मैले देखेको कोरियाको स्थानीय निर्वाचन
– सेसेफुङ् शेर्मा
नेपालमा भर्खरै सम्पन्न स्थानिय तह निर्वाचनको सरगर्मी अझै सेलिइसकेको छैन । कांग्रेसीहरूले हानेको ढुंगाले टाउको फुटेका एमाले कार्यकर्ताको घाउ अझै आलै होला । एमालेहरूले माओवादीहरू लाई कुट्दा लागेको निलडाम अझै उस्तै होला । अनि माओवादिहरुले जसपाहरुलाई लघार्दा त्राहिमाम हुँदै भाग्दा गलेको ज्यानबाट अझै थकान हटेको छैन होला । भोट नदिएको, चुनाव प्रचार प्रसारमा सहयोग नगरेको या अर्कै पक्षलाई सघाएको निहुँमा बोलचाल बन्द भएका छिमेकीहरु विच अझै बोलचाल शुरू भएको छैन होला । अनि चुनाव प्रचारप्रसारको क्रममा बाइकहरु को लावा लश्कर लगाएर हिँड्दा कति कार्वन उत्सर्जन भयो होला । उतिखेर खपत भएको पेट्रोल डिजेल किन्न नेपाली रुपैयाँ कति अंकमा बाहिरियो होला । विना स्रोतको पैसा मतदाताहरु को हातहातमा पुग्दा अवैध रूपमा आर्जित कति अंकको कालो धनले सजिलै बजारमा प्रवेश पायो होला ।
गत वैशाख ३० गते सम्पन्न स्थानिय चुनावमा देखिएको होला भन्न लायकका यस्ता होलावाला जिज्ञाशाहरू खोतल्दै जाँदा कहिले लेखेर नसकिने किताब बन्ला । चुनावी प्रचार प्रसार देखि मत परिणाम आउँदा सम्मका यस्तो होला टाइपको घटनाक्रम र तथ्यहरु नदेख्ने नजान्ने शायदै कोही छौँ ।
नेपालको स्थानिय चुनावले उब्जाएको होलावाला जिज्ञासाहरु तपाईहरु लाई नै छाडेर सिधै कोरियाको स्थानिय चुनावतिर लैजान चाहन्छु । जहाँको चुनाव र चुनावी अभियानका क्रममा नेपालमा देखिएको होलावाला तथ्य र घटनाहरु को छनक सम्म भेटिन्न । कोरियामा पनि नेपालमा जस्तै तीन तहको चुनाव हुन्छ्न । प्रत्येक ५ वर्षमा राष्ट्रपति निर्वाचन र प्रत्येक ४र४ वर्षमा संसदीय निर्वाचन र स्थानिय निर्वाचन हुन्छन् । तर चुपचाप निर्वाचन सम्पन्न हुन्छन् । राजनैतिक विषयमा चासो नराख्ने र समाचार हेर्ने बानी नभएका धेरैजसो प्रवासी नागरिकहरु लाई कोरियामै बसेपनि कतिखेर चुनाव सम्पन्न भयो अत्तो पत्तो हुँदैन । नेपाली समाजले कोरियाको चुनाव प्रणाली त सिक्न र थेग्न नसक्ला तर कोरियाको चुनाव प्रचार प्रसार शैली र नागरिक चेतना नेपाली समाजले अविलम्ब सिक्न जरुरी छ ।
एक पार्टीको कार्यकर्ताले अर्को पार्टीको कार्यकर्तामाथि भौतिक रूपमा जाई लाग्नु नेपालको जुनसुकै निर्वाचनमा पनि सामान्य कुरा हो । नेपालको इतिहासमा शायदै यस्तो निर्वाचन सम्पन्न भएको होला जहाँ कुनै मान्छेको ज्यान नगएको होस् । कुनै कसै विरुद्ध भौतिक आक्रमण नभएको र लडाइँ झगडा नभएको होस् । तर कोरियामा मैले १३ वर्ष बस्दा थुप्रै निर्वाचनहरू प्रत्यक्ष देख्न पाएँ । म कोरियामा हुँदाको अवधिमा दुई पटक राष्ट्रपति निर्वाचन तथा तीनरतीन पटक संसदीय र स्थानिय निर्वाचन सम्पन्न भयो । यी ८ वटा निर्वाचनमा एकजना मान्छेको ज्यान जाने कुरा त परै जाओस् एक पक्षको समर्थकहरु ले अर्को पक्षको ब्यानररपोष्टर च्याती दिएको सम्म पनि देखिएन सुनिएन । यसपटक नेपाल र कोरियामा संयोगवश दुई हप्ताको फरकमा स्थानीय चुनाव सम्पन्न भए । नेपालमा वैशाख ३० गते स्थानिय चुनाव हुँदा कोरियामा जुन १ तारिखका दिन स्थानिय चुनाव भयो । तथापि नेपालमा अझै पूर्ण रूपमा स्थानिय चुनाव सम्पन्न भइसकेको छैन । केही स्थानमा पुनस् मतदान हुन र नतिजा आउनै बाँकि छ । तर लगभग दुई हप्तापछि कोरियामा सम्पन्न भएको स्थानीय चुनावको अन्तिम परिणाम समेत १२ घण्टा नबित्दै आई सकेको छ । अर्को रमाईलो पक्ष नेपालमा निर्वाचन हुने निश्चित क्यालेण्डर नै छैन निर्वाचन हुने नहुने कुरा नेताहरु को तजबिजमा भर पर्छ । नेपालमा निर्वाचन हुने नहुने भन्ने ग्यारेन्टी मतदाताले मतदान केन्द्रमा आएर भोट हाल्न शुरू गरिसक्दा समेत हुँदैन । अन्तिम मत परिणाम घोषणा नभएसम्म चुनाव सम्पन्न भएको हो कि होईन निश्चित नै हुन्न । मतदान हुँदा हुँदै या मतगणना गर्दा गर्दै विचमा कसले कतिखेर बखेडा झिकेर फेरी चुनाव गराउनु पर्छ भन्ने हो निश्चित हुन्न । तर कोरियाको हरेक चुनावहरू निर्धारित क्यालेण्डरमा सम्पन्न हुन्छ्न् । गत वैशाख ३० गते नै निर्वाचन भएर पनि मतपरिणाम आइसक्नु पर्ने बाजुरा जिल्लाको बुढी गंगा नगरपालिका लगायत केही स्थानमा कहिले पुनस् मतदान हुने भनेर आजसम्म कुनै मिति तोकिएको छैन तर कोरियाले अब ४ वर्षपछि सन् २०२६ मा सम्पन्न हुने ९ औँ स्थानिय चुनावको मिति समेत तय गरिसकेको छ । यसपटक नेपालको स्थानिय तहको निर्वाचन समयमा सम्पन्न हुने कुरामा धेरै संशय र विवाद थिए । केही जनप्रतिनिधिहरु ले आफ्नो ४ वर्ष कार्यकाल पूरा गर्न नपाएको भन्दै अदालतमा हालेको मुद्दाको फैसला आउनै बाँकी छ । हाम्रो जस्तो समयमै चुनाव सम्पन्न गराउन र छिटो मत परिणाम घोषणा गर्न सकस पर्ने देशमा कोरियाको जस्तो कार्यकाल बाँकी रहँदै चुनाव सम्पन्न गराउन सकिने उपाय अवलम्बन गरिनु पर्छ । कोरियामा जनप्रतिनिधिहरु को कार्यकाल सकिन दुई महिना अगावै चुनाव गरी जनप्रतिनिधि निर्वाचित गरिन्छ । कोरियाको संविधानले तोकेको कार्यकाल बमोजिम अवधि पुगेपछि नयाँ चुनिएका जनप्रतिनिधिले काम शुरू गर्छन् भने निवर्तमान जनप्रतिनिधिहरु ले जिम्मेवारी त्याग गर्छन् । कोरियामा गत ९ मार्चमा राष्ट्रप्रति निर्वाचन सम्पन्न भई युन सक यल राष्ट्रपति निर्वाचित भए तर उनले निवर्तमान राष्ट्रपति मुन जे ईन को कार्यकाल सकिएपछि १० मे बाट मात्र आफ्नो कार्यभार सम्हाल्दै कोरियाको ब्लु हाउसमा बसाइँ सरे । नेपालजस्तो मत पेटिका गणना गर्ने स्थानमा ल्याउनै दुई दिन लाग्ने र मत परिणाम निकाल्न दुई हप्ता भन्दा ज्यादा लाग्ने देशमा जनप्रतिनिधिहरु को कार्यकाल सकिन कम्तिमा एक महिना अगावै निर्वाचन गराउने व्यवस्था ल्याउन जरुरी छ । यसपटक कोरियाको स्थानीय चुनाव र नेपालको स्थानिय चुनाव सँगसँगै सम्पन्न भएकोले पनि दुई देशवीचको चुनाव तुलना गरेर केही लेखौँ भन्ने हेतुले यसपटकको कोरियाको आठौं स्थानिय चुनावलाई शुरू देखि नै पछ्याई रहेको थिए । कोरियामा म बसेको खजे सी नगरपालिका कोरियाको दक्षिणी जिल्ला ख्यङसाङ नाम्दो जिल्लामा पर्दछ । यस नगरपालिका निवर्तमान राष्ट्रपति मुन जे इनको जन्मथलो समेत भएको हुँदा अन्य स्थानमा भन्दा यहाँ धेरै चुनावी सरगर्मी हुनु पथ्र्यो । तर खास त्यस्तो केही देखिएन । यहाँ जम्मा १,९३,३६९ मतदाता रहेकोमा ९९,२७३ मत मात्रै खस्यो । बरु निवर्तमान राष्ट्रपति मुन जे इन को डेमोक्रेटिक पार्टीको उम्मेद्वार वर्तमान राष्ट्रपति युङ सक यलको पीपल पावर पार्टीको उम्मेदवारसँग ३८७ को झिनो मतान्तरले हारे । म बसेको नगरपालिकामा मात्र होइन कोरियन जनताहरू ले स्थानिय चुनाव र संसदिय चुनावमा राष्ट्रपती पदमा निर्वाचित व्यक्तिकै पार्टीप्रति रुझान देखाउने गरेका छन् । कार्यकारी सत्ता सम्हालेको पार्टीलाई नै सबै तहमा प्रमुख रूपमा स्थापित गराए काम गर्न सजिलो हुने कोरीयन जनताहरू को बुझाई छ । कोरियामा अक्सर कार्यकारी प्रमुख राष्ट्रपति पदमा निर्वाचित व्यक्तिको पार्टीले नै संसदीय र स्थानिय निर्वाचनमा पनि राम्रो स्थान प्राप्त गर्ने गरेका छन् । अघिल्लो पटक अन्य बाँकि सबै राजनैतिक दलहरु भन्दा झण्डै दोब्बर संख्याले आफ्ना जनप्रतिनिधिहरु निर्वाचित गराएको निवर्तमान राष्ट्रपति मुन जे इन को दल डेमोक्रेटिक पार्टीले यसपटक वर्तमान राष्ट्रपति यून सक यल को सत्तारुढ दल पीपल पावर पार्टीसँग ठूलो अन्तरले पछाडि देखियो । मुख्य राजधानी सउल महानगर सहित बुसान महानगर र रणनैतिक रूपमा मुख्य नगर मानिने १७ मध्ये १२ स्थानमा सत्तारुढ दल पिपल पावर पार्टीका जनप्रतिनिधिहरु जनताबाट अनुमोदित भएका छन् । कोरियाको स्थानीय चुनाव मार्फत विशेष महानगरपालिका, महानगरपालिका, नगरपालिकाको मेयर र नगर परिषद सदस्यहरु तथा नेपालमा ठाडो नियुक्ति दिइने गभर्नर, प्रमुख जिल्ला अधिकारी तथा जिल्लारनगर क्षेत्रका शिक्षा प्रमुख लगायतका सात किसिमका पदमा राजनैतिक दल र स्वतन्त्र उम्मेद्वारहरू निर्वाचित हुन्छन् ।
कोरियाको स्थानिय तह निर्वाचनमा जम्मा १३ दिन चुनाव प्रचार प्रसार गर्ने समय दिईन्छ । यो विचमा उम्मेद्वारहरू ले पोष्टर ब्यानर टास्ने तथा सार्वजनिक स्थानमा विभिन्न कार्यक्रम गरेर चुनाव प्रचार प्रसार गर्न पाउँछन् । तथापि अस्पताल क्षेत्र, स्कूल क्षेत्र तथा रेल मेट्रो स्टेशनमा प्रचार प्रसारको कार्यक्रम राख्न पाउदैनन । साँझ ९ बजेबाट चर्को स्वरमा आवाज दिने माईक समेत प्रयोग गर्न पाउँदैनन् । प्राय उम्मेद्वारहरू विच सडकको ट्राफिक सिग्नलहरु मा एक्लै मत मागिरहेका भेटिन्छन् । उनिहरु सँग नेपालको उम्मेद्वारहरू संग जस्तो दर्जनौं को संख्यामा बाइक हुइक्याएर साथ दिने कार्यकर्ताको हुल हुँदैन । चुनावी ब्यानर र पोष्टर पनि सबै उम्मेद्वारहरु को प्राय एकै ठाउँमा देखिन्छ । उम्मेद्वारहरू को चुनावी प्रतिबद्धता भिजिटिङ कार्डमा छापिएको हुन्छ । जम्मा तीन देखि पाँच बुँदा भन्दा धेरै कुनैपनि उम्मेद्वारहरू को चुनावी प्रतिबद्धता पत्रमा भेटिन्न । उम्मेद्वारहरू को भाषण ५ मिनेट देखि १० मिनेट भन्दा लामो हुन्न । चुनावी खर्च एकदम पारदर्शी हुन जरुरी हुन्छ । उम्मेद्वारहरू लाई विदेशी नागरिक र स्रोत नखुलेको व्यक्तिबाट आर्थिक सहायता लिन बन्देज छ ।
कोरियाली मतदाताहरु पनि उतिकै विवेकी हुन्छन् । गोप्य मतदानलाई अत्यधिक सम्मान गर्छन् । संगै काम गर्ने थुप्रै कोरियन सहकर्मीहरु संग कुन दलको उम्मेद्वार लाई मत खसालेको भनि सोधेको थिएँ । तर कसैले जवाफ दिन मानेनन् । 비밀투표 의혹 없다 फिमिलथुफ्यो विहोक अप्ता (कोरियन भाषामा, गोप्य मतदानको कुरा भन्न मिल्दैन) भनेर टार्थे । मेरो कोरियन सहकर्मीहरु विच चुनाव र उम्मेद्वारहरू को विषयलाई लिएर एक दिन एक मिनेट पनि बहस छलफल भएन । बरु दुई हप्ता अघि उता नेपालमा सम्पन्न भएको स्थानिय चुनावलाई लिएर भने मेरै कम्पनीमा भएका हामी नेपालीहरु पटक पटक बहस छलफल र माथापिच्छि गरी रहन्थ्यौँ । एकछिनको फुर्सदमा समेत फेसबुकमै भएपनि चुनावी हल्ला गर्न सामेल हुन्थ्यौ।
कोरियामा निर्वाचन भएको १२ घण्टामा लगभग अन्तिम मतपरिणाम आई सक्छ । यति द्रुत गतिमा निर्वाचन सम्पन्न भएको देख्दा धेरैलाई लाग्न सक्छ कोरियामा इलेक्ट्रिक भोटिङ मेसिन मार्फत निर्वाचन हुन्छ । तर होइन कोरियामा पनि कागजी मतपत्र मार्फत नै मतदान हुन्छ । झण्डै नेपालको आधाजति जनसंख्या र मतदाता भएको राजधानी समेत रहेको सउल विशेष महानगरपालिकाको मत परिणाम निर्वाचन भएको करिब ५ घण्टा नबित्दै आधारातमा आइसकेको थियो । यसपटकको स्थानीय चुनावमा सउल विशेष महानगरपालिकामा जम्मा ८३,७८,३३९ मतदाता रहेका थिए । यसमध्ये झरेको मत ४४,५५,१६१ मत गन्न ५ घण्टा पनि लागेन । कागजकै मतपत्र भएपनि कोरियाको मतगणना मेसिन मार्फत चुस्त र सटीक तरिकाले गरिन्छ । उम्मेद्वारहरू लाई दलहरु ले अघिल्लो चुनावमार्फत प्राप्त गर्ने सिट संख्याको आधारमा वरियता नम्बरको संकेत चिन्ह दिईन्छ । पैसा गन्ने मेसिनमार्फत भोट गन्नको लागि कागजी नोटको साईजमा नै मतपत्र डिजाईन गरिएको हुन्छ । उम्मेद्वारहरू लाई प्राप्त गर्ने मत प्रतिशतको आधारमा चुनावी खर्चको हिस्सा फिर्ता दिईन्छ । १०५ भन्दा कम ल्याउने उम्मेद्वारहरू को जमानत जफत हुन्छ । कोरियामा दलको उम्मेद्वार हुन दलको आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्नुपर्छ भने स्वतन्त्र उम्मेद्वार हुनलाई अग्रिम भोटिङ पोलहरु मा निश्चित मत प्रतिशत पाउन जरुरी हुन्छ । साथै उच्च शैक्षिक योग्यता र अनुभव हुन अत्यन्त जरुरी हुन्छ । निर्वाचन आयोगको उम्मेद्वारी मनोनयन सूचीमै उम्मेद्वारहरू को शैक्षिक योग्यता र अनुभव खुल्ने विवरण राखिएको हुन्छ । कोरियन मतदाताहरु ले कम शैक्षिक योग्यता र अनुभव नभएका उम्मेद्वारहरु लाई मत नै दिँदैनन् ।
राजनैतिक नेताहरू लाई हेर्ने हो भने कोरियाका राजनीतिज्ञहरु पनि नेपालको नेताहरु भन्दा कमीको छैनन् । आन्तरिक खिचातानी र नेताहरु विचको बेमेल कोरियाको राजनीतिमा पनि अत्यधिक देखिन्छ । यसपटकको राष्ट्रपति निर्वाचनमा निर्वाचन हुने अघिल्लो दिनसम्मको सिनारियोमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार इजे म्यङ् ले जीत्ने लगभग निश्चितप्राय थियो । तर रातारात तेस्रो र चौथो पोजिसनका उम्मेद्वारहरू ले गठबन्धन गरी दोस्रो पोजिसनमा रहेका पीपल पावर पार्टीका उम्मेद्वार युङ् सक यललाई जिताई दिए । कोरियामा नयाँ राजनैतिक दल बन्नु र स्थापना हुनु नौलो विषय नै होईन । यहाँ कतिखेर कुन पार्टी कहाँ मर्ज हुन्छन् कुनै टुंगो हुन्न । अहिले कोरियाली राजनीतिको निर्णायक स्थानमा रहेका मुख्य पार्टीहरु मध्ये अधिकांश सन् २०१२ यता मात्रै स्थापित पार्टीहरु हुन् । तर कोरियन राजनैतिक नेतृत्वहरु ले आफुविच जस्तो सुकै टकराव भएपनि जनताको सार्बभौमिकता, संविधान, ऐन कानुन र देशलाई बन्धक बनाउने यत्न गर्दैनन् । अनि कोरियाली सार्वभौम जनताहरू ले हरेक निर्वाचन मार्फत उच्च नागरिक चेतना प्रतिविम्वित गर्दै विवेकपूर्ण मत खसालेर कोरियाको राजनीतिलाई अगाडिको बाटो देखाईरहन्छन् ।
#स्थानीय निर्वाचन
प्रतिकृया दिनुहोस्