April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्न एनआरएनए युकेले नेपाल सरकारलाई ग-यो आग्रह

युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्न एनआरएनए युकेले नेपाल सरकारलाई ग-यो आग्रह

लन्डन । गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ। 

परराष्ट्रमन्त्री खड्कालाई एनआरएनए यूकेले लेखेको पत्र ।

गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले परराष्ट्र मंत्री डा.नारायण खड्कालाई एक पत्र लेखी गैर आवासीय नेपाली संघ समेतको सहयोगमा झन्डै २०० नेपालीहरु युक्रेनबाट छिमेकी मुलुक स्लोभाकिया पुगी सकेको खबरहरुमा जनाइएको उल्लेख गरेका छन्। “तर अझै पनि कैयौं नेपालीहरु युक्रेनमै रहेको र युक्रेन छाडेका नेपालीहरुलाई पनि सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउन योजनावद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता देखिएको छ,” उनले पत्रमा लेखेका छन्। युक्रेनमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि सक्दो सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ युके अन्तर्गत रहेका चार ओटा राज्य परिषदहरुले आर्थिक सहयोग संकलन गरिरहेको पनि अध्यक्ष गाहा मगरले जनाए ।  “संकटको यो घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं,” गाहा मगरले भने। 

Advertisement

हेर्नुहोस् अध्यक्ष प्रेम गाहा मगरले पठाएको पत्र जस्ताको तस्तै:

मिति: २ मार्च २०२२

विषय: युक्रेनबाट नेपालीहरुको सकुशल उद्धार गर्ने बारे 

माननीय डा. नारायण खड्काज्यू,

परराष्ट्र मंत्री 

परराष्ट्र मन्त्रालय, सिंह दरबार, काठमाडौँ 

मार्फत: महामहिम राजदूतज्यू,

नेपाली दूतावास, लन्डन  

अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन गर्दै एक सार्वभोम मुलुक, युक्रेन, माथि हमला गर्ने रुसी कृत्यको जति निन्दा गरे पनि कम हुन्छ।  रुसको त्यस्तो व्यवहारले युक्रेनी जनता जस्तै त्यहाँ रहीरहेका नेपालीहरुको सुरक्षा माथि गम्भीर चुनौती उत्पन्न गरेको छ।  गैर आवासीय नेपाली संघ समेतको सहयोगमा झन्डै २०० नेपालीहरु युक्रेनबाट छिमेकी मुलुक स्लोभाकिया पुगी सकेको खबरहरुमा जनाइएको छ।  तर अझै पनि कैयौं नेपालीहरु युक्रेनमै रहेको र युक्रेन छाडेका नेपालीहरुलाई पनि सुरक्षित रुपमा नेपाल फिर्ता ल्याउन योजनावद्ध रुपमा काम गर्नु पर्ने आवश्यकता देखिएको छ।  यसका लागि आफ्ना कूटनीतिक निकाय मार्फत नेपालका छिमेकीहरुसंग पनि समन्वय गरी युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाई दिनु हुन आग्रह गर्दछौं। युक्रेनमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि सक्दो सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ युके अन्तर्गत रहेका चार ओटा राज्य परिषदहरुले आर्थिक सहयोग संकलन गरिरहेको पनि जानकारी गराउंछौँ। संकटको यो घडीमा विदेशमा फसेका नेपालीहरुको शिघ्र उद्धारका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं ।

प्रेम गाहा मगर 

अध्यक्ष 

गैर आवासीय नेपाली संघ युके