तिका कारण बैठक नै भाँडिएको आरोप उनीमाथि छ । त्यसपछि बसेको अर्को बैठकमा उनले आफ्नो भनाइ सच्याएका थिए ।