May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. खवाहाङ र लुम्फुङ्वालाई

ललितपुर(नेवा:) । लिम्बुवान अध्ययन केन्द्रले प्रदान गर्ने ‘विष्णुदत्त-सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार डा. माराेहाङ खवाहाङ र विजय लुम्फुङ्वालाई प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङकाे विषयगत समितिका रूपमा रहेको केन्द्रले शुक्रबार एक कार्यक्रमबीच लेखकद्वयलाई पुरस्कार वितरण गरेको हाे ।

ललितपुरमा रहेको चुम्लुङ हिममा आयाेजित कार्यक्रममा लेखक एवम् राजनीतिक विश्लेषक लुम्फुङ्वालाई २०७५ का लागि पुरस्कार दिइएको थियाे । त्यस्तै, २०७८ का लागि संयुक्त  राज्य अमेरिकामा प्राेफेसरका रूपमा कार्यरत डा. माराेहाङलाई पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ । बेलायतमा रहेका लुम्फुङ्वालाई ‘लिम्बुवान आन्दोलन (विकासक्रम : विगत र वर्तमान)’ कृति र डा. माराेहाङलाई ‘डिलिङ्किङ, रिलिङ्किङ एन्ड लिङ्किङ राइटिङ एन्ड रेटाेरिक्स : इन्भेन्सन्स एन्ड इन्टरभेन्सन्स अफ दि सिरिजङगा सिलेबरी’ किताबका लागि पुरस्कार प्रदान गरिएको थियोे ।पुरस्कारकाे राशी एक लाख रूपैयाँसहित प्रमाणपत्र रहेको छ ।

Advertisement

लेखक विजय लुम्फुङ्वा ।
लेखक प्राेफेसर डा. माराेहाङ खवाहाङ ।

नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति माननीय गंगाप्रासाद उप्रेतिको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा विजय लुम्फुङ्वा युके भएकोले विजयका बुवा हस्तवीर लुम्फुङ्वाले  पुरस्कार बुझेका थिए । लिम्बुवान अध्ययन केन्द्रको अध्यक्ष अर्जुन नुगोको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञिक पुरस्कार स्थापना बारे संस्थापक विष्णुदत्त आङ्बुहाङ्ले प्रकाश पारेका थिए । कार्यक्रमलाई पुरस्कृत व्यक्तित्व विजयका बुबा हस्तवीर लुम्फुङ्वा, डा.मारोहाङ खवाहाङ, विशिस्ट अतिथि किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष प्रेम येक्तेनले सम्बोधन गरेका थिए ।

पुरस्कृत कृतिहरू ।

लिम्बुवान अध्ययन केन्द्रका सचिव टंक माबुहाङ्ले सञ्चालन गरेको कार्यक्रममा प्राज्ञिक पुरस्कार तथा अनुसन्धानवृत्ति छनौट समितिका संयोजक मदन पुरस्कार विजेता भगीराज इङ्नामले स्वागत तथा पुरस्कार छनौट बारे प्रकाश पारेका थिए ।

लेखक विजय लुम्फुङ्वाका बुवा हस्तवीर नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा. गङ्गाप्रसाद उप्रेतीबाट पुरस्कार ग्रहण गर्दै । तस्वीर स्राेत : नरप्रसाद लुम्फुङ्वा

पाँच विषयगत सङगठनहरूमध्ये चुम्लुङकाे सबैभन्दा कान्छो सङ्गठनका रूपमा केन्द्रकाे स्थापना २०७० मा भएको थियाे । लिम्बुवान क्षेत्रमा अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रकाशन लगायतका क्षेत्रमा कार्य गर्न केन्द्र स्थापना गरिएकाे अध्यक्ष अर्जुन नुगाेले जनाए ।

कार्यक्रमका सहभागीहरू ।