August 16, 2022, Tuesday
२०७९ भाद्र १, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
असार पन्ध्र, धानको भात र कृषि क्रान्ति

असार पन्ध्र, धानको भात र कृषि क्रान्ति

सन्दर्भ : राष्ट्रिय धान दिवस

✍️ कृष्णकुमार हेम्ब्या

Advertisement

हाम्रा पूर्खाले लाखौं करोडौं वर्षहरु पशुतुल्य जीवन विताए । कम आवश्यकता भएकाले फुकाफाल जीवन । संधै फुर्सत । एकदुई घण्टा शिकार गरेर खानु, शौच गर्नु, सुत्नबाहेक खासै काम थिएन । बाँकी समय पुरुषहरु रुखमा चढेर पाःलाम गाउने, पात बजाउने, सुशेली हान्यो तरुनी फकाउने काम गर्थे, किनकि त्यो समय कसैको नीजि स्वास्नी हुन्नथ्यो । महिला चाहिँ बालबच्चा हुर्काउने बिशेष काम गर्थे । ७० हजार वर्ष पहिले चेतनाले काम गर्न थालेपछि मात्र नयाँ उपायका खोजीमा लागे र निरन्तर सफलता मिल्दै गयो । १० हजार वर्षअघि जंगली जीवनबाट कृषि युगमा प्रवेशपछि मात्र व्यवस्थित स्थायी बसोवास, नीजि सम्पति, नीजि परिवार सभ्य समाजमा रुपान्तरण हुन थाल्यो । आजकाल हामी १८ घण्टा काम गरेपनि शान्ति छैन । फुर्सत छैन । समयले सबैलाई असार १५ बनायो । कृषि क्रान्तिले ल्याएको उभार हाम्रो लागि टाउको दुखाई भयो । हाइ डजको पेन किलर खपत बढ्दो छ ।

खेतीपाती गर्ने काम जानेपछि यो लोकमा अस्तित्वमा रहेका बाँकी ८७ लाख प्रजातिमाथि दुईखुट्टे मान्छेले शासन गर्न थाल्यो । हिब्र विश्वविद्यालयका प्राध्यपक युवल हरारीको विचारमा कृषि क्रान्तिपछि नीजि सम्पत्ति र परिवारको अवधारणासँगै मान्छेसँग लोभ बढ्न थाल्यो । उनीहरु मिथक, धर्म, राज्य र पैसाको फसाउने नयाँ जाल बुन्न थाले । वास्तवमा यी सबै भ्रम र जालसाजी कार्य थिए र हुन् । कृषि क्रान्तिले हामी धेरैजसो ‘मान्छेले गाई र गहुँलाई घरपालुवा बनायौं भन्छौं तर हरारे चाहिँ गाई र गहुँले मान्छेलाई घरपालुवा बनाएको’ अनेक तथ्यहरु पेश गर्छन् । उनको दाबी छः कृषि क्रान्ति मानव इतिहासकै सबैभन्दा ठूलो धोकाको कुरुप परिदृश्य थियो ।

कृषि क्रान्तिको जगमा मान्छेहरु पशुबाट आजका सभ्य मानव समाज समृद्धिको शानदार कथा र बाँकी ८६ लाख ९९ हजार ९ सय ९९ को दुःखका व्यथा लुकेका छन् । कृषि क्रान्तिका थुप्रै चरण र आयामहरु छन्, होलान् । १० हजार पहिलाको शिकारी पूर्खा खेती गर्न थालेको र युरोप खासगरी ब्रिटेनको कृषि क्रान्ति सम्झनलायक छन् । सुरुमा हामीसँग माटो खन्ने कुटोकोदालो, हलो औजार केही थिएन । सुँगुरले उधिनेको माटो वा कतै खुला ठाउँको फसफसे माटोमा केही उमारियो र यसमा ढुंगा र काठका केही खोस्रने औजार प्रयोग भए होलान् । विस्तारै खन्ने औजार, जोत्नका लागि गोरु, घोडा, उँट प्रयोगमा आए । फलाम आविष्कारले चमत्कार ल्यायो । युरोपकै औद्योगिक क्रान्तिसँगै कृषिमा आमूल परिवर्तन आयो । कृषि क्रान्तिअघि हरेक गाउँमा अनिगिन्ती छोटेराजा र मालिक हुन्थे । पूरै युरोपको जमिन राजामहाराजा र चर्चका पादरीहरुको हातमा र किसान चाहिँ जोत्ने र कुत तिर्न वाध्य हुन्थे । ६ दशक पहिलेसम्म नेपालमा जमिनको दुई तिहाई भाग राजा र कथित सीमित पण्डित खलकको वीरता थियो । अझपनि कुन वर्गसँग कति प्रतिशत जमिन छ र किसानसँग कति ?

लेखक हेम्ब्या ।

कृषि क्रान्तिपछि एउटा ट्याक्टरले एक दिनमा साढे तीन बिघा जमिन जोत्ने भयो । किसानको घरमा ट्याक्टर नभएपछि उत्पादन र वितरण सबै साहुजीको कब्जामा गयो । र, हामी नेपाली श्रम बेचेर नगदमा अन्न किनेर धानको भात खानेमा प¥यौँ ।

मान्छे बाँच्नलाई अति आवश्यक हावा, पानी र एक डल्ला ढिँडो नै काफी छ । हामी प्रकृतिको पूजा गर्छौं । प्रयोग गर्छौं । अगस्ती खानलाई प्रकृतिको दोहन गर्छौं । ढिँडोले पुगेन । धानको भात चाहियो र चारकोशे झाडी फाँड्यौं । चरेस, सुनको डल्लोदेखि सिंगो हवाइजहाज पचायौं ।

◾️असार पन्ध्र कि जात्रा ?
हिले गाउँमा दही चिउरा खाएर असार पन्ध्र मनाइन्थ्यो । असार १५, असारे गीत (हलो र जुवा कोदालो हातमा लिएर बाबाले, पटुकी कसी डोकोमा खाजा बोकेर आमालेः –केशवती पोखरेल, उब्जनी), रोपाहार, बाउसे, हली, ब्याँडे, दहीचिउरा नितान्त किसानको जीवन र प्रकृतिमा उत्पन्न साँस्कृतिक पर्व थियो । दही र चिउरा दुवै किसानले उत्पादन गर्ने खाँटी गाम्ले परिकार । यसलाई बनाउन अहिलेको कुनै आधुनिक उपकरण चाहिन्दैन । किसानले आफैँ खेतमा उत्पादन गरेको धान भुटेर ओख्ली वा ढिकीमा चिउरा बन्छ । घरैको गाईभैंसीको दूधबाट हाम्रै ठेकीमा दही बन्छ ।
किसानको दैनिक जीवनसँग सिधैँ सम्बन्धित शुद्ध दही चिउरा खाएर असार १५ मनाउने चलन शहरका नेता र जग्गा दलालीहरुले सिंहदरवारमा ल्याएका छन् । अनि कमरेड हरिप्रसाद पराजुलीहरु रोपारेको स्तनमा पिङ खेल्छन् । असार १५ लाई रोपाइँ महोत्सवसम्म मान्न सकिएला तर कहिल्यै खेतको हिलो नपसेका दलालहरु काठमाडौँमा ‘राष्ट्रिय धान दिवसको’ जात्रा देखाउछन् ।

◾️कृषिप्रधान कि भोकमारी ?
धान भोजनको राजा र नभइ नहुने । नेपाल कृषिप्रधान देश । विद्यालयको पाठ्पुस्तकमा अझै यस्तै गलत शिक्षा दिइन्छन् । मलाई लाग्छ नेपाल कृषिप्रधान देश होइन । किनकि हाम्रो उत्पादनले नपुगेर वर्षेनी खर्वौंको अन्न बेसाएर हाम्रो भाते पेटको भोक मेटाउछौं । धान चामलबाहेक मकै, कोदो, सागसब्जी, मसला, माछामासु, दालचिनी सबै किनेरै खान्छौं ।

धान उत्पादन पहिलेभन्दा बढेको सरकारी तथ्यांकले देखाएपनि कृषिमा समस्या थपिन्दैन छन् । कृषिप्रधान भन्ने अनि २.६ प्रतिशत बजेट छुट्याएर राज्य आफैँ उल्टा काम गर्छ । काम गर्ने उर्जाशील आधा जनशक्ति विदेशमा, १५ लाख युवाहरु राजनीतिक दलका दलाली गरेर भाते पेट भर्छन् । उत्पादन हुने उर्वर जमिनमा आकाशे घर ठडिएका छन् । मल, वीउ र सिचाँइको चरम समस्या । तरपनि नेपाल धान फलाउने प्रमुख देशहरुमध्ये १७ नम्बरमा पर्छ ।

विडम्वना विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । समग्रमा नेपाल भोकमरीको देश हो । धान उत्पादनमा १७ औं स्थानमा रहेको नेपाल कसरी भोकमारीको ७३ औं भयो । खाने मुखको संख्या ४९ औं स्थानमा । तर किन हामी वर्षेनी ४० अर्बको चामल किनेर खान्छौं । मकै, कोदो गहुँको परम्परागत ढिंडो, रोटी, खोले, भूटेको मकैको काम कता गए ?

◾️भाते भुँडी भाग्यवादी चेतना
धानको भात बिना हाम्रो भान्सा चल्दैन । आफैँ बारीमा फलेको कोदो, गहुँ, जुनेलो, भटमास, आलु पोषणयुक्त अन्न बेचेर डलरमा अमेरिकी चामल किन्छौं । अर्को चाहिँ हजारौं वर्षदेखि हामीसँग चामल सौन्दर्य मोह भाग्यवादको रोग छ । राष्ट्रिय तथ्यांक विभागकाअनुसार नेपाललाई ६५ लाख मेट्रिक टन चामलले सबैको भाते भुँडी भर्नुपर्ने तर ७५ लाख मेट्रिक टन चामल खपत भयो भन्छन् । १० लाख मेट्रिक टन चामल गायब भएकोमा चिन्तित पण्डितहरुलाई के थाहा ? हामी वर्षमा कति चामल आगोमा ओम स्वाहः गर्छौँ । दशैँ टीकामा मात्र झण्डै ५ लाख किलो चामल नष्ट हुन्छ । मर्दा हरेकको टाउकोमा १ माना चाहियो । धामी झाँक्रीलाई चामल बिना जोखना आउदैन । मुखमा खानुपर्ने चामल घीउसँग मुछेर आगोमा पोल्ने भाग्यवादी चिन्तननै अनिकालको प्रमुख कारण बन्छ ।

अनिकालमा भोका गरीब माग्न आए गाली गर्दै लखेट्छौं वा सीठो पीठोले टार्छौं । मगन्ते बाहुन, जोगीलाई चाहिँ चामलदेखि गाईसम्म सिदा र दानका रुपमा दिन्छौं । कोरोना संक्रमणले पण्डितहरु घरघरमा गएर संकलनमा समस्या आएपछि हाम्रो पात्रोुले इन्टरनेटको प्रयोग गरी एपबाटै सिदा दान असुल्ने काइदाको आइडिया निकाल्यो ।

विश्वमा धेरै अन्न उत्पादन र खपत हुने पहिलो गहुँ, दोस्रो मकै र आलु तेस्रो स्थानमा छ । धान चौथो स्थानमा भएपनि हाम्रो एक नम्बर पाउनको रहस्य कुनै अनौठो र नौलो विषय होइन । किनकि चामल पवित्र अन्न भएकाले हामी आगोमा पोल्छौ । चामल चोखो, सुन्दर र मीठो बनाउन अनेको सौन्दर्यशास्त्र कथाहरु बुनिएका छन् । र, नै कथित किरात धर्मका नाममा मेरै समुदायका मान्छेहरु धान पोलेर स्वर्ग खोज्दैछन् ।

राजाका पालामा हामी लाखौं टन धान अरुलाई बेच्थ्यौं भन्नेहरु पनि छन् । त्यो समय धान धेरै फलेर नभई पहाडतिर ओसार्ने माध्यम नभएर हो । त्यो समय अहिलेभन्दा धेरै मान्छे पहाडमा बस्थे । तर, सडक यातायात नभएकाले मधेसमा उत्पादन भएको धान विदेश पठाइन्थ्यो । हामी पहाडमा अनिकाल खाएर बाँचेका थियौं । तरुल, भ्याकूर, घाँसपात र ठूलो अनिकालमा सिस्नुको जरासमेत खाएरपनि बाँचियो । उहिले कर्णालीतिर केटाकेटीले टीका खान्छन् भनेर हात बाँधिदिने समेत चलन थियो । धानको भात खान दशैं पर्खिनुपर्ने त्यो समयमा धान बेचेको गफ छाट्ने पञ्चे बाबैहरुकै छोरानाति अहिले सिंहदरबारमा अड्डा जमाएर असार १५ कै दिन राष्ट्रिय धान दिवस मनाउन तयारी गदैंछन् ।