April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

यस कारण चाहिन्छ सिरिजङ्गालाई फुर्का

(कान्तिपुर राष्ट्रिय दैनिकमा माघ ८, २०७८ प्रकाशित याक्थुङ इतिहासका खाेजकर्ता एवम् युमा धर्मका अभियन्ता अर्जुनबाबु माबुहाङद्वारा लिखित ‘सिरीजङ्गालाई किन चाहियो फूर्का’ लेख माथिको टिप्पणी)

लिम्बू समुदायको बौद्धिक जमातहरु माझ अहिले कालिदास प्रवृत्ति देखिएको छ । कालिदास भन्ने बित्तिकै यसले दुईवटा अर्थ बोकेर आउँछ । पहिलो अर्थ कालिदास शुरुमा महामूर्ख थिए । दोस्रो अर्थ कालिदास पछि विद्वान पनि भए । तर यहाँ मैले उठाउन खोजेको प्रसङ्गको कालिदास विद्वता हासिल गर्नु पूर्वको कालिदास हो ।

Advertisement

एकपटक दरबारमा बौद्धिक शास्त्रार्थ सभा हुने निश्चय भयो । राजकुमारी बिद्योतमासँग कालिदासको विवाह भएको धेर भएको थिएन । उक्त शास्त्रार्थ सभामा देश देशावरबाट कहलिएका विद्वानहरू लाई निम्तो थियो । महामूर्ख कालिदासले पनि उक्त शास्त्रार्थमा भाग नलिई नसक्ने अड्डी कसे । देश देशावरमा कहलिएका विद्वानहरूलाई शास्त्रार्थमा हराउन सक्दैनौ नजाऊ भनेर राजकुमारीले सम्झाउँदा मानेनन् । ती विद्वानहरू ले जे जे भने पनि जस्तो सुकै तर्क गरेपनि म स्वीकार गर्दै गर्दिनँ । मैले स्वीकार नगरेपछि जीत मेरै हुन्छ । अन्तत यहीँ ढिपीका साथ कालिदास पनि शास्त्रार्थ सभामा बसे । देश देशावरमा कहलिएका विद्वानहरू को कुरा उनले स्वीकार गर्दै गरेनन् । फलस्वरूप उक्त सभामा महामूर्ख कालिदासको अघि विद्वानहरू सबै निकम्मा सावित भए । लेखक तथा युमा धर्म अभियन्ता अर्जुनबाबु माबुहाङले ‘किरात सिरिजङ्गा लिपि’माथिको विषय उप्काएर कान्तिपुर राष्ट्रिय दैनिकमा माघ ८, २०७८ मा लेख्नु भएको लेख ‘सिरिजङ्गालाई किन चाहियो फूर्का’ ठ्याक्कै कालिदासको यहीँ प्रवृत्तिसँग मिल्दो जुल्दो छ । भाषाविज्ञान अध्ययन गरेर वर्षौँदेखि लिपिमा अनवरत कलम चलाई रहेकाहरुको एक से एक तथ्यहरु नकार्दै उनले केवल सिरिजङगा लिपिको नाम अगाडि किरात भन्ने फूर्का जोड्न नहुने कालिदास तर्कलाई मात्र अघि सारेका छन् ।

१. किरात समुदायको आदिम लिपिमा जोडिएको किराँत र सिरिजङ्गा मध्ये कुन चै फूर्का नयाँ हो ?

लिम्बू समुदायको पछिल््लो पुस्ता साह्रै अनुदार हुँदै गएको छ । भाषा, धर्म, संस्कृति र ईतिहासको सवालमा होस् या सामाजिक निर्णय पद्धतिहरु मा नै किन नहोस् । इमानसिं चेम्जोङको ईतिहास देखि लिएर फाल्गुनन्दको सामाजिक क्रान्तिको योगदानसम्म स्वीकार नगर्ने जमातको बढोत्तरी भएको छ । लिपि विकास र संरक्षणको हकमा सिरिजङ्गाको योगदान केही होईन भन्ने जमात उत्तिकै देखिन्छ । आफ्नो स्वार्थ प्रेरित बहस गर्न पाउँदा वर्षौदेखि हामीले स्वीकार गर्दै आएको किरात धर्म र सभ्यताले निर्माण गरेको संस्कृति नै हाम्रो होईन भन्ने देखि लिएर मुन्धुमको अस्तित्व समेत गलत दावी गर्ने पुस्ता पनि देखिन थालेको छ । इमानसिं चेम्जोङलाई गलत सावित गर्न लेखक तथा युमा अभियन्ता माबुहाङ लेख्छन्, चेम्जोङले पहिलो सिरिजङ्गा र त्यसपछि पहिलो सिरिजङ्गाकै अवतार दोस्रो सिरिजङ्गाको परिकल्पना गरेका छन् । यस्तो हुनमा उनमा बंगाली लेखक बाबु सरदचन्द्र दासको प्रभाव परेको देखिन्छ । (माबुहाङ, सिरिजङ्गालाई किन चाहियो फूर्का) तर इमानसिं चेम्जोङले मात्र होईन समग्र लिम्बू समुदायले वर्षौँ देखि मान्दै आएको सत्य चै यो हो कि सिरिजङ्गा दुई जना थिए । प्रथम सिरिजङ्गाले लिपि विकास गरे भने दोस्रो सिरिजङ्गा सिङ थेबेले लिपिको पुनरुत्थान गरे । आफ्नो अनुकुलको कुरा भेटिए हड्सन पाण्डुलिपि पनि ठिक, इमानसिंको ईतिहास पनि ठिक । तर आफ्नो तर्क माथि राख्नको लागि अलिकति कुरा बङ्ग्याउनू परे हड्सन पाण्डुलिपि, सुबेदार बाजवीर थलङको तुम निङ्वा भु साप्ला (किरात सिरिजङ्गा लिपिको पहिलो पुस्तक), किरात याक्थुङ चुम्लुङदेखि लिएर इमानसिं चेम्जोङको ईतिहाससम्म लाई सराप्ने लेखक तथा युमा अभियन्ता ज्यूको पुरानै बानी यस लेखमा पनि अभिव्यक्त भएर आएको छ ।

जब मानव प्रजातिमा cognitive revolution आयो तब मान्छेले sign language को रूपमा भाषाको विकास गरे । निरन्तरको अभ्यासले genetic mutation पश्चात मानव पुर्खाहरु को जिब्रो र घाँटीले जटिल आवाज समेत बोल्न सक्ने स्थिति भयो । भाषाको विकासले मानव प्रजातिलाई अन्य जिवभन्दा फरक र शक्तिशाली बनायो । यस धर्तीमा कुनै समय खाद्य श्रृङ्खलाको मध्यम स्तरमा रहेको मानव प्रजाति यहीँ भाषाको विकासले सबैभन्दा माथिल्लो तहमा आइपुग्यो र पृथ्वीको सारा जीव तथा वनस्पतिमाथि हैकम चलाउन सक्ने हैसियतको भयो । भाषाको विकासले गर्दा आदिम मानव जातिहरुले आफ्नो कुरा अरूलाई सहजै बुझाउन सके र एकीकृत समुदाय निर्माण गर्न सके । भाषाकै कारण एक अर्काबीच भरपर्दो सूचना आदान प्रदान गर्न सके । कतिपय भाषाहरु मा भाषालाई संकेतको रूपमा अभिव्यक्त गर्न चित्रात्मक रूपमा लिपि समेत एकसाथ निर्माण हुँदै आयो भने कतिपय भाषामा लिपि निर्माण हुन सकेन । भाषा संगसंगै विकास भएको लिपिमा चिनियाँ र जापानीज लिपिलाई लिन सकिन्छ । जस्तै : चिनिया र जापानिज भाषामा रुख लेख्नु पर्यो भने रुख जस्तै संकेत भएको लिपि प्रयोग गरिन्छ । ई बाहेक धेरै लिपिहरु चै पछिबाट निर्माण भएका हुन् । कतिपय लिपि निर्माण भएको त धेरै भएको छैन ।

तर हामी लिम्बुहरूले प्रयोग गर्दै आएको लिपि ठ्याक्क कहिले बन्यो यकिनका साथ कसैले भन्न सक्ने स्थिति छैन । कतिपयले ब्राम्ही लिपिबाट हाम्रो लिपि बन्यो भन्छ्न् । कतिपयले प्रथम सिरिजङ्गाले बनायो भन्छन् । कतिपयले युमा माङले लिपि अविष्कार गरेर दिएको पनि तर्क गर्छन् । तथापि मुन्धुममा माङ सक्, हाङ सक्सक् भनेर अक्षरहरूको वर्णन गरिएको हुँदा हाम्रो लिपिको विकास धेरै पहिले भएको मान्न सकिन्छ । ईतिहासकार इमान सिं चेम्जोङले तागेरा निङवाभुमाङले सावागेन येहाङको हातमा लिखित शास्त्र प्रदान गरेको उल्लेख गरेका छन् । (चेम्जोङ, किरातको वेद, पृष्ठ २५ को बुँदा नं १७६) यसबाट के प्रमाणित हुन्छ भने दशौं हजार बर्ष अगाडि येहाङको समयमा नै लिपिको विकास भैसकेको थियो । यस कालखण्डमा विकास भएको यो लिपिलाई कतै कतै येहाङ लिपि पनि भन्ने गरिएको छ र त्यहीँ लिपिलाई नै पछिल्लो समयमा सिरिजङ्गाद्वारा परिमार्जन, पुनरुत्थान र प्रचारप्रसार गरिएको पुष्टि हुन्छ । किरात समुदायको प्राग ईतिहासबारे अन्वेषण गरेका सर फ्रान्सिस ह्यामिल्टनको सन् १८१९ मा प्रकाशित An account of the Kingdom of Nepal and surrounding territories annexed पुस्तकमा ई.पू. ४००० वर्ष अर्थात् ६००० वर्षअघि पर्सियाको खाडीको उत्तरी समभुमिमा बस्ने सौमर किरातहरुसँग एक प्रकारको अक्षर भएको कुरा उल्लेख छ । यसबाट पनि के प्रष्ट हुन्छ भने आजभन्दा ६००० बर्ष अघि नै किरात लिपि अस्तित्व रहेको कुरा प्रमाणित हुन्छ । आजभन्दा ई.पू. ५०० अर्थात २५०० वर्षअघि लेखिएको बौद्ध धर्मावम्बीहरूको धर्मग्रन्थ ललित विस्तार ग्रन्थमा चौसठ्ठी लिपिको वर्णन गरिँदा ११ औं स्थानमा ‘किरात लिपि’लाई उल्लेख गरिएको छ । सन् १९२८ मा प्रकाशित तुम् याक्थुङ निङवाफु साप्ला पुस्तकका सम्पादक सुबेदार बाजवीर थलङले भूमिकामै ‘किरात याक्थुङ अक्षर’ भनी उल्लेख गरेका छन् (थलङ, १९२८) ।

लेखक शेर्मा ।


माङ सक् सक्, हाङ सकसक, किरात लिपि, याक्थुङ लिपि या लिम्बू लिपि भनिँदै आईएको लिपिलाई सिरिजङ्गाको नाम दिइएको तथ्य आफैमा त्यति पुरानो होईन । सिक्किमतिर केही अगाडि देखि फाट्टफुट्ट सिरिजङ्गा लिपि भनिए पनि वि.सं. २०५२ सालमा पाँचथरको फिदिममा सम्पन्न कियाचुको तेस्रो अधिवेशनले लिम्बुहरूले चलाउँदै आएको लिपिलाई ‘किरात सिरीजङ्गा लिपि’ भनेर जाने प्रस्ताव पास गरेपश्चात किरात लिपिकोपछि सिरिजङ्गा भन्ने फूर्का जोडिन थालिएको हो । ई सबै तथ्य विचार गर्दा लिपिको नाममा किरात भन्ने फुर्का पुरानो र सिरिजङ्गा भन्ने फुर्का चै नयाँ हो भन्ने पुष्टि हुन्छ । आफैमा सिरिजङ्गा भन्ने पात्र लिम्बू समाजमा मिथक जस्तो पात्र मात्रै हुन् । उनको वास्तविक ईतिहास उति ज्ञात छैन । हड्सन पाण्डुलिपिका केही टिपोटहरुमा उनको हस्तलिखित भनिएका केही खेस्रा भेटिएकोसम्म सत्य हो । कतिपय ती खेस्राहरु मा सिरीचङ्क भनेर लेखिएको पनि भेटिएकोले उनको नामबाट नै एक पटक बहस उप्काउनु जरुरी छ । उनले लिम्बू वस्तीमा कहाँ कहाँ भाषा लिपि पढाएर कति वटा स्कूल खोलेर नेपालबाट किन खेदिए र तत्कालीन शासकहरु कहिल्यै नआई पुग्ने ताप्लेजुङको कुना कन्दरामा सजिलै लुक्न सक्ने सिरिजङ्गाले किन ताप्लेजुङ छाडेर सिक्किमतिर भागेर ई कथा र पटकथाहरुको सन्दर्भमा तथ्यहरु खोज्न जरुरी छ । खैर सिरिजङ्गाको बारेमा रचिएको कथा र पटकथा जे जस्तो भएपनि उनले जे जसरी सहादत प्राप्त गरेको भएपनि उनको सहादतले बनाएको narratives एकदम बलियो छ । नेपालमा आफ्नो भाषा लिपि पढाउन दिएनन् र सिक्किम जाँदा त्यहाँ मारिए भन्ने narratives ले भाषा लिपि संरक्षणमा लागिरहनु पर्ने प्रेरणा दिन्छ । उसो र हाम्रो लिपिलाई उनको नाम दिनु उति गलत छैन । नाम दिईएकै छ । उनको अगाडि किरात फूर्का जोडेर अतः सिरिजङ्गाको इतिहास र योगदानलाई नकार्दै उनको अस्तित्व नामेट गरियो भन्ने लेखकको दावी एकदम झुटो र अतिरञ्जना बाहेक केही होईन । बरु लेखकमा लिम्बू समुदायबाट किरात शब्दको समूल अन्त्य हुनुपर्छ भन्ने सोच हावी भएको देखिन्छ । यो आफैमा भ्रामक सोच हो । समाज अस्थिर बनाउने सोच हो । वर्षौंदेखि किरात भनिँदै आएको तथ्य बलियो हुँदा हुँदै किरातको पछि सिरिजङ्गा जोडिएकोमा कसैले एकशब्द विरोध गरेको देखिएको छैन । सिरिजङ्गाको अगाडि किरात फूर्का जोड्नु हुँदैन भनेर सिरिजङ्गाको नाममा अनेक कथा र पटकथा रच्दै हिँड्नेहरूले बेलैमा आफ्नो कुखुराको जस्तो छाती अलिक फराकिलो पार्न आवश्यक छ । विरोधको लागि विरोध र निषेधको लागि निषेध नै गर्दै जाने हो भने ईतिहासका पानाहरू ले किरात लिपिको पक्षमा नै बलियो साविती बयान दिई रहेका छ्न । हाम्रो बहस यतातिर नजाओस् । हामीले हाम्रो ध्यान भाषा लिपि कसरी बचाउन सकिन्छ भन्नेमा केन्द्रित गर्न जरुरी छ ।

२. यसकारण लिपिको नाममा ‘किरात’ फुर्का जोड्न जरुरी छ

सिरिजङ्गाको नाम अगाडि ‘किराँत’ फूर्का जोड्नै पर्ने दुई तीनवटा कारणहरू छन् । सिरिजङ्गा आफैले लिपि निर्माण गरेका होइनन् । उनले प्रयोग मात्रै गरेका हुन । संरक्षण मात्रै गरेका हुन् । ईतिहासको गर्तमा खोज्दै जाँदा लिपि संरक्षणमा सिरिजङ्गाकै हाराहारीले योगदान पुर्याउने व्यक्तिहरूको सूची लामो हुन जान्छ । चाहे पहिलो पटक सिरिजङ्गा लिपिको किताब प्रकाशित गर्ने वाजवीर थलङ किन नहोउन् । लिपि विकासका खातिर लालसोर सेन्दाङ, फाल्गुनन्द, रनधोज नेम्बाङ र इमान सिं चेम्जोङहरुले काम नगरेको भए हाम्रो लिपिको विकास सम्भव थिएन । लिम्बू साहित्यका महाकवि पुष्प थाम्सुहाङ् र पहिलो उपन्यासकार पीएस मुरिङ्गलाले लिपि विकासको फैलावटलाई थप फराकिलो बनाए । त्यसपछि बैरागी काईलाले आफ्नै गोजीको पैसा लगाएर हाम्रो लिपिको कम्प्युटर फन्ट तयार नगर्नु भएको भए शायद लिपि विकासको सवालमा यति उन्नति सम्भव नै थिएन । आज हामी लिपिमा नामसम्म लेख्न नसक्नेहरुले अनेकौं बबण्डर मच्चाई रहँदा लिपि विकासमा यत्रो विघ्न योगदान पु¥याएकाहरुले के सम्झिरहेका होलान् ? हामीले कहिले सोचेका छौं ? अहिलेसम्म आफ्नो लिपिमा एक अनुच्छेद नलेखेको अर्जुन माबुहाङले लिपि उन्नयनका खातिर आफ्नो सम्पूर्ण जीवन र ऊर्जा लगानी गर्नेहरूलाई सम्झिनु पर्दैन ? उनले यो लेखमा सिरिजङ्गा बाहेक लिपि विकासमा कसैको योगदान नभएको तर्क गरेका छन् । सिरिजङ्गाको बारेमा हामिले जुन narratives निर्माण गरेर गयौं, त्यसले भाषा लिपि विकासमा एउटा भावना निर्माण गर्न सक्ला । तर त्यतिले मात्रै लिपि विकासमा योगदान पुग्दैन । भावनाले मात्र लिपि बाँच्दैन । मायाले मात्र लिपि बाँच्दैन ।

आज कोही लिम्बूले भावनामा बगेर या राजनैतिक उदेश्यले प्रेरित भएर हामी किरातवंशी होइनौँ भनिरहेको भए त्यो उसको भ्रम मात्रै हो । या त अहंकार । कतिपय लिम्बुहरू फाल्गुनन्दको विरोध गर्नकै लागि किरात होइनौ भन्ने भेटेको छु । कतिपय किरात याक्थुङ चुम्लुङको विरोध गर्न किरात होइनौ भन्नेहरू छन् । कतिपय प्रदेश एकको नामकरणको सवालमा किरात प्रदेशको सम्भावना बलियो हुँदै गएकोले राजनैतिक प्रतिशोध साध्न लिम्बुहरू किरात होइनौँ भन्दै हिँडेको भेटेको छु । तर तत्कालीन गोर्खा राज्यसँग भएको सन्धि सम्झौता सबैमा किरात भनेर लेखिएको प्रष्ट छ । कोही लिम्बुहरूले किरात होइनाँै भन्छ भने कि ऊ सज्जन छैन कि त उसको उद्देश्य गलत छ भनेर बुझ्दा भई हाल्छ ।

नेपालको पुरानो ऐतिहासीक दस्तावेजहरुमा किरात लिपि भनिएका तथ्य उजागर भएको छ । बौद्ध धर्म ग्रन्थ ललित विस्तार ग्रन्थमा चौसठ्ठी लिपिको गणना हुँदा किरात लिपिको उल्लेख गरिएको छ । नेपाल सरकारको सरकारी अभिलेखमा ‘किरात लिपि’ भनी उल्लेख गरिएको छ । लिम्बू भाषाको पहिलो पुस्तकमा ‘किरात लिपि’ नै भनेर उल्लेख गरिएको छ । इनै कारणहरूले लिपि नामकरणको सवालमा सिरिजङ्गाको पछि किरात फूर्का आवश्यक पर्छ । तथापि अहिले हाम्रो बहस लिपिको नामकरणमा के रहनु पर्छ भन्नेमा मात्रै केन्द्रित हुनुहुँदैन । लिपिलाई अन्य भाषीहरुसँग साझा बनाइँदा आइपर्ने प्राविधिक र भाषिक जटिलतामा कसैको ध्यान केन्द्रित भएको देखिएको छैन । खोई कसले हो कुन्नि लिपि सम्बन्धी अन्तराष्ट्रिय रुपमा अभिलेख राख्ने ISO 15294 मा लिम्बू लिपि(limbu script) भनेर दर्ता गराई सकेको रहेछ । हामी किरात र सरिजङ्गामा कुन फूर्का जोड्ने भनेर अल्मलमा छौँ । प्राविधिक रूपमा सुधार गर्नु पर्ने विषयमा बहस गर्नै सकेको छैनौं । लिपिलाई साझा बनाउँदा आइपर्ने जटिलताको सवालमा बहस गरेकै छैनौँ । लिपिमा हठात केही वर्णहरु थपिँदा आइलाग्ने समस्याको सवालमा बहस गर्नै विर्सिरहेका छौँ ।

३. लिपिलाई साझा बनाइँदा विकास होला कि विनास ?

कतिपय कुराहरुलाई चाहेर पनि साझा बनाउन सकिन्न । प्रकृतिले नै अलग बनाएको हुन्छ । जबरजस्ती साझा बनाउन खोजिँदा विकास भन्दा विनाश भएको उदाहरणहरु नै धेरै भेटिन्छ । फेरी कुनै पनि कुरालाई साझा बनाउने नारा दिन जति सजिलो छ त्यसलाई व्यवहारिक पक्षमा उतार्न उतिकै जटिल हुन्छ । अहिले किरात समुदायमाझ लिम्बु भाषीहरूले चलाउँदै आएको लिपिलाई साझा बनाएर जाऔँ भन्ने नारा तातो विषय बनेर धेरैको मगजमा उफ्रिरहेको छ । कतिले यहीँ विषय बोकेर हिँडेका कारण जिउँदै श्रद्धाञ्जली भेटिसके भने कतिले भौतिक आक्रमणसम्मको धमास खुलेआम भेटिरहेका छन् । कतिपयले आफ्नो बौद्धिक स्तर बिर्सेर तँ तँ र म म को धरातलसम्म मा ओर्लिएर पाखुरा सुर्किरहेका छन् । अनि कतिपय हिजोसम्म आफ्नो भाषामा भात मागी खान नजान्नेहरु र लिपिमा आफ्नो नामसम्म फुटाउन नसक्नेहरु आज एकाएक भाषा र लिपिको क्षेत्रमा प्रकाण्ड विद्वान भएर अघि आइरहेका छन् । जे होस् लिपिलाई साझा बनाएर जाने विषय लत्याएर किरात याक्थुङ चुम्लुङले फुर्सदिला लिम्बुहरूलाई गज्जबको काम उपलब्ध गराएको छ । कोहीलाई दिनभर कोणसभा गरेर भाषण गर्दै हिड्ने, लिपि जलाउदै हिँड्ने बनाएको छ । कोही बलियो बाङ्गाहरुलाई पाखुरा सुर्काउदै बस्ने बनाएको छ । कोहीलाई भाषाविद बनाएको छ । कोहिलाई लिपिविद बनाएको छ । कोहीलाई सिरिजङ्गाविना एकछिन पनि बाँच्न नसक्ने पागलप्रेमी बनाएको छ । कोहीलाई किरात फूर्का जोडि दिएर गज्जक परेर बस्ने बनाएको छ । किरात याक्थुङ चुम्लुङले लिपिलाई साझा बनाउने भनेर लिम्बुहरूलाई एक न एक काम दियो । तर लिपिलाई साझा बनाएर जाने निहुँमा हठात केही वर्ण र उप चिन्ह थपेर जाँदा पार्ने असरबारे चिन्ता गर्ने चै एकजना पनि बनाउन सकेन ।

प्रस्तावित ‘किरात सिरिजङ्गा लिपि’ को चार्ट ।

आज अमूक भाषीहरुका लागि लिपि साझा बनाउने निहुँमा दुईचार वटा अक्षर बाङ्गो बनाउन तयार हुनेले भोलि अर्को भाषीहरु तपाईहरुको लिपि चाहियो भन्दै अघि आउँदा आफ्नो लिपि थप उत्तानो पार्न तयार होलान् । यसरी अरूका लागि हरेक पटक बाङ्गो टिंगो बनाउँदै जाँदा हाम्रो लिपिले कतिञ्जेल थाम्ने हो ? त्यो त निकट भविष्यमै देखिएला । भाषा, धर्म, संस्कृति र लिपि मानिसको साझा सम्पत्ति हो । अहिले हामी लिम्बू भाषीहरुले चलाई रहेको लिपि हामी लिम्बुहरूको मात्रै हो भनेर दाबी गर्न मिल्दैन । यो नैतिक प्रश्नले हामीलाई जेलेको छ ।

६०० बिसी ताका invented ल्याटिन लिपि(रोमन लिपि) हाल विश्वका करिब १२ सय भाषा लेख्न प्रयोग गरिन्छ । १२२ वटा देशमा official script को रूपमा स्वीकार गरिएको छ । रोमन लिपिकै आधारशिलाबाट अन्य धेरै लिपिहरु विकास गरिएका छन् । भियतनाममा पहिले चाइनिज लिपि चलाईएता पनि प्रयोगको हिसाबले अत्यन्त जटिल भएको हुँदा रोमन लिपिको आधारशिलाबाट नै भियतनामी लिपि आविष्कार गरियो । भियतनामी लिपिमा सबै अङ्ग्रेजी अक्षरहरू दुरुस्तै प्रयोग गरिन्छन् । खाली त्यसमा अलिकति थोप्ला थपेर थोरै फरक बनाइएको छ । भियतनामी भाषीहरुले अंग्रेजहरुसँग साझा लिपि शेयर गरेनन् । बरु अंग्रेजहरु को लिपिलाई आधार मानेर छुट्टै लिपि निर्माण गरे । भाषिक संरचनाका हिसाबले पनि फरक फरक भाषाका लागि एउटै लिपि चलाउन जटिलता उत्पन्न हुन्छ ।

हाम्रो ‘किरात सिरिजङ्गा लिपि’ अझै धेरै भाषीले आफ्नो official script को रूपमा चलाउनु राम्रो कुरा हो । यसमा विरोध गरिहाल्ने कारण छैन । तर अनिवार्य बाध्यताले चलाउनै पर्ने रोमन लिपि र रहरले चलाउनु पर्ने ‘किरात सिरिजङ्गा लिपि’ बीच तुलना गरेर हुँदैन । आजको डिजिटल युगमा रोमन लिपि चाहेर या नचाहेर बाध्यताले पनि प्रयोग गर्नैपर्ने स्थिति छ । कसैसँग म्यासेजमा कुरा गर्दा होस् या बैंक एटीएम प्रयोग गर्दा होस् दैनिक रूपमा हामीले रोमन लिपि नै प्रयोग गरिरहेका हुन्छौँ । म्यासेजमा कुरा गर्दा देवनागिरी लिपिमा भन्दा रोमनमा टाईप गर्न सजिलो मान्ने पुस्ता जन्मिई सकेको छ । भाषा र लिपि जहिले पनि सजिलोका लागि प्रयोग गरिन्छ । आफैलाई आफूलाई अप्ठेरो बनाउने भाषा र लिपि कसैले पनि प्रयोग गर्दैन । परम्परागत रूपमा चिनियाँ लिपि लिपि प्रयोग गरिरहेका कोरियन र भियतनामीहरु ले चिनियाँ लिपि प्रयोग गर्न गाह्रो भएको भन्दै छुट्टै लिपि नै बनाएर गएको ईतिहास ज्यूँदो छ । अतः लिम्बू भाषीहरु बाहेक अन्य भाषाका वक्ताहरुले जानाजान आफूलाई अप्ठेरो बनाउन लिम्बुहरूको लिपि व्यावहारिक रूपमा प्रयोग गर्छन् जस्तो लाग्दैन । राज्यलाई हाम्रो पनि लिपि छ है भनेर तथ्याङ्कको रूपमा देखाउन लिपिलाई अघि सार्दा बाहेकको अन्य काममा हाम्रो लिपि प्रयोग गरिन्छ र हुन्छ जस्तो लाग्दैन । यसबाहेक साझा लिपिको रूपमा एउटै लिपि चलाउँदा अन्य विविध कारणले पनि समस्या उत्पन्न हुन सक्छ । जस्तै लिम्बू भाषामा नभएका ध्वनिहरु मा आधारित ट, ठ, ड, ढ, झ आदि वर्णहरु थप गरेर ४८ वटा व्यञ्जन वर्ण भएको वर्णमाला निर्माण गरिएको छ । लिम्बू भाषाको ध्वनिमा नभएका र नेपाली भाषामा प्रसस्त प्रयोग भईरहेको वर्णहरु लिम्बू लिपीमा समेत निर्माण गरिँदा बिस्तारै लिम्बू भाषामा नेपाली शब्दहरूको उपस्थिति बढ्दै जानेछ । जस्तै : अहिलेसम्म लिम्बू लिपिको वर्णमालामा झ वर्ण नभएको हुँदा नेपाली शब्द झापा लेख्नुपर्दा कि छापा, कि जापा लेखिँदै आएको छ । लिपिलाई साझा बनाउन भनेर गठित किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धि विज्ञ कार्यदलमा लिम्बुहरूको प्रतिनिधित्व गरेर गएका प्राज्ञ अमर तुम्याहाङले चै पटक पटक किराँत समुदाय र ती बाहेकका अन्य चार भाषीहरु हायू, थामी, जिरेल र सुरेल भाषीहरुले अलग अलग वर्णमाला चलाउने हो भनेर प्रष्ट पार्न खोजेको देखिन्छ । यो भनेको के हो ? जब कि वर्णमाला नै अलग अलग किसिमले बनाएर जानुपर्छ भने किन साझा नाम दिएर जानु परेको ? किरात सिरिजङ्गा लिम्बू(याक्थुङ) लिपि, किरात सिरीजङ्गा राई लिपि, किरात सिरिजङ्गा जिरेल लिपि आदि भनेर अलग अलग नाम दिएर जाँदा बिग्रिन्छ चै के ? किरात याक्थुङ चुम्लुङ र कथित विज्ञहरुको कार्यदलले सबैको चित्त बुझ्ने गरी जवाफ दिन नसकेको विषय यो पनि हो ।

पुरातत्व विभागमा अभिलेखीकरण गरिएको लिपि विकासक्रमको तालिका ।


लिपि विवादमा देखिएको अर्काे सवाल बढी विज्ञान केन्द्रित आत्मरति पनि हो । आफूलाई लिम्बू समुदायको सबैभन्दा ठूलो भाषा वैज्ञानिक सम्झिने अमर तुम्याहाङ कैंची, फित्ता र टेप लिएर बसेका छन् । उनले एकल प्रयासमा हालसम्म कैयौँ पटक लिपि संशोधन गरिसकेका छन् । कहिले glottal sound मुक्फ्रेङलाई व्यञ्जन वर्ण मानेर वर्णमाला मै राखिदिन्छन् । कहिले पुरानो लेखोटहरुमा लिम्बू भाषाको ध्वनिमा हुँदै नभएको ‘श’ पनि भेटिएको भन्दै राखिदिन्छन् । कतिपय अक्षर ‘IPA’ को ध्वनि अनुसार मिलाउनु पर्छ भन्दै थपिदिन्छन् । उनका अनुसार अहिले थपिएको २३ वटा नयाँ वर्णहरू पनि ‘IPA’ अनुसार मिलाउन थपिएको रे । हामीले ‘IPA’ तालिका अनुसार हाम्रो लिपि बनाउँदै जाने हो भने किन २३ वटा थपेर ४८ वटा मात्र बनाउने ? हाल ‘IPA’ मा भएको १०७ वटा ध्वनि चिन्ह र ५२ वटै diacritics(accents) हरु राखेर बनाई दिउँ न कुरै सकिन्छ । विज्ञानले बोकेको तथ्य सत्य नजिक हुन्छ । तर विज्ञान आफैमा अन्तिम सत्य होईन । विज्ञानले प्रमाणित गर्न नसकेको सत्यहरु अझै पनि यो लोकमा कैयौँ छन् । आफै बेला बखत संसोधन हुँदै आएको ‘IPA’ चार्टलाई अन्तिम सत्य मानेर त्यसैको आधारमा मात्र भाषा र लिपि चल्छ भन्ने तर्क गर्नु नमिल्दो तर्क गर्नु हो । ‘IPA’ चार्टको बहस भाषा विज्ञान पढ्ने विद्यार्थीहरुका लागि हो । कक्षा एकमा आनी?पान पढ्दै गरेको बच्चाको लागि होईन । दैनन्दिन हामीले गरिरहेका नियमित क्रियाकलापहरु सबैलाई विज्ञानको परिभाषा अनुसार व्याख्या गर्न थाले कस्तो होला ? एकपटक परिकल्पना गरी हेर्नुहोस त । जस्तै : विज्ञान नबुझेको मान्छेलाई पानी माग्दा हाइड्रोजन दुई वटा र अक्सिजन एउटा देऊ भनेर मागियो भने पानी पाईन्छ कि झट्टि भेटिन्छ ? म सुत्नु गएको ल भन्नु पर्ने ठाउँमा गतिको तेस्रो नियम प्रयोग गर्न गएको ल भनियो भने विज्ञान नपढेको मान्छेले के बुझ्ला ? अतः सबै विषयलाई विज्ञानको कडिमा ल्याएर नाप्नु हुँदैन । भाषाको सवालमा पनि भाषा विज्ञानको परिभाषा नै अन्तिम सत्य हो भन्ने लिढेँ ढिपी गर्नु हुँदैन ।

लिपि बचाउने सवालमा किरात याक्थुङ चुम्लुङले संसारमै नभएको नौलो अभ्यास जन्मायो । लिपिलाई साझा बनाउने । भोली भाषा बचाउने नाममा भाषा पनि साझा बनाऊँ भन्ने होला । त्यसपछि संस्कार संस्कृति बचाउने सवालमा पनि उहीँ प्रस्ताव ल्याउँछ होला । किरात याक्थुङ चुम्लुङ र सेरोगेसी सोचले ग्रस्त केही लिम्बू विद्वानहरूले फुकिरहेको ‘साझा मन्त्र’ले मात्र भाषा र लिपिको बाँच्दैन । आजसम्म लिपि साझा नहुँदा पनि बाँचेकै हो । भाषा साझा नहुँदा पनि बाँचिरहेकै छ । बरु भारत र नेपालको साझा भाषा संस्कृत भाषा दुवैतिरको सरकारहरुले करौडौं खर्च गरेर पनि बचाउन सकिरहेका छैनन् । भाषा र लिपि साझा हुँदैमा बाँच्ने होईन । भाषा र लिपिको अधिकतम प्रयोगले बाँच्ने हो । निरन्तर प्रयोगले बाँच्ने हो । लिम्बुहरूको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङले के कसरी हाम्रो भाषा र लिपिलाई हरेक लिम्बुहरू ले दैनिक जीवनमा अधिकतर प्रयोग गर्ने वातावरण निर्माण गर्न सकिन्छ त्यतातिरको उपाय खोजी गर्ने हो । अन्य भाषीहरु लाई हाम्रो भाषा र लिपि प्रयोग गरी देऊ । तपाईहरु ले प्रयोग नगर्दा हाम्रो भाषा लिपि सखाप हुन्छ भन्दै बिलौना गर्न जाने होईन ।

कोरिया र चीनले सन् १४४३ सम्म साझा लिपि प्रयोग गर्थे । तर चिनियाँ लिपि अत्यन्त जटिल भएको हुँदा चिनियाँ अक्षर पढ्न कोही अघि सर्दैन थिए । कोरियाभरी साँवा अक्षर चिन्ने मान्छे औँलामा मात्र गन्न सकिने गरी थिए । त्यसपछि तत्कालीन कोरियन शासक सेजोङले विद्वानहरू लाई बोलाएर चिनिया लीपिभन्दा सजिलो र छिट्टो सिक्नरलेख्न सकिने छुट्टै लिपि बनाउन लगाए । यसरी नयाँ बनेको कोरियन लिपि र कोरियन भाषा प्रयोग गर्नेहरु चिनियाँ भाषा र लिपि प्रयोग गर्नेहरुको संख्यासँग तुलना गर्नुपर्दा सयमा पाँच भाग मात्रै होलान् । तर आज अरबौँले बोल्ने र लेख्ने चिनियाँ भाषा र चिनियाँ लिपिभन्दा ५ करोडको संख्याले बोल्ने कोरियन भाषा कुनै पनि हालतमा कमजोर छैन । विश्वको कला बजारमा कोरियन ड्रामा सिरिज, चलचित्र र गीत संगीतले चिनियाँ भाषामा बनेको चलचित्र र गीत संगीत भन्दा राम्रो व्यापार गरिरहेको छ । भाषा र लिपि ठूलो जनसंख्याले प्रयोग गर्दैमा मात्र उन्नत र सभ्य हुँदैन भन्ने कुरा चुम्लुङका नेताहरुले कहिले बुझ्ने होला ?

(लेखमा व्यक्त गरिएको विचार लेखकका निजी धारणा हुन् । सं.)