March 24, 2024, Sunday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विनेसामले भूपी शेरचन स्मृति दिवस कार्यक्रम आयोजना गर्दै

विनेसामले भूपी शेरचन स्मृति दिवस कार्यक्रम आयोजना गर्दै

लन्डन । विश्व नेपाली साहित्य महासंघ बेलायतमा रहेका शाखा समितिहरूको आयोजनामा नेपालका चर्चित कवि भूपी शेरचनको स्मृति दिवस कार्यक्रम आयोजना गर्ने भएको छ । झ्याउरे कवि भनेर विख्यात शेरचनको ३३ औँ स्मृति दिवसका अवसरमा कार्यक्रम हुन लागेको हो ।

विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके र पश्चिम यूकेको संयुक्त आयोजनामा स्मृति दिवसमा कार्यक्रम हुन लागेको पश्चिम यूकेका अध्यक्ष लालसुन्दर राईले बताए । वरिष्ठ समालोचक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा लन्डननिवासी मनोविश्लेषक डा. सुमाया राई विशेष अतिगि रहने छिन् । सोमबार बेलुकी भएको संयुक्त भर्चुअल बैठकले सर्जक गंगा भण्डारीलाई कार्यक्रमको संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै, विनेसाम दक्षिण यूकेका सचिव अमित थेवेलार्ई सहसंयोजकका रूपमा तोकेको छ । आगामी जून ११ तारिखमा बेलायती समयअनुसार मध्याह्न्न १२ बजेबाट सुरु हुने तीन घण्टे कार्यक्रम भर्चुअल रुपमा जुमबाट आयोजना गरिने कार्यक्रम संयोजक भण्डारीले बताइन् ।

Advertisement

महासंघको भर्चुअल जुम बैठकमा सहभागीहरू ।

कार्यक्रममा भूपी शेरचनको कृतित्व र व्यक्तित्वको चर्चासँगै सर्जकहरूले सिर्जना वाचन गर्ने कुरा विनेसाम दक्षिण यूकेका अध्यक्ष विजय हितानले जनाए । जित बहादुर छन्त्यालले सञ्चालन गरेको बैठकमा औँतारी साइँला, जानु काम्वाङ, गोमा राना, नानु राना थापा, देवी आले, होम किरात सुनुवार लगायत सहभागी थिए ।

मुस्ताङको थाक टुकुचे वस्तीमा सन् १९३७ डिसेम्बर २७ मा जन्मिएका कवि शेरचनको सन् १९८९ मे १४ मा निधन भएको थियो । ‘सर्वहारा’ उपनामले पनि कलम चलाएका शेरचनको खास नाम भूपेन्दमान शेरचन रहेको थियो । उनी वामपन्थी विचारधाराबाट निकै प्रभावित कवि थिए । ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’का लागि उनले सन् १९६९ मा साझा पुरस्कार पाएका थिए । उनका नयाँ झ्याउरे(गीति संग्रह), निर्झर(गीति संग्रह), भूपी शेरचनका कविताहरू(सम्पादित कविता संग्रह) लगायतका कृतिहरू पनि प्रकाशित भएका छन् । उनी गद्य मुक्त शैलीमा कविता लेखनका लागि चर्चित थिए ।