April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘याक्थुङ पहिचान जोगाउन युमा धर्मले नेतृत्वदायी भूमिका खेल्नुपर्छ’ – युमा साम्यो अभियन्ताहरू

‘याक्थुङ पहिचान जोगाउन युमा धर्मले नेतृत्वदायी भूमिका खेल्नुपर्छ’ – युमा साम्यो अभियन्ताहरू

लन्डन । याक्थुङ लिम्बु समुदायको साँस्कृतिक र जातीय पहिचान जोगाउन युमा धर्मले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने युमा साम्योका अभियन्ताहरूले उल्लेख गरेका छन् । समुदायको मौलिक पहिचान र सभ्यता संरक्षण गर्न युमा धर्मको अभियान विस्तार हुनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।

कार्यक्रमको ब्यानर ।

युमा साम्यो महासभा, यूकेको तेस्रो स्थापना दिवसको अवसरमा बिहीबार आयोजित भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै युमा धर्मले मात्रै याक्थुङ पहिचान संरक्षण गर्न सक्ने युमा साम्यो अभियन्ताहरूले धारणा दिएका छन् । स्थापना दिवसलाई सम्बोधन गर्दै युमा साम्यो महासभाका महासचिव डा. रमेश कुमार इजमले मौलिकताका लागि महासभाले भविष्यमा बृहत संरक्षण्को अभियान थाल्ने बताए । उनले यसका लागि समुदायको याक्थुङ मुन्धुममा वर्णन् भएका मूल क्षेत्रहरूको संरक्षणका लागि संस्थाले प्रदेश र संघीय सरकारहरूसमक्ष प्रस्ताव लगिसकेको भन्दै आवश्यक नीति र बजेट तर्जुमा गराउन दबाब दिनुपर्ने बताए । ‘हाम्रो अस्तित्वसँग गााँसिएका क्षेत्रहरूको संरक्षण भएमा मात्रै हाम्रो पहिचान जोगिनेछ । त्यसैले, आन्तरिक र बाह्य साँस्कृतिक अतिक्रमणबाट पहिचानलाई जोगाउन पनि संरक्षणको अभियान विस्तार हुनुपर्छ,’ डा. इजमले भने, ‘भर्खरै सम्पन्न राष्ट्रिय जनगणनामा हज्जार्रौँको संख्यामा याक्थुङ समुदायले युमा धर्म उल्लृेख गरेका छन् । अब यो देशको मुख्य सात ठूला धर्मभित्र पर्ने निश्चितजस्तै छ । यसकारण पनि अब मौलिकताको आन्दोलन युमा धर्मावलम्बीहरूको काँधमा आएको छ ।’

Advertisement

युमा साम्योको झण्डा ।

यसैगरी, याक्थुङ इतिहास र मुन्धुमका खोजकर्ता एवम् ग्लोबल नेटवर्क च्यानलका सञ्चालक प्रा.डा. मारोहाङ खवाहाङ लिम्बुले दक्षिण एसियाली आदिवासी समुदायको इतिहासमा याक्थुङ लिम्बुको पहिचान र इतिहासले महत्वपूर्ण हिस्सा ओगटेको बताए । उनले हिन्दूकरणबाट साँस्कृतिक रूपमा मुक्त गराउन याक्थुङ समुदायमा मुन्धुमी चेतबाट साँस्कृतिक जागरणको अभियान चलिरहेको जनाए । ‘हिन्दूकरण, किरातकरणका कारण याक्थुङ समुदायको पहिचान अल्मलमा पर्ने काम भयो । अब, साँस्कृतिक औपनिवेशीकरणबाट मक्त हुन पनि सावा येहाङकालीन मुन्धुम र इतिहासबाट पहिचान खोज्नुपर्छ ।’ डा. मारोहाङले विश्वको प्राज्ञिक जगतले पनि मौलिकताको कोणबाट उठेको आदिवासी आन्दोलनलाई प्रश्रय दिनेमा जोड दिए । त्यस्तै, युमा साम्यो महासभा, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार कुल प्रसाद मेन्याङ्वोले प्रवासमा रहेका महासभाहरूको महत्वपूर्ण योगदान रहेकोमा तारिफ गरे । अर्का, सल्लाहकार लोकेन्द्र तबेबुङले केन्द्रीय समितिले युमा साम्योको अभियानलाई एकीकृत र प्रभावकारी ढङ्गले अगाडि बढाउन मूर्त खाका ल्याउनुपर्ने सुझाव दिए । युसाम, असंसका अध्यक्ष नरेन्द्र माबोहाङले ऐतिहासिक थातथलो र मुन्धुमी स्थलहरूको भौतिक रूपमै संरक्षण गर्न आफूहरूले निकट भविष्यमै काम गर्ने योजना रहेको सुनाए ।

युमा साम्योको संस्थागत लोगो ।

सो कार्यक्रममा असंसका महासचिव धनराज साम्याङ्खाम, मलेसिया महासभाका पूर्व अध्यक्ष उदय पूर्वेली चोङवाङ क्याक, साउदी अरबका अभियन्ता विकेन पालुङ्वा, यूके महासभाका वरिष्ठ उपाध्यक्ष दिलसिङ मेन्याङ्वो, उपाध्यक्ष दिल पालुङ्वा, साँस्कृतिक सचिव मान तबेबुङ ‘नाजम्’, लेखक हर्कजङ्ग कुरुम्वाङ, थुप्पोको थेवे लिम्बु कल्याण संघ यूकेका सचिव ध्रुव थेवे, देउमान माङ्देन लगायतले आफ्नो धारणा राखेका थिए ।

युमा साम्यो महासभा यूकेका अध्यक्ष टङ्क वनेमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिडिया सचिव एवम् कार्यक्रम संयोजक अमित थेवेले गरेका थिए । उक्त अवसरमा युमा साम्यो महासभा, नेपालको तर्फबाट पठाइएको शुभकामना सन्देश समेत सचिव थेवेले वाचन गरेका थिए । यसअघि, कोषाध्यक्ष जय मादेम्बाले संस्थाको संक्षिप्त आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । अध्यक्ष वनेमले भविष्यमा मुन्धुम र याक्थुङ पहिचानका विविध पाटोहरूमा छलफल चलाउने सोँच रहेको समेत सुनाए । युमा साम्यो महासभा यूकेको स्थापना सन् २०१८ को डिसेम्बर २९ मा भएको थियो । नेपालमा २०७४ माघ २२ गते महासभाको स्थापना भएको थियो । संस्थाले युमा धर्मलाई याक्थुङ समुदायको मौलिक र पूर्वजहरूले सनातन परम्परादेखि मान्दै आएको धर्म र संस्कारका रूपमा व्याख्या र दाबी गर्दै आइरहेको छ । याक्थुङ समुदायमा युमा र किरात धर्म मान्नेहरूबीच तीव्र र गरमागरम बहस हुँदै आएको छ ।