April 15, 2024, Monday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

डा. चैतन्य सुब्बालाई स्मरण गर्दै अभियन्ताहरू

विजयपुर । आदिवासी विषयका ज्ञाता, योजनाविद् तथा अधिकारकर्मी डा. चैतन्य मेन्याङ्वाे सुब्बाकाे गत बैशाख २० गते मंगलबार राति ७५ वर्षको उमेरमा निधन भएको थियोे । उनको निधनपछि जनजाति क्षेत्रका बौद्धिक व्यक्तिहरूले गहिरो रिक्तता महसुस गरेका छन्।

डा. सुब्बा सामाजिक लोकतान्त्रिक पार्टीका संस्थापक अध्यक्षसमेत रहिसकेका थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आदिवासी जनजाति प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहेका थिए। 

Advertisement

मुटुको शल्यक्रियापछि उपचारका क्रममा उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। उनको भाेलिपल्ट बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

डा.सुब्बाले महाप्रस्थान गरेपछि उनको कमीलाई धेरैले महसुस गर्दै आफ्नो धारणा दिएका छन् ।

प्राध्यापक बालकृष्ण माबुहाङ ।

नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव एवम् जनसंख्याविद् प्राध्यापक बालकृष्ण माबुहाङले पनि लेखेका छन् – ‘याक्थुङ (लिम्बु) सभ्यता र संस्कृति, युमा साम्माङको दर्शन र शास्त्रीय व्याख्याता तुतुगेन तुम्याङ चैतन्य सुब्बाको असामयिक निधनले स्तब्ध छु । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली छ। साथै शोकाकुल परिवार जनप्रति समवेदना छ ।’

चलचित्रकर्मी सञ्जाेग लाफा मगर ।

आदिवासी चलचित्रकर्मी सञ्जाेग लाफा मगरले आफ्नो स्ट्याटसमा लेखेका छन् – ‘नेपालको बौद्विक व्यक्तित्व मुन्धुम दर्शनका ज्ञाता, योजनाविद डा. चैतन्य सुब्बाको निधनले स्तब्ध बनेकोछु । मृत्तआत्माले पितृकोमा बास गरुन् ।’

चुम्लुङ संस्थापक एवम् आदिवासी अधिकारकर्मी नरप्रसाद लुम्फुङ्वा ।

आदिवासी याक्थुङ लिम्बु समुदायको जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङका संस्थापक एवम् आदिवासी अधिकारकर्मी नरप्रसाद लुम्फुङ्वाले पनि डा. सुब्बालाई सम्झेर लामै लेखेका छन् । ‘डा.चैतन्य सुब्बाको निधन लिम्बू याक्थुङ समाजलाई मात्रै नभई आदिवासी आन्दोलन र नेपाल एवम् नेपाली समाजलाई समेत अपूरणीय क्षति हो । नेपाली राजनीतिको मूलधारमा आदिवासी मुद्दा लिपिवद्ध रुपमा प्रवेश गराउने श्रेय डाक्टर चैतन्य दाईलाई जान्छ । पन्चवर्षीय योजनामा आदिवासी जनजाति मुद्दा लिपिवद्ध गर्ने श्रेय वहाँमा जान्छ । आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा कार्यकारी निर्देशक भई राजनीतिक दल र राष्ट्रिय योजना आयोगमा कोरेको मार्गचित्रलाई कार्यान्वयन तहमा बसेर फिल्डमा उत्रनुभयो । ५० को दशकको शुरुतिरै हुनुपर्छ, वहाँ लागू औषध सम्बन्धि एक कार्यक्रममा आउनुभएको थियो । अहिले सम्झँदा वहाँ डापान भन्ने संस्थासँग आबद्ध हुनुहुन्थ्यो । त्यसबेला वहाँ लिखित “दि कल्चर एन्ड रिलिजन अफ लिम्बु” चर्चामा थियो । लागूऔषध सम्बन्धी कार्यक्रममा म पनि सहभागी भएकोले किरात याक्थुङ चुम्लुङ धरानको आयोजनामा उक्त पुस्तक बारे चर्चा गर्न अनुरोध गरें । वहाँले सहर्ष स्वीकार गरेर अर्को दिन पुस्तक बारे डेढ दुई घन्टा बोल्नुभएको हिजो अस्ति जस्तो लाग्छ । वहाँले भन्नुभएको थियो, पुस्तकमा जसरी एउटा घरमा कोठाहरु हुन्छन् त्यसैगरी ती कोठा स्वरुप लिम्बू समाजको इतिहास, संस्कृति, धर्म औंल्याएको छु । कोठाभित्र के के छ, कसरी राखिएको छ, आउने पिँढीले गहिरो तरिकाले भर्ने काम गर्नुपर्ने छ । जीवनको उत्तरार्धमा चैतन्य दाईले मुन्धुमको अन्वेषण गरेर ती कोठाहरु आफैँले भर्दै सजाउँदै हुनुहुन्थ्यो । कतिपय पूरा भए होलान्, कतिपय अधुरो भए होलान् । राजनीतिक जीवनको पाटो छँदै छ । तर मलाई लाग्छ, दाईले सार्थक जीवन बाँचेको हो । चैतन्य दाईप्रति हार्दिक श्रद्धासुमन ।’

नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा ।

त्यसैगरी,थेचम्बु ताप्लेजुङका सुब्बालाई उनकै जिल्ला घर भई हाल बेलायतमा बसाेबास गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले समेत स्मरण गरेका छन् । ‘समाजशास्त्री,पहिचान अधिकारकर्मी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य, सामाजिक लोकतान्त्रिक पार्टीका पुर्व अध्यक्ष पुर्व नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सल्लाहाकार एवम् मुन्धुमी दर्शनका व्याख्याता श्रेद्वय मामा डा. चैतन्य सुब्बाज्युको निधनको समाचारले स्तब्ध बनाएको छ । उहाँ प्रती भावपुर्ण हार्दिक श्रद्धाञ्जली सहित उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त प्रकट गर्दछु ।’

फाेनिज यूके सचिव लीला सेलिङ माबाे ।

त्यसैगरी, कियाचु यूकेकी पूर्व उपाध्यक्ष, थामेन्दिङ्मा महिला समितिकी संस्थापक अध्यक्ष एवम् फाेनिज यूकेकी सचिव लीला सेलिङ माबाेले पनि लेखेकी छिन् – ‘उहाँको निधनले हाम्रो समाज र समुदायकोआवाज बोलिदिने लेखिदिने होनाहार व्यक्ति गुमाउँदा अति दुख लागेको छ।’

युवा विश्लेषक टङ्क सेलिङ ।

अमेरिकामा पीएचडी तहमा अध्ययन गर्दै गरेका युवा राजनीतिज्ञ, विश्लेषक एवम् लेखक टङ्क सेलिङले सुब्बालाई एक दार्शनिक भएको जिकिर गर्दै सम्झेका छन् – ‘डा. चैतन्य सुब्बाकाे निधनले मुन्धुमकाे दार्शनिकीकरणमा अपुरणीय क्षति पुगेको छ ! दर्शन आफैं समग्रताकाे बहस हाे । दर्शनको फरक आयामहरूमा व्याख्या र विश्लेषण गर्न केही जन्मजात गुणहरू हुनुपर्छ, त्यो गुण डा. सुब्बामा रहेको थियोे । जुन, मुन्धुम मान्ने समुदाय, विशेषगरि लिम्बू, राई र आदिवासी/जनजाति समुदाय मै ठूलो खाडल बन्नेछ ।

उहाँले राष्ट्रिय योजना आयाेगमा काम गर्नुभएको अनुभवकाे हिसाबले, नेपालको विकास निमार्ण र याेजना तर्जुमाकाे काम समेत उहाँको अनुभव सदा महशुस हुनेछ । समग्रमा, राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको छ ।

व्यक्तिगत सम्बन्धकाे हिसाबमा भन्नुहुन्छ भने, मेरो पछिल्लो सहकार्य, थाङ्साङ् लावती लिखित “मुन्धुम परम् विज्ञान” किताबको प्रकाशनकाे क्रममा नजिकबाट सहकार्य गर्ने अवसर पाएकाे थिए । उनलेे, साे किताबमा समिक्षात्मक टिप्पणी समेत राख्नुभएको छ । उहाँले मुन्धुमी दर्शनलाई विभिन्न आयामहरू व्याख्या गर्नुहुन्थ्यो र जीवन दर्शनका रूपमा अनुसरण समेत गर्नुहुन्थ्याे । जुन, भेटकाे क्रममा उहाँको व्यक्तित्वबाट प्रष्ट झल्किन्थ्याे । उहाँमा वर्ग विभेदकाे आभास पाईन्न थियोे । हामी, भाइ वर्गहरूलाई समेत, स-सम्मान बाेलाउने र माया गर्ने ! सँगसँगै बहस गर्न रूचाउने उनको बानीले, मेराे आडम्बरलाई समेत कम गर्न सहयोग गरेको छ । डा. चैतन्य सुब्बा आफैं दर्शन लाग्ने भएकोले, उनको व्यक्तित्व एक दार्शनिककाे रूपमा, सधैं रहेको छ । रहिरहनेछ ।’

नेफिन यूके पूर्वमहासचिव खुसी लिम्बु ।

नेफिन यूकेका पूर्वमहासचिव एवम् पत्रकार खुसी लिम्बुले उनलाई एक मिथककाे संज्ञा दिएका छन् । याक्थुङ समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति रहेका सुब्बाबारे उनले भने, ‘उनी एक मिथक हुन् । ०४१/४२ सालबाट सुन्दै आयाैँ । उनकाे बाैद्धिकताकाे उचाइ ठूलो थियाे । यद्यपि, राष्ट्रिय राजनीति र समुदायका लागि अझै पर्याप्त गर्न सकेनन् कि भन्ने लाग्छ । तर, उनको अभाव खट्कनेछ ।’

लेखक विजय लुम्फुङ्वा ।

सुब्बा लागूऔषधकाे समस्या र नियन्त्रण गर्ने विषयका विज्ञ पनि थिए । विगत अढाई दशकदेखि यहीँ विषयमा काम गरिरहेका लेखक एवम् राजनीतिक विश्लेषक विजय लुम्फुङ्वाले समेत थपे- ‘डा.चैत्यन्य सुब्बाको मृत्युको खबरले वास्तवमा नै हामी सबैलाई स्तब्ध तुल्याएको छ । वहाँको यो असामयिक निधनले देशले एक बहुआयमिक योजनाविद्लाई गुमाएको छ । वहाँलाई सामाजिक साँस्कृतिक तथा राजनीतिक विज्ञको रुपमा चिनिन्छ । यी हरेक क्षेत्रमा वहाँको अतुलनिय योगदान छ । मुन्धुम, सामाजिक र राजनीतिक क्षेत्र देखि बाहेक नेपालको लागु औषध नियन्त्रण, उपचार तथा पुर्नस्थानाको क्षेत्रमा पनि डा.सुब्बाको अमुल्य योगदान छ । वहाँलाई सम्झने क्रममा वहाँ र मेरो भेट सन् १९९६ मा नेपालमा लागु औषध नियन्त्रणको लागि गुरुयोजना निर्माणको क्रममा भेट भएको थियो । वहाँ एक जना श्रोत व्यक्ति र गुरु योजनाका प्रमुख योजनाकार पनि हुनु हुन्थ्यो । अहिले नेपालमा सन्चालित लागु औषध नियन्त्रण कार्यक्रम त्यहीँ गुरु योजनाको पुर्वधारमा तयार भएको हो । त्यसपछि लागु औषध नियन्त्रणका सम्बन्धमा भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठीहरुमा पनि वहाँसंग भेट हुन्थ्यो । लागूऔषध दुव्र्यशन नियान्त्रणको लागि किरात याक्थुङ चुम्लुङद्वारा सन्चालित पुर्नर्जीवन केन्द्रको नीति रणनिती निर्माण र विकासमा वहाँको पनि योगदान छ । वास्तवमा वहाँको विज्ञता हाम्रो समाज र राष्ट्रलाई नै खाँचो थियो र यो अभाव खड्किरहने छ ।’

कियाचु यूकेका केन्द्रीय सदस्य टङ्क येङ्देन ।

कियाचु यूकेका केन्द्रीय सदस्य टङ्क येङ्देनले समेत सुब्बाबारे पुराना कुरा काेरेका छन् – ‘स्व. डा. चैतन्य मेन्याङ्वाे दाइ साधारण अनि उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक इमान्दार, दयालु र उदार स्वभावकाे हुनुहुन्थ्यो । उहाँले संघसंस्था , समाज, साथिभाई देश गाउँघर आदिप्रति गर्नुभएको लगानीहरुको टिप्पणी गरेर साध्य नहोला । २८/२९ सालतिर हाट बजारहरुको भेटघाटमा  मीठामीठा र ग्यानबर्धक कुराहरू गर्नु हुन्थ्यो । बोल्दा सम्बोधनमा हम्रै प्रिय र फराकिलो साइनाे(लुङ्वा )भनेर सम्बोधन गर्दथ्यौ/बोल्थ्यौँ । ०३१ सालमा महेन्द्र प्रावि तमोरखोला लिङ्खिम देखि सुरुवात गरि दिनु भएको थियो ।उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

डा. सुब्बा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । जीवनको पछिल्लो समय याक्थुङ मुन्धुम, युमासाम्योक दर्शनको अध्ययन तथा अनुसन्धानमा व्यस्त सुब्बाको निधनले विषेशगरी आदिवासी एवम् लिम्बु समुदायलाई अपुरणीय क्षति पुगेको मदन पुरस्कारविजेता भागीराज इङनाम लिम्बुले बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका आमन्त्रित विशेषज्ञका रूपमा समेत उनले काम गरेका थिए। २००३ सालमा ताप्लेजुङमा जन्मेका डा. सुब्बाका श्रीमती, एक छोरी र दुई छोरा छन्।