April 21, 2024, Sunday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

१२ औं शताब्दीतिर याक्थुङलाजे हाल लिम्बुवानको थाङवा राज्य या हाल तम्मरथुम(तमरखोला) मा साम्दुराहाङ भन्ने प्रख्यात राजा थिए । उनको राजधानी साम्लुप्लीमा थियो । साम्लुप्ली भनेको हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको फुरुम्बु गाउँमा पर्दछ । उनको दरबार दुई ठाउँमा थियो । हिउँदकालीन दरबार मिदुप्लुङ(मित्लुङ) उपत्यका थाङवामा(तमर नदी) को किनारमा थियो र बर्खाकालीन दरबार साम्लुप्ली चिसो र अग्लो ठाउँमा या डाँडामा थियो । दरबार भन्दा पनि बढी साम्लुप्ली यक(गढ) को रुपमा थियो । त्यहाँबाट मिक्वा/माईवा थुम, आठराई थुम तथा याङवरक थुमहरुवाट हुने आक्रमण तथा अतिक्रमण देख्न सकिन्थ्यो ।

साम्दुराहाङ निकै विद्वान थिए । मुन्धुमविद थिए । याक्थुङ मुन्धुममा पोख्त थिए । मुन्धुमहरु जनतालाई सुनाउँथे । उनी युमा थुक्मा (युमा ईश्वर आङमा आउने)थिए । युमा माङले थुक्मा गरेको बेला मुन्धुमहरु वक्दथे । युमाको साम् (आत्मा) चढेर आउने हुनाले उनको नाम साम्दुरा भएको भन्ने भनाई छ ।

Advertisement

साम्लुप्ली यक बनिनु र भनिनुमा उनीसँग रोचक प्रसंग जोडिएको छ । उनी मिदुप्लुङ उपत्यका राजधानीमा भएको बेला साम्लुप्लीतिरको जनतालाई भैँसीको आत्मा(साम) भूत बनेर भैंसीको बगाल बनेर भुईचालो(लुप्ली) गए जतिकै हल्लाउँदै गरेर राती आई जनतालाई दुख दिने, तर्साउने गर्थे । त्यस दुखवाट मुक्त हुन जनताले साम्दुराहाङलाई अपिल गरे । जनताको अपिल सुनेर साम्दुराहाङ आफ्नो सैनिकहरुसँग आई रातिको समयमा भुत भै आउने भैंसीहरु पर्खे । नभन्दै राती भूंईचालो लगाउदै भूते भैसीहरु आए । मुन्धुमी विद्या भएको साम्दुराहाङले आफ्नो विद्या तथा दैवी शक्तीको प्रयोग गरी भूते भैँसीहरुलाई भगाए । त्यसदिन देखि त्यहा भूते भैंसीहरु देखा परेनन् । जनताहरुले पनि त्यहाँ यक(गढ) वनाएर सैनिक राखी सुरक्षा दिईरहन अनुरोध गरे । सोही मुताविक थुम्कोमा माङथान (देवी थान)बनाई यक बनाए । त्यहाँ सैनिकहरु बस्दथे । त्यसको केही नजिक मैदानमा दरबार बनाए । सैनिकहरु परेड खेल्ने ठाउँ बनाए । त्यही बेलादेखि उक्त ठाउँको नाम साम्लुप्ली भयो । उनलाई साम्लुप्ली साम्दुराहाङ पनि भनियो । उनले पानी खाने ठाउँलाई हाङच्वालुङ भनिन थालियो । उनको पूर्खाहरु साम्वाहाङ याक्थुङ भएकोले साम्लुप्लीका साम्वाहाङ पनि भनिन्थ्यो । उनलाई थाङवा यकको राजा भएकोले थाङवाहाङ पनि भनिन्थे । फुरुम्वु पालुङवा याक्थुङ हरुले साम्सामा(पूर्खालाई सातो पुरयाउदा) गर्दा थाङवाहाङ भनेर पुकार्ने पनि गर्दथे । अहिले मुन्धुमविदहरु कम भएकोले पुकार्न छोडेका छन । तलका पुर्खाहरुलाई मात्र पुकार्ने गर्दछन ।
साम्दुराहाङको बारे थप केही कुराहरु पनि छन् । उहाँको पालामा थिवोङ याक्थुङ (१० लिम्बुहरु) बीचमा झैझगडा भैरहन्थ्यो । त्यसलाई कम गर्न उनले थिवोङ याक्थुङ हाङहरुलाई मिदुप्लुङमा बाेलाई चुम्लुङ(सभा) राखेका थिए । त्यहाँ ठूलो ढुंगा थियो । त्यहा हिउँदको बेला आगो तापेर चुम्लुङ बसिन्थ्यो । सबै थिवोङ याक्थुङहरुले उनलाई मान्दथे । उनको नेतृत्वलाई सारा याक्थुङलाजेले मानेको थियो । उनी युमा माङको भक्त थिए । उनमा याक्थुङ लिपिको पनि ज्ञान थियो । उनले ढुंगामा याक्थुङ लिपि कुदेको, रुखको वोक्राहरुमा लेखेको कुरा पाईन्छ । उनको दरबार परिसर साम्लुप्लीमा स्कूल बनाउँदा खनिने क्रममा ढुंगामा कुदिएको लिपि पाईएको थियो । पुरिएर रहेको ९-१० फिट अग्लो र दुई फिट चौडाई एक फिट जति मोटाईको ढुंगा भेटाएर गाडिएको छ । त्यो ठाउँमा साम्दुराहाङ लगायत उनका छोराहरु नाम्जाराहाङ, पतालुङहाङ, साम्दुराहाङ (द्वितीय), साम्दुनेहाङ हरुले राज्य गरेका थिए ।

लेखक पालुङ्वा ।

साम्दुनेहाङ परचक्री राजा थिए । उनी टाढा टाढा सम्म लड्न जान्थे । उनको संग्राम क्षेत्र याङवरक, यासोक, आठराई क्षेत्र थियो । उनको नाम सुवास र सम्बन्ध पधेयक सन्यक्पाहाङ तथा मरङ राज्य सम्म पनि थियो । उनलाई थाङवाको साम्वाहाङ भन्दथे । उनको लाप्सोहाङ र फेदेम्मीहाङ नामक दुई भाई छोराहरु थिए । लाप्सोहाङ जेठा स्वयम् राजा हुनाले कान्छा फेदेम्मीहाङले पनि राजा हुने मनसाय गरी बाबुको मृत्युपछि आमा काराङथाङवामालाई वंश र राज्य छुटाउन अपिल गरे । सोही मुताविक आमाले दुवैको माङगेना यक छुटाई दिएकी थिइन् ।

केही समयपछ आमाले बनाईदिएको माङगेना यक छोडी उनी आफैले फुञ्चेवुङमा माङगेना यक र दरबार बनाएका थिए । त्यसपछि आफ्नो राज्य अनुमोदनको फेदेम्मीहाङ दक्षिणको शक्तिशाली राज्य मरङया राजाको दरबारमा गई सेदांसेमिक मोहर लिएर आफ्नो राज्य पालुङवादेन फुञ्चेवुङ गएका थिए । उनी हाङ (राजा) अनुमोदित भएर आएपछि “हाङतेयेबा” भनियो । हाङतेयेबा हाङदेवा हुनपुग्यो ।

साम्दुराहाङदेखि साम्दुनेहाङसम्मकोले साम्लुप्लीमा राजधानी बनाई राज्य गरेका थिए । साम्दुनेहाङको छोरा लाप्सोहाङ र
फेदेम्मीहाङले आआफ्नै राज्य चलाएकोले लाप्सोहाङ साम्लुप्लीमा रहेपनि साम्लुप्लीको चर्चा कम हुँदै गयो ।
वि.सं. १८३१ मा याक्थुङलाजे (लिम्वुवान) सह-राज्यको रुपमा प्रवेश गरेपछि साम्लुप्ली अझ छाँयामा पर्दै गई हाल इतिहासको गर्वमा रहेको छ । यो एउटा ऐतिहासिक ठाउँ हो । थाङवा यकको सभ्यता उजागर गर्ने ठाउँ हो । यसलाई सम्बन्धित थरी फुरुम्वो र पालुङवाले पनि संरक्षण, सम्बर्द्धन र विकासमा जोड दिनु पर्दछ । साथै सरकारी पक्षवाट पनि यस क्षेत्रको उत्खनन गरी ऐतिहासिक दरबार क्षेत्रका रुपमा मान्यता दिएर कार्य गर्न नितान्त आवश्यक भएको छ । यसको लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारको ध्यान केन्द्रित हुनु पर्दछ ।