April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा सङ्यक । धकुटाको चौबिस थुममा जन्मेकी यमुना तुम्सा सङ्यकले अहिले धरान १२ चतरालाइनमा  चौबिसे सङ्यक ढाका उद्योग सफल रुपले सञ्चालन गरिरहेकी छन् ।

धरान-१२ स्थिति चाैबिसे सङ्यक ढाका उद्योग ।

ढाका बुन्नु याक्थुङ समुदायको परम्परागत सीप मानिन्छ । पछिल्लो समय ढाका व्यवसायबाट कयौंले राम्रो आमदानी गरिरहेका छन् । धेरैले रोजगार पाउनुका साथै आयको स्रोत समेत बनेको छ । ढाका कपडा विशेषगरी हातेतानबाट बुनेर तयार गरिन्छ । उक्त कपडा महिलाका लागि साडीदेखि विभिन्न फेसनेवल डिजाईनका कपडा तयार गरिन्छ । पुरुषका लागि कोट,दाउरासुरुवाल  बालबालिकाका लागि पनि आवश्यक पोसाक तयार हुन्छ । यस्तै विभिन्न डिजाईनका कपडा विगत तीन वर्खदेखि आफैँ ढाका उद्योगबाट उत्पादन गरेर देशदेखि विदेशसम्म व्यापार गरिरहेकी छिन् यमुना तुम्सा सङ्यकले । दुईवटा तानबाट व्यवसाय सुरु गरेकी उनले अहिले करिब एकसय वटा तानबाट दैनिक ढाका कपडा उत्पादन गरिरहेकी छन् ।
 
याक्थुङ समुदायको परम्परागत सीपलाई यसरी आधुनिक रुपले व्यवसायीकरण गर्नु सांस्कृतिक र व्यावसायिक रुपले पनि राम्रो मानिन्छ।  लेखक तथा अन्वेषक राजकुमार दिक्पालका अनुसार याक्थुङहरुले परम्परागत रूपले विकास गरेर ल्याएका कपडा बुन्ने सीपलाई ढाका नभनेर थाका भनिन्छ । थाकाबाट अपभ्रंश भएर ढाका भनिएको हो । उहाँ लेख्नु हुन्छ ‘उइले युमाले तान हालेर यस्तो कपडा बनाउँदा थाक-थाक गर्दै आवाज आउँथ्यो, तानमा थाक-थाक गरी आवाज आउँदा तानमा बुनेको कपडालाई थाका भनियो ।’ याक्थुङ समुदायमा तान बुन्ने सीप युमाले सिकाएको भन्ने जनविश्वास पनि छ । आजभन्दा करिब ७०/८० वर्ख पहिले प्रत्येक याक्थुङ घरमा तान हुन्थ्यो । उक्त तानबाट आफैले बुनेको कपडा मात्र लगाउने गर्थे । आधुनिक युगको विकाससँगै तान बुन्ने परम्परागत सीप लोप हुने अवस्थामा पुगेको बेला यसरी व्यवसायिक रुपले ढाकाको उत्पादन गर्नु परम्परागत सीपलाई संरक्षण गर्नुका साथै रोजगारीको सिर्जना पनि हुनेछ ।
  
सांस्कृतिक मोहले ढाका व्यवसायमा आकर्षित भएकी यमुनाले धनकुटा देखी धरानमा झरेर  स्थापित हुनु उति सजिलो थिएन ।  रतर पनि निरन्तर लागि परेमा अवश्य सफल भैइन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै अहिले उनको ढाका उद्योग स्थापित भएको छ । व्यावसाय सुरु गर्दा आफूले संघर्ष गरेका दिनहरु सम्झँदा कहाली लाग्ने यमुना बताउँछिन् । धनकुटामा केही समय पढाउने काम पनि  गरेकी उनले स्नातकोत्तर गरेका छिन् । जागिरमा उति  ईच्छा नभएरै आफू ढाका व्यवसायतिर लागेको बताउँछिन् । उसो त ढाका उद्योगलाई यहाँसम्म  पुर्याउन उनि एक्लैले सम्भव थिएन । बीचमा बहिनी नुमा तुम्सा सङयकको सहयोग पाएपछि  व्यवसायलाई अगाडि बढाउन झन् सजिलो भयो । अहिले दिदीबहिनी मिलेर ढाका उद्योगलाई व्यवस्थित रूपले अगाडि बढाई रहेका छन् । विशेषतः नुमा तुम्सा सङ्यक फेसन डिजाईनमा सिपालु छिन् । उनले डिजाईन गरेका ढाकाका विभिन्न पोसाकहरु धेरैले मन पराउँदै आएका छन् ।

Advertisement

प्राेप्राइटर यमुना तुम्सा सङ्यक ।

सांस्कृतिक जागरण र पहिचानकाे लहरले अहिले ढाका कपडाको बजार पनि फराकिलो बन्दै गएको छ । चौबिसे सङ्यक ढाका उद्योगबाट उत्पादित ढाका कपडा हाते तानबाट मिहेनतका साथ बुनिएकोले गुणस्तरमा तलमाथि नहुने दिदिबहिनी बताउँछन् । व्यवसायबाट पैसा कमाउनु भन्दा ग्राहकलाई चित बुझ्दो सामान उपलब्ध गराउनु नै पहिलो लक्ष्य रहेको पनि बताउछन् । अहिले ढाका कपडाको माग अत्यधिक बढेको अवस्था छ । ग्राहकको माग अनुसार पुर्याउन गाह्राे भइरहेको नुमा तुम्सा सङ्यक बताउँछिन् । उनीहरुले अहिले विश्वको करिब दुई दर्जन भन्दा बढी देशहरुमा नेपाली ग्राहक माझ ढाका पोसाक निर्यात गरिरहेका छन् । पछिल्लो समय प्रविधिको विकास सँगै सामाजिक सञ्जालले कुनै पनि व्यवसायलाई व्यापकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । चौबिसे सङ्यक ढाका उद्योगबाट उत्पादित ढाका कपडालाई  व्यापकीकरण गर्नमा पनि सामाजिक सञ्जालले धेरै सजिलो बनाई दिएको कुरा दिदिबहिनी स्वीकार्छन् । कोरोना महामारीले कुनै पनि क्षेत्र अछुत रहेन।  कोरोना महामारीका कारण ढाका व्यावसायलाई पनि धेरै नै प्रभाव पारेको यमुना बताउँछिन् ।

डिजाइनर एवम् सह-प्राेप्राइटर नुमा तुम्सा सङ्यक ।

हाल उक्त उद्योगमा  प्रत्यक्ष अप्रत्यक्ष रूपले एक सय जना भन्दा धेरै महिला दिदीबहिनीले रोजगार पाईरहेका छन् । आफूहरु व्यवसायिक रूपले सफल भएर पैसा कमाउनु भन्दा धेरै जनालाई रोजगार दिन सक्नु नै सबैभन्दा ठूलो सन्तुष्टि रहेको दिदिबहिनी बताउँछन् । ढाका बुनाईमा मिहेनतका साथ काम गरियो भने महिनाको २० देखि २५ हजार सम्म कमाउन सक्छन्। विदेश गएर दुख गर्नुभन्दा महिला दिदिबहिनीहरुले स्वदेशमा बसेर यति कमाई गर्नु ठूलो कुरा हो । ढाका बुन्न सीप सिक्न चाहने महिला दिदिबहिनीलाई चौबिसे सङ्यक ढाका उद्योगले निशुल्क सीप सिकाउनुका साथै त्यहीँ रोजगार पनि दिई रहेको छ । ढाका अर्थात थाका नेपाली मौलिक उत्पादन हो, जो महिला दिदिबहिनीहरूको मिहेनत र सीपबाट तयार हुन्छ । कतिपयले ढाका कपडा महङ्गो हुने बताए तापनि बजारमा पाइने महङ्गो फेन्सी कपडाभन्दा मूल्यमा खासै तलमाथि हुँदैन । आफ्नै दिदिबहिनीहरुको मौलिक सीपबाट तयार भएको ढाका पोसाक लगाउँदा उसो त गर्वले छाती फुल्छ । यसैगरी, ढाकाको बजार फराकिलो बन्दै गएमा एकदिन विश्व बजारमा नेपाली ढाकाको छुट्टै मौलिक ब्रान्ड कसो नबन्ला ? तर त्यसका लागि राज्यले पनि विशेष पहल , सहयोग र व्यवसायीहरुलाई प्रोत्साहन दिन एकदम जरुरी छ । बेरोजगारले चिथोरिरहेको लाखौं नेपाली युवा युवती विदेशमा दैनिक श्रम बेचिरहँदा स्वदेशमै  केही गर्न सकिन्छ भनेर उदाहरणीय बनेका ढाका उद्यमी दिदीबहिनी यमुना तुम्सा सङ्यक र नुमा तुम्सा सङ्यकबाट अरूले पनि केही सिक्ने कि ?