March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
योमरी पुन्हीबारे केही कुरा

योमरी पुन्हीबारे केही कुरा

योमरी पुन्ही/ धान्य पूर्णिमा तथा ज्यापु दिवस त्यसैगरी काठमाण्डाैँ उपत्यका लगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्ही मनाउँदैछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरी पुन्ही अर्थात् पूर्णिमाबाट औपचारिक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो । नयाँ धानको चामलको पीठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यसभित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पीठोभित्र तरकारी र मासुका किमा हालेर मःमः बनाएझैँ योमरीलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परिकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरीकै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पीठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पीरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारिक दिन पनि याेमरीबाटै प्रारम्भ हुने जनउक्ति छ ।

योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताका रूपमा काठमाडौँवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा शदियाैँदेखि चलिआएको हो ।

Advertisement

नेपाली पारम्परिक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि आफ्नो बेग्लै स्थान बनाएको छ । सायदै त्यस्ता कुनै चाडबाड होलान् जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरी पुन्हीका दिन पनि यससँग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छ :

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:….

यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाडौँको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदै आएको पाइन्छ । योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरी देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मन परेर योमरी नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरी भन्नाले मीठो रोटी भन्ने बुझाउँदछ ।

लेखक सुवाल ।

योमरीको प्रसङ्ग देवगणसँग पनि जोडिएर आउँछ, नेवार समुदायमा प्रचलित कथाहरूका अनुसारः योमरी देखा परेकै दिन धनका राजा कुवेर भेष बदलेर बाटोमा हिँडिरहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरीझैँ सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् ।

साथै आजैको दिन ज्यापू दिवस पनि मनाइने गरिन्छ । ज्यापू संस्कृतिको रक्षार्थ वि.सं. २०६१ सालबाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परिक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतका लागि हरेक वर्ष काठमाडाैँ उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा आयोजना हुने ज्यापू दिवस आज काठमाडाैँको कमलादीबाट प्रारम्भ हुँदैछ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथि हाकु पटासी अनि ज्यापू लः अर्थात ज्यापू लुगाले त झन् जात्रा हेर्न लायकको देखिन्छ । यस १५औं ज्यापू दिवस ज्यापू दिवस ११३९ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकीहरू देखाउने परम्परा रहिआएको छ ।

एकातर्फ किराँतरुको अनि अर्कोतर्फ नेवा:हरुको विशेष आजको दिनले नेपालको विविधताको एउटा दृष्टान्त अनि एकताको सन्देश पनि दिएको छ । यस दिनको सबैलाई शुभकामना, सबैको जयहोस् ।