April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘गोरखा सैनिकहरूका कारण नेपालको राष्ट्रियता जोगिएकाे हो’ – साहित्यकार हितान

‘गोरखा सैनिकहरूका कारण नेपालको राष्ट्रियता जोगिएकाे हो’ – साहित्यकार हितान

बेलायतमा रहेका नेपाली साहित्यकारहरूमाझ घरेलु नाम मात्रै नभएर एक पृथक पहिचान बोकेका सर्जक हुन् – विजय हितान मगर । सन् १९६७ मा गुल्मीको पौँदी अमराईमा जन्मेका हितान एक पूर्व गोरखा सैनिक समेत हुन् । सन् १९९५ मा दश वर्षे पल्टनीया जीवनबाट अवकाश पाएपछि उनी हङकङ बसे । त्यसपछि, सन् २००७ मा यूके छिरेका उनी पेशाले वातावरण अधिकृत हुन् । २००९ बाट साहित्य लेखनमा गम्भीर भएर लागेका फोक्सटोननिवासी इको साहित्यककार हितानका नौ कृतिहरू प्रकाशित छन् । केही साताअघि मात्रै उनको ‘ब्लु प्लानेट’ कथा सङ्ग्रह फिनिक्स बुक्सले प्रकाशित गरेको छ । शनिबारबाट सुरु भएको दुई दिने युद्ध साहित्य गोष्ठीको सेरोफेरोमा रहेर कार्यक्रम संयोजक रहेका विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेका अध्यक्ष हितानसँग सिलौटी टाइम्सका सम्पादक अमित थेवेले गरेको वार्ताको सार संक्षेप प्रस्तुत गरिएको छ ।

युद्ध साहित्य गोष्ठीको आयोजना सँगसँगै गोरखा हिस्ट्री मन्थ पनि बेलायताबाट सुरु भएको छ । खासमा यो कस्तो अभियान हो ?
विगत तीन वर्षयता हामीले युद्ध साहित्यलाई प्रबद्र्धन गर्न युद्ध साहित्य गोष्ठी गर्दै आएका छौँ । यो नोभेम्बर महिनामा हुने क्यालेन्डर कार्यक्रम नै हो । तर, यसपटक भने गोरखा सैनिकहरूको इतिहासलाई थप उजागर गर्न गोरखा इतिहास महिना भनेर सुर गरेका छौँ । जुन अबदेखि प्रत्येक वर्षको अक्टोबर ११ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ । हामीले थाहा पाएकै कुरा हो । अश्वेतहरूको सामाजिक, साँस्कृतिक र राजनीतिक अभियानलाई उठाउन अक्टोबर महिनाभर हुने ब्ल्याक हिस्ट्री मन्थले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैगरी, महिला, समलिङ्गीहरूको पहिचानका लागि विशेष समर्पित सप्ताह र महिना छ । यसैगरी, हामीले पनि गोरखा सैनिकहरूको इतिहास, कारुणिक पीडा, विभेद, जीवनका उतारचढावहरूलाई अरु माझ लान यो महिनालाई उपयोग गर्ने निर्णयका साथ सुरु गरेका हौँ ।

Advertisement

यो साल युद्ध साहित्य गोष्ठी कार्यक्रम के कसरी हुँदैछ ?
यस वर्षको युद्ध साहित्य गोष्ठी विशेष रहनेछ । किनकि, पहिलो पटक साहित्यको क्षेत्रबाट हामीले १३ बहादुर भिक्टोरिया क्रस पदक विजेता गोरखा सैनिकहरूप्रति समर्पित भएर कार्यक्रम गर्दैछौँ । हामीसँग अहिले पनि एक मात्रै जीवित भीसी राम बहादुर लिम्बु हुनुहुन्छ । रोचक कुरा के छ भने पहिलो दिन शनिबार प्रमुख अतिथिका रूपमा आएका बेल्जियमका लागि पूर्व नेपाली राजदूत लोक बहादुर थापा स्वयम् भीसी शेर बहादुर थापाका नाति हुन् । यस दिन हामी बेलायत र नेपालका सैनिक र साहित्यकारहरूप्रति समर्पित गरेर कार्यक्रम ग¥यौँ । अर्को तर्फ, आइतबार रिमेम्ब्रेन्स डेको अवसर पारेर हामी भारत, ब्रुनाई, सिंगापुर र नेपालका सेना, प्रहरी र अर्धसैनिक बलका अधिकृत एवम् सिपाहीहरू र साहित्यकारहरू भर्चुअल्ली भेटेर युद्ध साहित्यको परिचर्चा र सिर्जना वाचन गर्दैछौँ । पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा र दोस्रो दिन दक्षिण शाखाले कार्यक्रम सञ्चालन गर्नेछ । यस दुई दिवसीय गोष्ठीमा भारतीय सेनाका ३९ गोर्खा पल्टन, ब्रिटिस सेनाका सात पल्टन, नेपाली सेनाका उच्च अधिकृतहरू सामेल हुँदैछन् ।

युद्ध साहित्य खासमा के हो र कसरी बुझ्ने ?
युद्धको मोटामोटी तीन चरणहरू हुन्छन् । पहिलो अर्थात् तयारी चरण । जहाँ एउटा मान्छे भर्ती लाग्छ । तालिम लिएर पूर्णकालीन सिपाही हुन्छ । दोस्रो चरण् भनेको युद्धमा सामेल हुने चरण हो । यसमा सिपाही घर या देश छाडेर जान्छ । खुकुरी, बन्दूक, बम बारुद, गोलासँग खेल्छ । अन्तिम चरण भनेको चाहिँ निवृत्तिभरणको चरण हो । सेवबाट अवकाश पाएर या पेन्सन लिएर फर्कने चरण । हो, यी तिनै चरणमा घटेका घटना, अनुभव, अनुभूतिहरू संगालेर लेखिएको साहित्य युद्ध साहित्य हो । हुन त राजनीति, सामाजिक उथुलपुथुल भएर द्वन्द्व चर्किन पनि सक्छ । त्यस बखत बन्दुक, लठ्ठी, भाला, खुकुरी उठ्न सक्छ । रगत पोखिन सक्छ । मान्छेको मृत्यु हुन सक्छ । यसबाट पनि साहित्य जन्मन सक्छ र उत्कृष्ट साहित्य लेखिएको पनि छ ।

आफ्नो निजी पुस्तकालयमा हितान ।

युद्ध साहित्यलाई साहित्यको विधा नमान्ने पनि छन् नि ?
युद्ध साहित्य विधा नै हो । तपाईले राम्रोसँग अध्ययन गर्नुभयो भने त झन् प्राचीन विधा हो । नेपालका हरेक सामाजिक राजनीतिक परिवर्तनमा कुनै पनि स्वरुपको युद्ध या द्वन्द्वको भूमिका छ । यस चरणमा धेरै साहित्यहरू लेखिएका छन्, लेखिन्दैछन् । ग्रीककै महान् साहित्यहरू इलियड र ओडिसीमा युद्धकै कथा छ । फ्रेञ्च, बेबिलियोन, मेसापोटामिया पनि लडाइ्ँकै किस्साहरू छन् । आर्य हिन्दूहरूको महाकाव्य महाभारत र गीता त झन् युद्धकै अध्यायले भरिपूर्ण ग्रन्थ हुन् । युद्ध साहित्यलाई सैद्धान्तिकरण गरेर साहित्यकार र समीक्षकहरू अघि बढेका छन् । बेलायतमा पनि विशेषगरी नरेश काङमाङ, गणेश राई, अप्जसे कान्छाहरू अभियन्ता नै बनेर अघि बढे । त्यस लहरमा रक्ष राई, मिजास तेम्बे, विश्वासदीप तिगेलाहरू छन् । हामीले युद्ध साहित्यलाई प्रबद्र्धन मात्रै गरेका हौँ ।

युद्ध साहित्य कुन अर्थमा गोरखा सैनिकहरूका लागि फरक साहित्य हो ?
सर्वप्रथमतः गोरखा सैनिक आफैँमा ब्रान्ड हो । विश्वमै छुट्टै पहिचान बनाएका दक्ष, बहादुर र संयोजनकारी लडाकू जाति हुन् । रुसी, चिनियाँ, अमेरिकी, ब्रिटिस सेना र तिनका साहित्य जसरी संसारभर पढिन्छन् । किन्छन् र बिक्री हुन्छन् । हामीमा पनि त्यो तागतको विकास हुनुपर्छ । खुकुरीको तागत जस्तै कलमको शक्ति र शब्दको अस्त्र लिएर अघि बढेमा हाम्रा भावनाहरू, हाम्रा तौरतरिकाहरू संसारका लागि पठनीय खुराक हुन सक्छ । अझ अंग्रेजी लगायतका विश्व भाषामा लेख्न सकिए हाम्रा आँसु र पीडाका गाथाहरू सहजै रफ्तारमा सम्प्रेषण हुने थियो ।

गोर्खासँग सम्बन्धित पुस्तक नियाल्दै हितान ।

अर्को प्रसङ्ग निकालौँ । अहिले बेलायतमा खासगरी पूर्व गोरखा सैनिकहरूको न्यायको आन्दोलन चलिरहेको छ । तपाई आफैँ पनि पूर्व सैनिक । आन्दोलनलाई कसरी हेर्नुभएको छ ?
हो । निश्चय पनि भूपू ब्रिटिस गोर्खा सैनिकहरूको आन्दोलनका मागहरू जायज छन् । उनीहरूको अभियानमा मेरो पनि ऐक्यबद्धता छ । तर, अब दुई देशको सरकारहरूको कुरामा निर्भर रहनेछ । कतिपय मागहरू कूटनीतिक स्तरबाट हल गर्दै जाँदा तलमाथि हुन सक्छ । अधिकतम त लेनदेनकै कुरा पनि रहला । तर, समान पेन्सन, क्षतिपूर्ति, सुविधा लगायतका विषयमा अझै टुङ्गो लागेको छैन । एकदिन लाग्नेछ भन्ने विश्वास छ । अब त आवासीय भिषा पाएर अधिकांश नेपाल छाडेर यतै आएका छन् । धेरै पूर्व सैनिकहरू उमेरका कारण आन्दोलन गरिरहने मनस्थितिमा पनि नहोला । उनीहरू पनि बेलायत र नेपालका सरकार मिलेर छिटो समस्या हल गरिदिऊन् भन्ने चाहना राखेर बसेका छन् । हामी कलम चलाउनेहरू पनि त्यहीँ चाहन्छौँ । हामीले त लेखेर न हो सहयोग गर्ने ।

गोरखा सैनिक भर्तीबारे अनेक टिप्पणी उठ्छन् । तर, एउटा महत्वपूर्ण कुरा भन्न चाहन्छु । बेलायत र गोर्खा सेनाका कारण नेपालबीच अत्यन्तै विशिष्ट सम्बन्ध छ । उसो त नेपाललाई दुई ठूला राष्ट्रहरूले उहिल्यै निलिसक्थे । कि, सिक्किम जस्तो नभए तिब्बतजस्तो हुने थियो । तर, बेलायतको अप्रत्यक्ष उपस्थिति जुन गोरखा सेनाकै कारण सम्भव भएको हो । अहिले नै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता त्यति सहजै गुम्नेवाला छैन । फेरि विश्व राजनीति पनि परिवर्तन भइरहेको छ ।

गोरखा सैनिक र तिनका आश्रित परिवारहरूले सन् २००९ मा आवासीय अधिकार पाएपछि बेलायत प्रवेश गर्ने क्रम ह्वात्तै बढ्यो । प्रवासिएसँगै कतिपयले गोर्खा सैनिकहरूको राष्ट्रियतालाई लिएर प्रश्न गरे । यसको सामाजिक, साँस्कृतिक र राजनीतिक प्रभाव पनि परेको होला नि ?
निश्चित रूपमा नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा गहिरो प्रभाव परेको छ । खासगरी, आदिवासी जनजाति समुदाय राजनीतिक सत्ताबाट टाढा भए । केही आर्थिक उपार्जनका मामिलामा सुदृढ भएपनि अन्य क्षेत्रमा भने तुलनात्मक रूपमा पछाडि धेकलिएको कुरा सही हो । तर, बेलायत आउनुको खास कारणचाहिँ सन्ततिकै भविष्यका लागि हो । करिब ९९ प्रतिशतका छोराछोरीहरूले बेलायतका प्रतिष्ठित विश्वविद्यालयबाट ग्रयाजुएट गरेका छन् । नेपालमै भएको भए त्यो सम्भव थिएन । अहिले लगभाग पचास हजार गोर्खा समुदायका परिवारहरू आएका छन् । तिनका सन्तानहरूमा र यहीँ हुर्किएकाहरूमा पनि नेपालप्रति लगाव छ । माया गर्छन् । तर, रोजगारी र शिक्षाका कारण गइहाल्न सम्भव छैन । तर, दोहोरो नागरिकता या नेपालको नागरिकता निरन्तरताको कुराको संवैधानिक रूपमा व्यवस्था भएमा भविष्यमा सेतु जोडिन सक्छ । जहाँसम्म राष्ट्रियताको सवाल छ । त्योचाहिँ फगत इष्र्या डाहीको परिणाम मात्रै हो । नेपालमै रहनेहरूले नै हो भ्रष्टाचार गर्ने, जातीय विभेद गर्ने र अन्य सामाजिक समस्य निम्त्याउने । यसकारण, हामीले एक अर्कासँग सहकार्य र हातेमालो गरेर देश विकासका लागि अघि बढ्नुपर्छ । हामी प्रवासमा बसेर भएपनि नेपाल र नेपालीकै संस्कृति, भाषा, कला, साहित्यको कुरा गरिरहेका छौँ ।