March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एक बुवालाई लिम्बुवानी छोराको पत्र !

एक बुवालाई लिम्बुवानी छोराको पत्र !

(पूर्वमा यतिबेला पहिचानको आन्दोलन चलिरहेको छ । प्रदेश नम्बर एकको नामकरणको प्रक्रिया सुरु भएसँगै लिम्बुवान र किरात प्रदेशका पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन् । चुम्लुङको समन्वयमा ३५ बढी संगठनहरूको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रादेशिक राजधानी विराटनगरकेन्द्रित आन्दोलन गरिरहँदा ‘किरात(सत्यहाङमापन्थी)‘ धर्मका अगुवाहरूले ’किरात सगरमाथा‘ प्रदेशको नारा अगाडि बोकिरहेको सन्दर्भमा लिम्बुवानको पक्षमा निरन्तर कलम चलाउँदै आएका याक्थुङ कवि पुष्पहाङ लोवाले सत्यहाङ्मा पन्थमा लागेका आफ्ना बुवालाई एक मार्मिक पत्र लेखेका छन् । प्रस्तुत छ सामाजिक सञ्जालमा राखिएको पत्र जस्ताको तस्तै । सं. )

Advertisement

श्रद्धेय बुबा सेवारो !

दिनाङ्क -०३।१७।०४।२०७९

म कुशल छु । त्यहाँ तपाईं लगायत परिवारका सम्पूर्ण सदस्यगण कुशल हुनुहुन्छ भन्ने आशा र विश्वास लिएको छु ।

पत्र लेख्नैपर्ने खास जरुरी त केही थिएन तर नलेखी हुँदै नहुने पनि भएको हुनाले दुई शब्द लेख्ने जमर्को गरिरहेछु । हो, बुबा म तपाईंको अत्यन्तै आज्ञाकारी छोरो । तपाईंले दिनुभएको जुनसुकै आज्ञा पालना गर्दै आइरहेको छु । तपाईंले मार्गनिर्देश गर्नुभएको बाटो अहिलेसम्म पनि अवलम्बन गरिरहेको छु । हरेक तपाईंको विचारहरूलाई आत्मसात गर्दै आइरहेको जग जाहेरै छ ।

हामी याक्थुङ जातिको मौलिक संस्कार , संस्कृति र कर्मकाण्ड हुँदाहुँदै पनि बुबाले सत्यहाङ्मा पन्थ (किरात धर्म) अवलम्बन गर्नुभयो । त्यसपछि हामी सपरिवारलाई सत्यहाङ्मा पन्थ अंगाल्न बाध्य पार्नुभयो । मौलिक संस्कार , संस्कृतिको दृष्टिकोणले जुन सही थिएन भन्ने क्रमश पछिल्लो समयमा महसुस गर्दै आएँ र कतिपय टिप्पणी समेत गर्न भ्याएँ ।

त्यहाँ भित्रको आर्थिक आतंकको त कुरै नगरौं । माङ्वा हाङ्वाको विकृत रुपको खण्डन गरेर साध्य छैन । माङ्वा हाङ्वाले प्रत्यक्ष रुपमा वर्गीय खाडल खनेको छ । फरकफरक क्याटागोरी निर्धारण भएको छ । अनेक शीर्षकमा चन्दा संकलन भएको छ । तपाईं हामीलाई ज्ञात नै छ जसको कारण गाउँ बस्तीका सोझा सिधा भक्तजनहरू घर न घाटका भएका छन् । यसर्थ पनि मेरो चेतनाले भ्याएसम्म यो ठिक थिएन र छैन ।

अझ पछिल्लो समयमा त विकराल परिस्थिति सिर्जना गर्न संस्थागत रुपले लागिपरेको छ । माङ्गेन्ना समितिका केन्द्रीय अध्यक्ष र किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्षहरू लिम्बुवान भूमि मुक्तिको मुद्दालाई निस्तेज पार्न सुनियोजित ढंगले लागिपरेका छन् ।पहिचान विरोधी राज्यसत्ता र जसको नाइकेको टाङ मुनि लम्पसार परिरहेका छन् । अब यस्ता धार्मिक नेतृत्वहरूबाट हामीले के अपेक्षा गरौँ ? तपाईं पुजारी (सेवासाबा)हरूलाई पनि यिनीहरूले गोरु बनाएर जोतिखाने काम गरेका छन् । जहाँ जहाँ तपाईंहरू (साम्जिक मुन्धुम) आध्यात्मिक दर्शन पाठ गर्दै र माङ निसा गाड्दै जानुहुन्छ त्यो एउटा तिनीहरूले नै बनाएको मिसन मात्र हुनसक्छ । अन्ततः ती ठाउँहरूमा आर्थिक असुली लगायतका लिम्बुवान विरोधी गतिविधि गर्न तिनीहरूलाई सहज हुन्छ ।

अन्तमा के मात्र मेरो बुबालाई निवेदन गर्छु भने तपाईंको मन अमिलो नहोस् । अब उप्रान्त सत्यहाङ्मा पन्थ अंगाल्न सकिँदैन । सत्यहाङ्मा पन्थ अंगालेर मौलिकता भुल्न सकिँदैन र दुनियाँ भक्तजनलाई आर्थिक , भौतिक शोषण गर्न सकिँदैन । यो अत्यन्तै निन्दनीय छ ।यसर्थ विद्रोह गरेर मौलिकता तर्फ आजै फर्किनुपर्छ । पछिल्लो समयमा लारूम्बाका केही नाइकेहरूले गरिरहेको हर्कतको कालो इतिहास लेखिनेछ । र, लिम्बुवान विरोधी गतिविधि गर्न अर्धकट्टी रसिद बनाएका रहेछन् सायद यो पनि भक्तजनहरूको घर घरमा डुलाउँदै होलान् । तपाईं त अझ साङ्दाङ्गेन् वरुमसाबा (सब्दी गुरु) हाम्रो घरमा पनि यो रसिद पुगेको होला । सहयोग स्वरुप भनेर एक रुपैया दिने होइन यिनीहरूलाई गाउँ गाउँबाट लखेट्नुपर्छ ।हवस्त अहिलेलाई यति मात्र लेखेँ । बाँकी कुरा भेटमा गरौंला ।

उहीँ तपाईंको छोरा

पुष्प लोवा