April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सगरमाथा नेपाली समाजले नयाँ वर्षको उपलक्ष्यमा कार्यक्रम गर्दै

सगरमाथा नेपाली समाजले नयाँ वर्षको उपलक्ष्यमा कार्यक्रम गर्दै

आसफोर्ड । सगरमाथा गोर्खा नेपाली समाज आसफोर्ड केन्टले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा अप्रिल महिनामा एक उत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली समुदायले मान्दै आएको विक्रम संवतअन्तर्गत पर्ने २०७९ नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान एवम् साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आसफोर्डमा रहेका नेपालीहरूको साझा संस्थाका रूपमा रहेको सगरमाथा गोर्खा नेपाली समाजको बिहीबार बसेको कार्य समितिको बैठकले यहीँ आउँदो अप्रिल २३ तारिख शनिबारका दिन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण विगत दुई वर्षयता कुनै पनि खुल्ला कार्यक्रम हुन सकेको थिएन । महामारीपछि पुनर्मिलनको अवसरका रूपमा प्रयोग गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष कप्रसाद छन्त्यालले जनाए ।

Advertisement

सगरमाथा गाेरखा नपाली समाजको कार्य समितिकाे भर्चुअल बैठकमा सहभागीहरू ।

कार्यक्रमका संयोजक रहेका उपाध्यक्ष चिरन राईले भर्चुअल जुम बैठकमा प्रस्तुत गरेको कार्यक्रमको रूपरेखामाथि छलफल गर्दै कार्य समितिले कार्यक्रमलाई सफल बनाउन जिम्मेवारी बाँडफाँड समेत गरेको अध्यक्ष छन्त्यालले बताए । सेन्ट साइमन चर्चको हलमा हुन लागिरहेको कार्यक्रमका लागि हल व्यवस्थापनका लागि उपाध्यक्ष राईमा, स्टेज ब्यानर, सम्मानपत्र र प्राथमिक उपचार उपाध्यक्ष राम प्रसाद लिम्बुमा, खाद्य र पेय व्यवस्थापनको जिम्मा कोषाध्यक्ष विकास लिम्बुमा, स्टेज तथा स्वागतद्वार साजसज्जाका लागि महिला समिति र युवा समितिमा, सुरक्षा र टिकटको जिम्मा सचिव जनक राईमा, साँस्कृतिक कार्यक्रम र साउन्ड सिस्टमको जिम्मा साँस्कृतिक सचिव थिर थापा मगरमा, प्रचार प्रसारको जिम्मा मिडिया सचिव अमित थेवेमा दिइएको छ । कार्यक्रममा सामाजिक दूरीसँगै स्वास्थ्यका लागि आवश्यक सर्तकता अपनाउँदै आफन्तजन र साथीसँगीहरूमाझ कार्यक्रम हुन लागिरहेको सचिव जनक राईले बताए ।

बैठकमा मुख्य सल्लाहकार चक्र साम्पाङ राई, वरिष्ठ उपाध्यक्ष डम्मर सिंगक, उपाध्यक्ष मोहन लिम्बु, महिला समितिकी अध्यक्ष विमला लिम्बु, युवा समितिका अध्यक्ष शिखर लिम्बु, सगरमाथा महिला कमिटीका पूर्व अध्यक्ष राजदेवी गुरूङ, मुख्य सल्लाहकार वसुन्धरा नेयोङ राई, सदस्य राई बहादुर मादेन लगायतको पनि उपस्थिति रहेको थियो ।

आसफोर्ड बेलायतमा नेपालीहरूको बाक्लो बसोबास भएको नगरमा पर्छ । सन् २००४ मा स्थापना भएको समाजले च्यारिटीको क्षेत्रमा वर्षेनी कामहरू गर्दै आएको छ । गत वर्ष राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस)मा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि भन्दै काउन्सिलकै सामाजिक क्षेत्रमा सहभागी हुनेदेखि स्वतन्त्र रूपमा मानवीय सहयोगका लागि गतिविधिहरू गर्दै आएको छ । समाजले हरेक वर्षको ख्रिष्टमस पर्वमा घरबारविहीनका लागि खाद्य सामग्री दान गर्दै आइरहेको छ । त्यस्तै, खेलकुद, कला, सँस्कृति, साहित्यका लागि कार्यक्रमहरू आयोजना गदैै आइरहेको छ । काउन्सिलले वर्खा याममा गर्ने ग्लोबल कल्चरल मिटमा सहभागी भएर विश्वका विभिन्न देशका नागरिकहरूमाझ नेपाली कला, गीत, संगीतको प्रचार पनि गर्दै आइरहेको छ । समाजले ड्रिम प्रोजेक्टका रूपमा नेपाली समुदायको सामूहिक गतिविधि अघि बढाउन घर खरिदको प्रक्रिया पनि सञ्चालन गरिरहेको छ ।