April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

Advertisement


२०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक वर्ष ८ अंक १२, पूर्णाङ्क ८५, २०७८ वैशाख–असार (किरात येले संवत् ३८००/सन् २०२१)मा प्रकाशित ‘उङगुया बाँसुरि त्वाप्चो’ (म पनि बाँसुरी बजाउने) शीर्षक कविता छनोट भएको हो ।

लिब्जु-भुम्जु पत्रिका ।


यो कविताले संघीय नेपाल प्रदेश–१ ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको छ । वाम्बुले राई समुदायको भूगोल, संस्कार, परम्परा र समयको परिवर्तनसँगै भएको यातायात सुविधा, नयाँ पुस्तामा आएको नयाँ चेतना र परम्पराप्रतिको मोहलाई दर्शाएको छ । बाँसुरी बजाएर बैस झल्काउने, बिनायो खिपेर प्रेमिकालाई उपहार दिने परम्परालाई आजका युवा पुस्ताले सिको गर्न चाहेको तर बिस्तारै ओझेल पर्दैगएको पक्षलाई कविताले उजागर गरेको छ । उहिले गाइने लोकभाकाहरू पुनःजागरण गर्न चाहेको तर समयको भेलले बिस्तारै टाढा पार्दै गएको र देवीदेउराली चौतारीहरूमा बिसाउने बटुवाहरू सडक सञ्जालले बिसाउन नदिएको भनिएको छ ।


ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं।६ जाकुमो गाउ“मा २०५० सालमा जन्मिनु भएका कवि दुताराज राई ‘तोसेल बोबो’ उपनामले चिनिनु हुन्छ । उहाँले २१औं वाम्बुले भाषा कविता प्रतियोगितामा तेस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट हालसम्म २० जना कविहरू पुरस्कृत भइसक्नु भएको छ भने कवि तोसेल बोबो २१औं स्रष्टा हुन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।