March 27, 2024, Wednesday
२०८० चैत्र १४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फक्ताङलुङ आरोहण प्रयास असफल

फक्ताङलुङ आरोहण प्रयास असफल

झट्ट हेर्दा मान्छेको कुम जस्तो देखिने आकृतिको भएकोले त्यहाँका रैथाने मूलवासी याक्थुङ जातिले आफ्नो याक्थुङ भाषामा फक्ताङलुङ नाम राखे । यो हिमाल आरोहण गर्न निकै गाह्रो हुने बताइँदै आएको छ । यो हिमाल याक्थुङ जातिको धार्मिक आस्थाको हिमाल पनि हो । यहाँ तागेरा निङ्वाफु युमामाङ्को शक्ति विचरण गरेको र उक्त शक्तिले गर्दा आरोहण गर्न नसकिने बूढापाकाको भनाई पनि छ । यो हिमाल चढे वा आरोहण गरे अनिष्ट हुने र यस क्षेत्रमा पिरोल्ने वा विनाश हुने विश्वास पनि गरिन्छ । यो हिमालको आरोहण प्रयास यस पटक पनि असफल भएको समाचार छ ।

यसपालि चार जना अमेरिकी नागरिकले आरोहणका लागि काठमाडौंको ग्रान्ड हिमालयन ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनी मार्फत दुई पटकसम्म शिखरमा पुग्ने प्रयास गरे पनि प्रतिकुल मौसमका कारण आरोहण असफल भएको कम्पनीका प्रबन्धक ओङ्मु शेर्पाबाट बुझिएको छ । पर्यटन विभागका अनुसार यसअघि सन् २००७ मा रसियन दुई नागरिकले सफल आरोहण गरेका थिए भने त्यसको झन्डै १४ वर्षपछि यो आरोहणको प्रयास गरिएको छ । यस फक्ताङलुङ हिमालको उचाई ७,७,११ मिटर रहेको छ ।

Advertisement

यो हिमालको पहिलो आरोहण भने सन् १९६२ मा फ्रान्सेली नागरिकले गरेका थिए । यो हिमाल नेपालको १५ औं र विश्वको ३२ औं अग्लो हो । यो हिमाल आकर्षक र सुन्दर देखिए पनि आरोहण गर्नका लागि त्यति नै कठिन र अप्ठ्यारो रहेको गाईड शेर्पाहरुले बताउने गरेका छन् । यसपालिको आरोहीहरुले पहिलो प्रयासमा ७ हजार मिटर सम्म पुगेर पनि मौसमका कारण फर्किनु परेका थिए भने फेरि दोस्रो पटक प्रयास गर्दा ७ हजार २ सय मिटरसम्म पुग्दा हावा, कुहिरो, पानी आदिले गर्दा पुन फर्किनु पर्याे ।

आरोहण गर्नका लागि नेपाल सरकारबाट अनुमति लिएर आएका भए पनि आरोहण टोलीलाई किराँत धर्मीहरुले केही दिन रोक्ने प्रयास गरेका थिए । यो हिमाल याक्थुङ जातिको धार्मिक स्थल भएकाले आरोहण गर्न नमिल्ने भन्दै रोकेको ओङ्मुले बताइन् । दोहोरो छलफलपछि उनीहरूले अवरोध नगर्ने जनाए । यो हिमाललाई याक्थुङ जातिको युमा धर्मावलम्बीहरुले आफूहरूको पवित्र धार्मिक स्थल मान्दछन् ।

याक्थुङ जातिको मौलिक युमा धर्म मुन्धुम अनुसार तागेरा निङ्वाफु युमामाङकै रुप यी फक्ताङलुङ्मा पनि हुन् । अनि, याक्थुङ जातिको उत्पति र सभ्यताको विकास यहीँ फक्ताङ्लुङ वरिपरि मुख्य गरेर ईम्बिरी याङ्धाङ्वा(तम्बर खोला थुम) क्षेत्रमा भएको मानिन्छ । त्यसैले यो पूरै ईम्बिरी याङ्धाङ्वा क्षेत्र र फक्ताङलुङ हिमाल लगायत वरिपरिको क्षेत्र मुन्धुमी स्थलका रुपमा याक्थुङ जातिले मान्दछन् ।

बर्षेनी याक्थुङ जातिको मौलिक युमा धर्मीहरु यो फक्ताङलुङ हिमालमा तीर्थयात्रा गर्न सयौँको संख्यामा जाने गर्दछन् । पहिले पैदल जाने तीर्थ यात्रीहरु अहिले फक्ताङलुङ गाउँपालिकास्थित तापेथकसम्म गाडीमा गएर त्यसपछि पैदल जाने गरेका छन् । यो हिमाल फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको खम्बाछेनमा पर्दछ । गाउँपालिकाको नाम पनि यहीँ हिमालको नामबाट फक्ताङ्लुङ गाउँपालिका भनेर राखिएको छ ।