May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता गर्दै

काठमाडौं । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा याक्थुङ युवा मञ्च काठमाडौंले फुटसल प्रतियोगिता गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै मञ्चले ‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९’ आयाेजना गर्न लागेको हाे ।

प्रतियाेगिताकाे तेस्रो संस्करण श्रावण ७ र ८ गते सम्पन्न गरिने तयारी भइसकेकोले सहभागिताका लागि आह्वान गरिसकेको मञ्चकी काठमाडौं जिल्ला अध्यक्ष सङ्गीता सुहाङले जनाइन् । ‘ याक्थुङ लिम्बु युवाहरुको बीचमा भावनात्मक एकता र पारस्पारिक सदभाव बढाउन प्रतियाेगिता आयाेजना गरिएको हाे,’ उनले भनिन्, ‘न्याय, समानता, पहिचान, अस्तित्व रक्षा र युवा हकअधिकारको लागि वकालत गर्न साथै समुदायको हितमा कृयाकलापहरुमार्फत सक्रिय बनाउन साेँच बनाएका हाैँ ।’

Advertisement

प्रतियोगिताकाे सूचनासहितकाे ब्यानर ।

शान्तिनगर फुटसल खेलमैदानमा हुने प्रतियोगितामा सामेल हुन टिमले अतिरिक्तसहित सात खेलाडी उपलब्ध गराउनुपर्नेछ । साथै, टिममा कम्तीमा चार जना याक्थुङ लिम्बु समुदायका खेलाडी अनिवार्य हुनुपर्ने छ । प्रवेश शुल्क ३५०० रूपैयाँ ताेकिएकाे छ । विजेता टिमले ट्रफीसहित नगद ५५,५५५ रूपैयाँ जित्नेछन् । उपविजेता टिमले ट्रफीसहित नगद ३३,३३३ रूपैयाँ हात पार्नेछन् । प्रतियोगिताकाे उत्कृष्ट खेलाडीले समेत ट्रफी र नगद पाँच हजार हात पार्ने उपाध्यक्ष चन्द्रकला नेम्वाङले बताइन् । खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ ।

इच्छुक टिमले आयाेजकका पदाधिकारीहरूलाई सम्पर्क गरेर नाम दर्ता गर्न सक्नेछन् । २०७५ मा भएको पहिलो संस्करणमा २८ टिम सहभागी भएका थिए । त्यस्तै, २०७६ काे दाेस्राे संस्करणमा तीन दर्जन टिम थिए । यसपटक पनि राम्रो संख्यामा टिम र खेलाडीहरूकाे सहभागिता रहने मञ्चकी अध्यक्ष सुहाङले विश्वास व्यक्त गरिन् । याक्थुङ युवा मञ्चको स्थापना २०७१ मा भएको हाे ।