April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सगरमाथा नेपाली समाजको साँस्कृतिक प्रस्तुति

सगरमाथा नेपाली समाजको साँस्कृतिक प्रस्तुति

आसफोर्ड, केन्ट । बेलायतमा बसोबास गरिरहेका नेपालीहरूको पहिचानलाई स्थानीयहरूमाझ परिचित गराउने उद्देश्यले सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले साँस्कृतिक प्रस्तुति दिएको छ ।

बेलायत, अन्य यूरोपेली मुलुक र अमेरिकामा भव्य रूपमा मनाउने ह्यालोविन पर्वको अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ह्यालेविन बहुसाँस्कृतिक कार्यक्रममा सगरमाथा गोर्खा नेपाली समाजले विविध साँस्कृतिक प्रस्तुति दिएको हो । समाज केन्टको आसफोर्डमा रहेका नेपाली समुदायको प्रतिनिधिमूलक सामाजिक संगठन हो ।

Advertisement

बहुसाँस्कृतिक उत्सवमा सहभागी कलाकारहरु ।

आसफोर्ड बोरो काउन्सिलले आयोजना गरेको कार्यक्रममा नेपाली मूलका संस्थाहरूलाई समन्वय गर्ने जिम्मा सगरमाथा गोर्खा नेपाली समाजलाई मिलेको थिर थापा मगरले बताए । साँस्कृतिक उत्सवमा नेपाली, भारतीय तथा जिम्बाब्वेली सांस्कृतिक प्रस्तुतिहरुको सङ्गम रहेको थियो । सहभागीहरुले आफ्ना आफ्नै जातीय पहिरनमा सजिएर प्रस्तुतिहरु पस्किएका थिए ।

नेपाली कम्युनिटीको तर्फबाट गुरुङ समाज केन्ट, मगर समाज केन्ट, शेर्पा समाज आसफोर्ड तथा किरात राई यायोक्खा समाज आसफोर्डबाट कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको समुद्घाटन आसफोर्ड बोरो काउन्सिलकी सांस्कृतिक संयोजक प्रिती पेन्टलले गरेकी थिइन् ।

स्याब्रु नृत्य प्रस्तुत गर्दै शेर्पा कलाकारहरु ।

काउन्सिलको हलमा भएको कार्यक्रममा शेर्पा समाज आशफोर्डका सांस्कृतिक सचिव तथा सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्डकी सांस्कृतिक सहसचिव याङ्जी शेर्पाले शेर्पा गीत पस्किइन् । उनलाई वाद्यवादनमा रिग्जेन शेर्पा र योङ्देन शेर्पाले साथ दिएका थिए । त्यसलगत्तै याङ्जी शेर्पा, ल्हमु शेर्पा, कमला शेर्पा, रिग्जेन शेर्पा तथा योङ्देन शेर्पाले स्याब्रु नृत्य प्रस्तुत गरे ।
त्यस्तै, गुरुङ समाजबाट ममता गुरुङले गुरुङ संस्कृतिको संक्षिप्त परिचय दिइन् । त्यस्तै, उनलाई सामूहिक नृत्य प्रस्तुतिमा राज देवी गुरुङ, गोलमान गुरुङ, शोभराज गुरुङ, डोल गुरुङ, सुलभ गुरुङ, मधु गुरुङ, तारा गुरुङ ‘ए’, तारा गुरुङ ‘बी’, तेज बहादुर गुरुङ र डा. सदीक्षा गुरुङले साथ दिए । मगर समाज केन्टबाट प्रिया पुनले कार्यक्रममा एकल नृत्य प्रस्तुत गरिन् । उनले युवा थापासँग मिलेर मगर संस्कृति झल्कने कौडा नृत्य पनि देखाइन् । प्रस्तुतिले सबैको मन छोएको थियो ।

मगर समाजको प्रस्तुतिपश्चात भारतीय कलाकार कालिथसनद्वारा प्रसिद्ध धार्मिक ग्रन्थ रामायण अन्तर्गत राम र सीताको कहानीलाई झल्काउँदै पूर्वीय शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि, बलिउड गीतमा दर्शकहरूलाई रमाइलो साँझमा झुम्न बाध्य बनाएका थिए । त्यसअघि, जिम्बाब्वेका कलाकार लक्कीले दर्शकहरुलाई पनि सहभागी गराउँदै जिम्बाब्वेली ड्रम वादन प्रस्तुत गरेका थिए ।
यस्तै, किरात राई यायोक्खा समाज आसफोर्डका सेनोन राईले युकलेलीे बाजाका साथमा अंग्रेजी गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाए । सगरमाथा गोर्खा नेपाली समाजका सांस्कृतिक सचिव थिर थापाले गितारको धुन प्रस्तुत गरेर आफ्नो सांगीतिक क्षमता प्रदर्शन गरेका थिए । उनी कार्यक्रमका सञ्चालक समेत रहेका थिए । त्यस्तै, सो अवसरमा सगरमाथा गोर्खा नेपाली महिला समाजका संस्थापक महिला अध्यक्ष एवम् मगर महिला संघ केन्टकी संस्थापक अध्यक्ष जानुका पुन पनि उपस्थित थिइन् ।

सहभागी कलाकारहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा सँस्कृति र कलामार्फत् सहकार्य एवम् सद्भाव रहने आयोजक आसफोर्ड बोरो काउन्सिलकी सांस्कृतिक संयोजक प्रिती पेन्टलले धारणा व्यक्त गरिन् । केन्टमा रहेका जातीय संस्थाहरू र कलाकारहरूलाई समन्वय गरेर साँस्कृतिक एवम् कलात्मक प्रस्तुति देखाउनु आफूहरूका लागि गर्वको कुरा भएको सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डका अध्यक्ष कप्रसाद छन्त्यालले बताए ।