March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजङ्गा लिपि संरक्षण गर्न भन्दै प्रवासमा पनि अभियन्ताहरू संगठित, लिपि तोडमोड गरिएको भन्दै जनाए आपत्ति

सिरिजङ्गा लिपि संरक्षण गर्न भन्दै प्रवासमा पनि अभियन्ताहरू संगठित, लिपि तोडमोड गरिएको भन्दै जनाए आपत्ति

कतार । याक्थुङ लिम्बु जातिको ऐतिहासिक दस्तावेज, धरोहर र मौलिक सम्पत्तिमा गम्भीर धक्का पुग्ने गरी सिरिजङ्गा लिपिको नाम र वर्णमाला तोडमोड गरिएको भन्दै प्रवासबाट पनि अभियन्ताहरूले आवाज उठाएका छन् । सिरिजङ्गा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समितिको नामबाट संगठित हुँदै उनीहरूले लिपिको ऐतिहासिकता र मौलिकता जोगाउन सक्रिय रहने उद्घोष गरेका छन् ।

सिरिजङ्गा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्ति ।

बुधबार समितिले एक विज्ञप्ति प्रकाशित गर्दैै सिरिजङ्गा लिपिलाई अन्य समुदाय र भाषिक वक्ताका लागि समायोजन गर्ने नाममा वर्णमाला थपेर तोडमोड गर्न नहुने उल्लेख गरेको छ । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञहरूको कार्यदल’ले तयार पारेको ९६ पृष्ठको प्रतिवेदनको विरोध गर्दै समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले किरात याक्थुङ चुम्लुङले लिपि समायोजनका नाममा लिपिको ऐतिहासिकता तोडमोड गर्ने कार्यको नेतृत्व गरेको भन्दै सो कार्य स्थगन गर्न समेत माग गरेको छ ।

Advertisement

सिरिजङ्गा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समितिले जारी गरेको प्रेस विज्ञप्ति ।

समितिका अध्यक्ष तिलविक्रम थेवे र सचिव एल नेम्वाङले हस्ताक्षर गरेको विज्ञप्तिमा लिपिको विकास, प्रबद्र्धन र प्रचारप्रसारमा ताप्लेजुङको याङ्वरक सिनाम–तेल्लोकमा जन्मिएका सिरिजङ्गाा सिं थेवेको अमूल्य योगदान रहेको उल्लेख गरेको छ । समितिले सिरिजङ्गा लिपि भनेर हज्सन पाण्डुलिपि जस्तो ऐतिहासिक दस्तावेजदेखि लिएर नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो सर्वोच्च प्राज्ञिक निकायको प्रकाशित कोष र व्याकरणका पुस्तकहरूमा उल्लेख गरिएको स्पष्ट पारेको छ । २४(मोटो ‘श’ सहित २५) को व्यञ्जन वर्ण र ९ स्वर वर्ण रहेको वर्णमालामाथि समायोजन कार्यदलले अतिरिक्त अक्षर थपेर भावी पुस्तालाई गुमराहमा राखेको र याक्थुङ लिम्बुको भाषा, लिपि र नामको अस्तित्व नामेट पार्ने दुस्साहास गरेको आरोप लगाएको छ । फेब्रुअरी २८ को बैठकले ८ सल्लाहकार र ४५ सदस्यीय कार्य समिति समेत घोषणा गरेको छ ।

चार जातीय संस्था अन्तर्गत रहेको किरात समन्वय समितिले २०७८ असोज ११ गते विज्ञहरूको कार्यदल गठन गरेको थियो । डा. तारामणि राई संयोजक रहेको कार्यदलमा प्राज्ञ अमर तुमयाहाङ, डा. लाल श्याँकारेलु रापचा, डा. गणेश जिमी, गणेश राई, डीबी आङबुङ, इन्दिरा जिमी, उत्तम सुनुवार र तीर्थराज मुकारुङ रहेका थिए । कार्यदलले ४८ वटा व्यञ्जन वर्ण र १२ स्वर वर्णको किरात सिरिजङ्गा लिपि रहेको वर्णमालाको सूची तयार पार्दै गत पुस २७ गते किरात समन्वय समितिलाई प्रतिवेदनसहित हस्तान्तरण गरेपछि समितिले माघ १ गते सो सार्वजनिक भएको थियो । प्रतिवेदन सार्वजनिक भएलगत्तै देश, विदेशभरबाट प्रतिवेदनको व्यापक आलोचना भएको थियो । दे् विदेशका चुम्लुङकर्मी, युमा साम्यो महासभा, किरात धर्म तथा साहित्य उत्थान संघ, याक्थुङ चुम्लुङ, याक्थुङ भाषाविद् एवम् अभियन्ताहरूले प्रस्तावित वर्णमाला अव्यावहारिक हुने भन्दै चर्को विरोध गरेका थिए । सिरिजङ्गा लिपि संरक्षण संघर्ष समितिका नाममा नेपालमा अभियन्ताहरूले प्रतिवेदन जलाउने, कोण सभा गर्ने र अन्तरक्रिया आयोजना गर्ने काम गरिसकेका छन् ।

सिरिजङ्गा लिपिका विकासकर्ता, प्रचारक एवम् प्रवर्तक मानिएका सिरिजङ्गा सिं थेवे ।